जति लफडा भए पनि दीपक दाइसँग सहकार्य गर्न जहिल्यै तयार छु: सन्तोष सेन – Nepal Press
नेपाल टक

जति लफडा भए पनि दीपक दाइसँग सहकार्य गर्न जहिल्यै तयार छु: सन्तोष सेन

काठमाडौं । गएको बैशाखमा सुटिङ सकिएको थियो भने यो पटकको दशैंमा ‘बलिदान’ फिल्म रिलिज हुने थियो । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार प्राविधिक कारणले फिल्मको सुटमा ढिलाइ भयो । अब यो फिल्म कि आउँदो नयाँ वर्षमा कि त आउँदो वर्षको दशैंमा रिलिज हुनेछ ।

यो फिल्मको केही भाग इटहरीको बीएमसी स्टुडियोमा भव्य सेट बनाएर सुट भएको छ । अबको बाँकी भाग पूर्वी नेपालका कानेपोखरी, रंगेलीलगायत ठाउँहरुमा हुनेछ । त्यतैतिर जंगलमा छुट्टै गाउँ निर्माण गरेर पनि फिल्मको सुटिङ गर्ने योजनामा निर्माण टीम रहेको छ ।

एक्सन प्रधान यस फिल्ममा अभिनेता समीर भट्ट मुख्य भूमिकामा छन् । भट्टको अलावा सौगात मल्ल, अर्पण थापालगायत कलाकारको पनि अभिनय रहनेछ । अहिले हलमा राम्रो व्यापार गरिरहेको ‘१२ गाउँ’का अभिनेता समीर भट्टको डेव्यु फिल्म ‘बलिदान’ नै भए पनि हलमा भने ‘१२ गाउँ’ पहिले प्रदर्शन भयो ।

यस पटकको दशैंमा ‘१२ गाउँ’सँगै दीपकराज गिरीको ‘छक्कापञ्जा ५’ पनि प्रदर्शन भयो । छक्कापञ्जा टीमले प्रदर्शन अगाडि सामाजिक सञ्जालमा एकदमै गाली खाएको थियो, तर फिल्म भने बक्स अफिसमा ब्लकबस्टर सावित भयो । यही सिलसिलामा ‘छक्कापञ्जा’ टीमका गिरी र सञ्चारकर्मी प्रकाश सुवेदीले अन्तर्वार्ताका क्रममा सेनलाई ‘साइबर सेनाको कमान्डर’ भनेपछि उनले सामाजिक सञ्जालमा यो आरोपको खण्डन गर्दै स्पष्टीकरण दिएका थिए ।

यिनै विषयहरुमा रहेर नेपालप्रेसकर्मी नवीनकाजी राईले निर्माता तथा निर्देशक सन्तोष सेनसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

– ‘बलिदान’का कामहरु के कति भइरहेका छन् ?

दर्शकलाई राम्रो क्वालिटी पनि दिऔं भनेर ६ करोड निर्माण लागत अनुमान गरेर काम सुरु गरेका हौं । हामीले प्रविधि र प्राविधिकहरु भारतबाट ल्यायौं । अझै ४०-४५ दिनको सुटिङ बाँकी छ । ‘बलिदान’लाई ड्रिम प्रोजेक्ट मानेर खर्चमा कम्प्रोमाइज नगरी काम गरिरहेका छौं ।

‘सन्तोष सेनले प्रमोसनमात्रै गर्छ, मिडियाबाजी गर्छ, तर फिल्ममा केही कन्टेन्ट हुँदैन’ भन्ने दर्शकहरुलाई ‘अब चाहिँ सेनले कन्टेन्टमा पनि काम गर्न थालेछ, यतिको उत्कृष्ट फिल्म बनाउँछ भने सोचेका पनि थिएनौं’ भन्ने तहको सरप्राइज दिनेगरी काम गरिरहेका छौं । कथादेखि नै मेहनत गरिरहेका छौं । राम्रो चिजलाई त अलिकति बढी समय लागिहाल्छ नि !

– ६ करोडमाथिको बजेट समीर भट्ट एक्लैले धान्नसक्छ ?

समीर भट्टमात्रै भन्दा पनि सौगात मल्ल, अर्पण थापा, दिव्यदेव जस्ता होनहार कलाकारहरु पनि ‘बलिदान’का पिल्लरहरु हुन् । यो फिल्म नेपाली बजारमा मात्रै नभएर विश्व बजारमा जाने सम्भावना छ । भोजपुरी फिल्मका वितरकले उता रिलिज गर्न अफर गरिरहनुभएको छ । हिन्दी वितरकले पनि कुरा गरिरहनुभएको छ ।

‘बलिदान’ बैशाखमा सुट गर्ने योजना भएको थियो । त्यसवेला पोस्टर सुट गरेपछि फिल्मको प्लानिङका लागि इटहरी आइयो, तर स्टुडियो राम्रो नबनिसकेको कारण सेट लगाउन ढिलाइ भयो । त्यसैले भनेको समयमा सुट गर्न सकिएन ।

पात्रको गहिराइमा पुगेर काम गर्ने सौगात मल्ल हुनुहुन्छ । समीर भट्टको पात्रले कथालाई डोर्‍याएर जान्छ । ‘प्रेमगीत ३’ जस्तो काल्पनिक कथामा ठीकैको फिल्म बनाउँदा पनि राम्रै भएको थियो । ‘बलिदान’ त ग्लोबल मार्केटमा एक स्टेप अगाडि जाने आशासहित बनाइएको फिल्म हो ।

– ‘बलिदान’ समीर भट्टको डेव्यु फिल्म हो भनेर प्रचार गरिएको थियो, तर प्रदर्शन हुँदा ‘१२ गाउँ’ भयो, के कारणले हो ?

‘बलिदान’ बैशाखमा सुट गर्ने योजना भएको थियो । त्यसवेला पोस्टर सुट गरेपछि फिल्मको प्लानिङका लागि इटहरी आइयो, तर स्टुडियो राम्रो नबनिसकेको कारण सेट लगाउन ढिलाइ भयो । त्यसैले भनेको समयमा सुट गर्न सकिएन ।

अनि विराज दाइले पहिल्यै काम गरिसकेको स्क्रिप्टलाई लिएर भन्नुभयो, ‘समीरको पनि पात्र एड गरेर फिल्म खिचेर लिएर आउँछु । तिम्रो फिल्मको त यति ठूलो सेट छ, ठूलो क्यानभासमा आत्तिएर हुन्न ! ‘१२ गाउँ’मा हामी बाउछोरा आउँछौं, त्यसपछि तिमी ‘बलिदान’मा काम गर ।’ अनि हाम्रो सरसल्लाहमै ‘१२ गाउँ’बाट समीरलाई डेव्यु गराउने निधो गरिएको हो ।

– अहिले ‘१२ गाउँ’ले करोडौं ग्रस कलेक्सन गरिरहेको छ । यो कलेक्सनको रेकर्डलाई ‘बलिदान’ले ब्रेक गर्ने आत्मविश्वास तपाईंमा कतिको छ ?

‘बलिदान’ त समीरको पात्रमा भयंकर काम गरिएको फिल्म हो । उसको जीवन्त अभिनय ‘बलिदान’मा छ । उसले ‘बलिदान’को कथा बोकेको छ । ‘१२ गाउँ’मा ऊ स्टाइलिस हिरोको रुपमा छ, ‘बलिदान’मा चाहिँ माटो र मातृभूमिको विषयलाई लिएर अगाडि बढेको पात्र हो । हरेक दर्शकले एकदमै इन्जोय गर्नुहुनेछ ।

– ‘१२ गाउँ’को बक्स अफिस रेकर्ड ब्रेक गर्छ ?

समीरको पात्रको हिसाबले ‘१२ गाउँ’मा दर्शकहरुले जति मन पराउनुभयो, ‘बलिदान’मा ५० गुणा बढी मन पराउनुहुन्छ जस्तो लाग्छ । यति भनेपछि रेकर्ड ब्रेकको कुरा आफैं बुझ्नु न !

– स्टारकिडहरुको भीडमा समीरमा अलग क्षमता के देख्नुभएको छ ?

मैले उसलाई पहिलो पटक भेट्दा ऊ कलाकारिताप्रति एकदमै गम्भीर पाएँ । ऊसँग जुनुन थियो । यही कारण नै मैले दुई महिना धाएर उसलाई फिल्ममा साइन गरेको हो । उसले ‘सक्दिनँ’ भन्ने केही छैन । पात्रमा पनि मज्जाले डुब्नसक्छ । एक्सन र डान्स त चाहिने भइहाल्यो । साथै मज्जाले अभिनय गर्नसक्ने कलाकार हो ऊ ।

मासले खोजेको एक्सन, सुगठित ज्यान जुन समीरमा छ, नेपाली फिल्म क्षेत्रमा त्यसको अभाव महसुस चाहिँ भएको थियो । अबको पुस्ताको एक्सनमा समीरको आगमन भएको छ ।

– नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारको अभाव समीरले पूरा गर्छ ?

मासले खोजेको एक्सन, सुगठित ज्यान जुन समीरमा छ, नेपाली फिल्म क्षेत्रमा त्यसको अभाव महसुस चाहिँ भएको थियो । अबको पुस्ताको एक्सनमा समीरको आगमन भएको छ ।

– पछिल्लो समय आएर ‘साइबर कमान्डर’को आरोप तपाईंमाथि लाग्यो । यो आरोपलाई कसरी हेरिरहनुभएको छ ?

मलाई अलिकति नरमाइलो लाग्यो । कलाकारितामा सपना बुनिरहेका पुस्ताहरुलाई यस्ता स्क्यान्डलहरुले निरुत्साहित बनाउँछ । यस्तो विवाद सकेसम्म ल्याउनु हुन्नथ्यो । मिडियाले नराम्रा कुराहरु औंल्याउने हो, तर यस्ता स्क्यान्डलहरु लिएर आएर मिडियाका साथीहरुले यो क्षेत्रलाई धमिलो बनाउने काम गर्नु भनेको फिल्म क्षेत्रलाई नै घाटा हो ।

यस्ता हल्लाहरु आउँदा हाम्रो फिल्म क्षेत्रको सानो परिवारमा धमिलो पस्ने भयो । समाजमा नराम्रो म्यासेज जाने कुरालाई प्राथमिकता दिने भन्दा पनि राम्रो कुराहरुलाई दर्शकमाझ पस्कँदा सबैलाई राम्रो हुन्छ ।

अस्तिको त्यो अन्तर्वार्तामा मलाई आरोप लगाइयो । म सिंगो नेपाली फिल्म क्षेत्रलाई प्रगतिको बाटोमा हिँडेको हेर्न चाहने मान्छे हो । कलाको कुनै धर्म पनि हुँदैन । यसको कुनै बाउन्ड्री हुँदैन । यो क्षेत्रमा त हामीले सँगै मिलेर अगाडि बढ्नुपर्ने हो । खै किन आरोप लगाइयो, मलाई नै थाहा छैन !

– तपाईंलाई ‘साइबर कमान्डर’ किन भनियो होला ?

मेरो कसैसँग दुश्मनी छैन । म स्वार्थी भएको भए ‘प्रेमगीत ४’ बनाएर करोडौं आम्दानी गर्थें होला । मैले मेरा फिल्महरुबाट जति पनि कमाएँ, त्यसमा दुई रुपैयाँ थप हालेर काम गरिरहेको छु । हाम्रा फिल्महरु संसारभरि जानुपर्छ भनेर काम गरिरहेको छु ।

म स्वार्थहीन फिल्मप्रेमी हो । म सबैको फिल्मले राम्रो गरोस् भन्ने चाहन्छु । यो क्षेत्रमा मान्छेलाई किन तल झार्न खोजिन्छ, म बुझ्दिनँ । मसँग यहाँहरु किन रिसाउनुहुन्छ, मलाई थाहा छैन । किन मेरो कमजोर पक्ष खोजीखोजी हान्न खोज्नुहुन्छ, अहिलेसम्म बुझेको छैन । खै, उहाँहरुको नियत विस्तारै बुझिएला । मेरो नियत चाहिँ स्पष्ट छ, नेपाली फिल्महरुले राम्रो गर्नुपर्छ ।

– दीपकराज गिरीलाई ‘बलिदान’मा खेल्न प्रस्ताव गर्नुभएको थियो हो ?

अलि अगाडि मैले ‘बलिदान’को लागि दशैंको डेट घोषणा गरेको थिएँ । दीपक दाइले ‘ब्रदर मैले दशैंमा सोचेको हो’ भन्नुभयो । मैले ‘हुन्छ दाइ, भेटेर कुरा गरौं’ भनें । हामी भेट्यौं । उहाँले ‘दशैंमा दर्शकले मेरो फिल्म कुरेर बस्छन्’ भन्नुभयो । मैले भनें, ‘यो कुरामा लफडा गरिरहनु परेन दाइ, दशैंमा फूलपाती, घटस्थाना छ । मिलाएर तीनचार दिनको फरकमा फिल्म रिलिज गरौंला नि !’

अहिले पनि दीपक दाइसँग काम गर्न मन छ । किनभने उहाँ गम्भीर रुपमा कुनै पनि प्रोजेक्टमा लाग्नुहुन्छ । केही राम्रो गरौं भन्ने सोच भएको मान्छे हो उहाँ । त्यही कारण पनि केमियोकै रुपमा भए पनि फिल्ममा जोडिऔं भनेर सम्बन्ध र कलाकारको हिसाबले अफर गरेको थिएँ ।

मलाई कसैसँग भिड्न मन लाग्दैन । अहिले दीपक दाइको विषयमा बोल्न मन छैन । मैले फिल्ममा उहाँलाई अफर गरेको हो । उहाँले खेल्छु पनि भन्नुभएको थियो । मैले केमियोका लागि पनि प्रस्ताव राखेको थिएँ । फिल्ममा हिरोइजमवाला एक्सन नभए पनि सिचुएसनल एक्सन थियो, त्यही भएर प्रस्ताव गरेको थिएँ ।

अहिले पनि दीपक दाइसँग काम गर्न मन छ । किनभने उहाँ गम्भीर रुपमा कुनै पनि प्रोजेक्टमा लाग्नुहुन्छ । केही राम्रो गरौं भन्ने सोच भएको मान्छे हो उहाँ । त्यही कारण पनि केमियोकै रुपमा भए पनि फिल्ममा जोडिऔं भनेर सम्बन्ध र कलाकारको हिसाबले अफर गरेको थिएँ । पछि उहाँको मुड बदलियो सायद ।

– ‘साइबर सेनाको कमान्डर’को आरोप ‘१२ गाउँ’ समर्थन गरिरहेको कारणले हो कि भन्ने त लाग्दैन नि तपाईंलाई ?

मैले समीर भट्टको पोस्टर लन्च गरें । त्यसपछि उसलाई निरन्तर ब्रान्डिङ गरिरहेको छु । ‘बलिदान’को प्रोटागोनिस्टलाई ब्रान्डिङ गरिनँ भने भोलि ‘बलिदान’को भविष्य के हुन्छ भन्ने चिन्ता मलाई हुन्छ नि ! मैले ‘१२ गाउँ’ भन्दा पनि समीरको ब्रान्डिङ गर्ने हो ।

मैले समीरलाई यसरी ब्रान्डिङ गरेका कारणले उहाँहरुलाई साइबर स्यालहरुको कमान्डर हो कि भन्ने लागेको हुनसक्छ । बक्स अफिसमा जुधिरहेको एउटा फिल्मको हिरोलाई प्रमोट गरिरहँदा मैले नै साइबर आक्रमणको नेतृत्व लिएँ कि भन्ने उहाँहरुलाई लाग्नसक्छ, तर मेरो नियत त्यस्तो होइन । मेरो काम मन पराउनेहरुलाई पनि भन्ने गरेको छु, ‘मेरो कामको समर्थन गर, तर मसँग जोडेर अरु कसैलाई पनि गाली नगर !’

उहाँहरुले मलाई आरोप लगाएपछि पनि मैले दुई दिनसम्म केही बोलिनँ, तर शुभचिन्तकहरुको म्यासेज, कमेन्टहरुले गर्दा म बोल्न बाध्य भएँ । यो घटनाले भोलिका दिनमा कसैलाई विनाप्रमाण आक्षेप लगाउनुअघि सोच्न बाध्य बनाउँछ । म त सत्यका लागि आवाज उठाउनुपर्ने भएकाले बोलेको हुँ ।

– दीपकराज गिरीसँग भविष्यमा सहकार्य गर्ने सम्भावना कतिको छ ?

यी सबैकुरा हुँदाहुँदै पनि दीपक दाइसँग काम गर्न म हिजो पनि रेडी थिएँ । अहिले तत्काल पनि रेडी छु । ‘बलिदान’को लागि ठाउँ रहेसम्म केमियो रोलका लागि अफर गर्न सक्छु । म उहाँको कलाकारिता र योगदानको फ्यान हो ।

उहाँप्रति सम्मान हुँदाहुँदै अलिकति तीतो सत्य बोलें । मलाई लगाइएको लाञ्छनाले दिमाग घुमाइरहेकाले बोलें । कतिपय सत्य कुरा तीता हुन्छन् । कतिपय तीता कुराहरु मीठा हुन्छन् । उहाँसँग सहकार्य गर्न त म जहिल्यै तयार हो । खालि परिस्थितिले हामीलाई आरोप-प्रत्यारोप लगाउनुपर्ने बनाइदियो । मेरो चित्त दुख्यो ।

– अन्तिममा धेरैले समीरलाई अबको सुपरस्टार हो भनिरहेको सुनिन्छ । समीर अबको सुपरस्टार हो ?

सुपरस्टार त फिल्म क्षेत्रमा एक जना हुन्छ । हामी त जसलाई पनि सुपरस्टार भन्छौं । समीर सुपरस्टारकै लाइनमा छ । उसको गन्तव्य सुपरस्टार हुने हो, तर गन्तव्यमा पुग्छ कि पुग्दैन भन्ने भोलिको दिनले बताउला । त्यसका लागि उसको फिल्म छनोट मुख्य कुरा हो । सुपरस्टारका लागि त धेरै उकाली-ओरालीको यात्रा तय गर्नुपर्‍यो, तर ऊ सुपरस्टारको लक्षण बोकेरै आएको कलाकार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *