इन्स्पेक्टर बिनु शाही प्रकरणमा नयाँ ट्वीस्ट: त्यही गिरोहद्वारा दरबारमार्गमा पहिल्यै ‘हनिट्रयाप’, त्यसपछि ‘मिशन भैंसेपाटी’ – Nepal Press

इन्स्पेक्टर बिनु शाही प्रकरणमा नयाँ ट्वीस्ट: त्यही गिरोहद्वारा दरबारमार्गमा पहिल्यै ‘हनिट्रयाप’, त्यसपछि ‘मिशन भैंसेपाटी’

काठमाडाैं ।  प्रहरी आचारविपरित एक घरजग्गा कारेबारीलाई ‘हनिट्रयाप’ प्रकरणमा फसाउन खोजेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर)बिनु शाही अहिले फरार छिन् ।

प्रहरीले उक्त प्रकरणमा अन्य प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेको छ । उनीहरुको बयानका आधारमा सोही गिरोहको संलग्नतामा भैंसेपाटीभन्दा पहिल्यै दरबारमार्गमा अर्को त्यस्तै घटनाको खुलासा भएको छ ।

इन्स्पेक्टर शाही ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीमा कार्यरत रहँदा कार्यक्षेत्रभन्दा बाहिरको घटनामा अस्वाभाविक रुपले चासो राख्दै अनुचित लेनदेनसमेत गरेपछि उनी जिम्मेवारीबाट हटाइएकी थिइन् ।

उनले सुनसरीको इटहरीमा भएको घटनामा आधारित भई राई थरका घरजग्गा कारोबारीलाई महिलासँग सम्बन्धित घटनामा फसाउने योजना बनाएकी थिइन् । तर, अनुसन्धानका क्रममा उनको भूमिका संदिग्ध देखिएपछि घटनाले अर्कै मोड लिएको छ ।

उनी स्वयं अनुसन्धानको दायरामा तानिएकी छन् । उनका विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर, पक्राउ परेकी छैनन् । बरु, पक्राउ परेका प्रतिवादीको बयानका आधारमा एसपी कमल थापासँग उक्त गिरोहको पुरानो सम्बन्ध र विभिन्न गतिविधिमा भएको संलग्नताको खुलासा भइरहेको केन्द्रीय प्रहरी स्रोतले बतायाे ।

इन्स्पेक्टर बिनुले भैसेपाटी प्रभागको प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा गरेका अनुचित काममा उनी स्वयंको योजनाभन्दा बढी अरुको उक्साहट देखिने स्राेतकाे भनाइ छ । पक्राउ परेका व्यक्तिहरुको बयान र प्रहरी अनुसन्धानका आधारमा प्रहरी उपरीक्षक (एसपी) कमल थापाको उक्तसहित अन्य घटनामा संलग्नता देखिने पनि स्राेतले बतायाे ।

दरबारमार्ग ‘हनिट्रयाप’

एसपी थापाकै सञ्जालभित्रका ती व्यक्तिले यसअघि पनि ‘हनिट्रयाप’ सहित विभिन्न असुलीकार्य गरेको निश्कर्षमा अनुसन्धानकर्मी पुगेका छन् । त्यसमध्येको एक हो, दरबारमार्ग प्रहरीको कार्यक्षेत्रमा भएको एक यौनजन्य दुर्व्यवहारसम्बन्धी घटना ।

घटनाका प्रतिवादी हुन्, विदुर शर्मा । भैंसेपाटी प्रकरणमा पक्राउ परेका प्रतिवादी ताज मुल इस्लाम संलग्न भई दरबारमार्गमा उक्त घटना अगाडि बढेको स्वयं इस्लामले प्रहरी बयानमा बताएका छन् ।अन्य घटनामा पनि उक्त गिरोहको भूमिकालगायतका विषयको खुलासा हुन थालेको छ ।

दरबारमार्ग घटनाको पृष्ठभूमि

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)प्रमुखको जिम्मेवारीमा तत्कालीन एआइजी सहकुल थापा थिए । मिटरव्याजी गणेश उप्रेतीले १५ करोडभन्दा बढी रकम ठगी गरेको जाहेरी दर्ता भयो । जाहेरवाला थिए, विदुर शर्मा ।

यो २०७८ सालको घटना हो । एआइजी थापाले उक्त जाहेरी लिए । तर, दर्ता गरेनन्, मानिस पनि पक्राउ परेनन् । उनीपछि सीआइबी प्रमुखको जिम्मेवारीमा अर्का तत्कालीन एआइजी धीरजप्रताप सिंह गए । उनले ०७८ साउनमा मिटरव्याजी उप्रेतीलाई पक्राउ गरे, मुद्दा पनि चलाए ।

त्यस समयमा डीएसपी रहेका हालका एसपी कमल थापाले उप्रेतीसँग राम्रो सम्बन्ध बनाए । उनका विभिन्न स्वार्थका निम्ति सहयोगी हुने कारण थापाले नै आफ्नो ‘नेक्सस’ का ताजसँग भेटाइदिए ।

मेलुङ– १, दोलखा घर भई भैंसेपाटी बस्ने उप्रेती साढे १९ करोडको चेकसहित पक्राउ परे । २२ करोड ५१ लाख २१ हजार ९९६ रुपैयाँ ठगी गरेको अभियोगसहित सिआइबीले मुद्दा चलायो । तर, उनले अदालतबाट सफाई पाए । सफाई दिने न्यायाधीश अम्बिकाप्रसाद निरौलामाथि न्याय परिषदले छानवीन गर्दा उनी दोषी ठहर भए । उनको जागिर गयो ।

विभिन्न शक्तिकेन्द्रको प्रयोग गर्दै उप्रेती पुनः मुद्दा लाग्न र पक्राउ पर्नबाट जोगिँदै आए । उनैको योजनामा उनीविरुद्धका जाहेरवाला विदुर शर्मालाई फसाउने प्रपञ्च रचियो । त्यसका लागि उप्रेतीको मिलेमतो थियो, एसपी कमल थापामार्फत ताजसँग ।

को हुन् ताज ?

राष्ट्रिय अनुसन्धान विभागको सूचकका रुपमा चार वर्ष जागिर खाएका उनी आफैं पनि जबरजस्ती करणी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।

प्रहरी बयानमा उनले आफूले सो मुद्दामा सफाई पाइसकेको भनेका छन् । उनी सुनसरीको इटहरीका बासिन्दा हुन् ।

उनको पहिलाकी पत्नीबाट १२ वर्षको छोरी र चार वर्षका छोरा छन् । दोस्रो विवाह थापा थरकी महिलासँग भयो । उनीबाट जन्मिएको सात महिनाको छोरीसहित ताज अलग बसे । उनी अहिले १८ महिनाकी भइन् । इटहरीको एक रेष्टुरेष्टमा आउँदाजाँदा चिनजान भएकी त्यहीँकी कर्मचारी भीमादेवी थापासँग ताजको निकट सम्बन्ध रहन गयो । उनैले नावालिक छोरीको रेखदेख आएकी छन् ।

भैंसेपाटी प्रकरणमा जग्गा कारोबारी राईका निम्ति जे–जो पात्र तयार पारी ‘हनिट्रयाप’ मा फसाइँदै थियो, दरबारमार्ग काण्डमा पनि ती पात्रको संलग्नता खुल्छ । जस्तो कि, भीमादेवीको नाममा रहेको बैंक अकाउण्टको प्रयोग, भगवती थापाको संलग्नतालगायतका कुरा दुबै घटनामा जोडिएका छन् ।

दरबारमार्गको घटना

एसपी थापामार्फत मिटरव्याजी उप्रेतीसँग ताजको भेट भएपछि उप्रेतीविरुद्धका जाहेरवाला विदुर शर्मालाई ‘फसाउने’ योजना बन्यो । त्यसअनुसार वैशाख १९ गते ‘ज’ बाट नाम शुरु हुने ब्राह्मण समुदायकी एक युवती तयार पारी विदुरसँग शारीरिक सम्पर्कको वातावरण मिलाए । त्यसबापत उनले उप्रेतीबाट डेढ लाख रुपैयाँ लिएको प्रहरी बयानमा बताएका छन् ।

शारीरिक सम्पर्क भएलगत्तैबाट विदुर समस्यामा परे । युवतीले प्रहरीमा मौखिक उजुर गरेकी थिइन् । त्यसपछि विदुर सशरीर कतै उपस्थित भएनन्, फरार रहे । उनको तर्फबाट एमालेको युवा संघसम्बद्ध एक व्यक्ति अगाडि देखिए । उनले ताजमार्फत युवतीलाई ‘मिलाउने’ प्रयास गरे ।
युवतीलाई ‘मिलाउन’ का लागि एक करोड रुपैयाँको प्रस्ताव आयो । पछि १७ लाख तत्काल दिने र बाँकी रकम ‘पछि मिलाउने’ नाममा सहमति भयो । यद्यपि, युवती सीधै सम्पर्कमा आउन चाहिनन् । उनले हुलाकबाट पठाएको जाहेरी दरबारमार्गस्थित प्रहरी बृत्तमा दर्ता भयो । जाहेरवालाको परिवर्तित नाम हो, दरबारमार्ग १९ ।

यो लेनदेनमा पनि भीमादेवीको बैंक खाता प्रयोग भएको छ । उक्त खाताको मोबाइल बैंकिङ ताजसँग, चेक र एटिएम भीमादेवीसँग रहेको ताजले बयानमा बताएका छन् । घटनाका क्रममा अर्की युवती भगवती थापाको पनि सहभागिता देखिन्छ ।

कहाँ गयो १७ लाख ?

पीडित युवतीलाई ‘मिलाउन’ का निम्ति विदुरको तर्फबाट ताजलाई प्राप्त भएको १७ लाख रुपैयाँ कहाँ गयो ? प्रहरी अहिले यसको अनुसन्धानमा जुटेको छ ।

त्यसदिनको मोबाइल ट्रेसअनुसार ताज, विदुरका प्रतिनिधि, प्रयोग भएकी युवतीसहित एसपी कमल थापा पनि सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी मूलसडकमा अवस्थित एक रेष्टुरेष्टमा जम्मा हुन्छन् ।

ताजले बयानमा भेट भएको स्वीकार गरेका छन् । तर, १७ लाखमध्ये १० लाख प्रयोग भएकी युवतीलाई दिएको भनेका छन् । तर, अनुसन्धानरत प्रहरी टोलीको अनुमान छ, त्यसको ठूलो हिस्सा एसपी थापाले लगेका छन् । अहिले प्रहरी त्यसको आधिकारिताको खोजीमा छ ।

उक्त घटनामा प्रतिवादी बनाइएका विदुर अहिलेसम्म फरार नै छन् ।

त्यसपछि भैंसेपाटी ‘मिशन’

दरबारमार्ग घटनाजस्तो भैसेपाटी घटना कोही, कसैको प्रतिशोध वा पूर्वाग्रहका कारण भएको होइन । घटनास्थल इटहरी हो, असुली धन्दामात्रै भैंसेपाटीमा चलाइएको थियो ।

आफ्नो व्यवसायबाट मनग्यै आर्थिक लाभ गरेका राईले इटहरीमा रात बिताउनका लागि एकजना युवतीको खोजी गर्छन् । त्यहीँका बासिन्दा दर्शन पोखरेलले राई र सुस्मा विकबीच भेट गराए । यो कुरा दुई दिनपछि दर्शनले ताजलाई सुनाए ।

दुई दिनका बीचमा राई र विकबीच पटक पटक शारीरिक सम्पर्क भएको, इटहरीमात्र नभई धरान, भेडेटारसम्म पुगेको र झैंझगडासमेत भएको थियो ।

झगडा परेको कुरा विकले पोखरेललाई सुनाइन् । त्यही कुरा पोखरेलले एसपी कमल थापा र थापाले ताजलाई सुनाएपछि ‘हनिट्रयाप’ मा फसाएर रकम असुलीको योजना बन्यो ।

त्यसपछि दर्शन एकाएक इटहरीबाट हराउँछन् र त्यही कुरा ललितपुरको भैसेपाटी प्रहरीमा आइपुग्छ । प्रहरी बयानमा भनेअनुसार इटहरीबाट सुस्मा विक र भगवती थापा मोटरबाटो हुँदै काठमाडौं ओर्लिन्छन् । ताज र दर्शन जहाजबाट आए ।

असोज ६ गते सुस्मा विकको तर्फबाट भैसेपाटी प्रहरी प्रभागमा कुटपिटको निवेदन दर्ता भयो । यसअघि इटहरीमै रहेका राईलाई त्यहीँको प्रहरीले फोन गरेर सुस्मामाथि भएको कुटपिटबारे सोधपुछ गरेको थियो । तर, भोलिपल्ट फेरि भैंसेपाटी प्रहरीबाट बोलाइएपछि उनी आफ्नै गाडीमा त्यहाँ पुगे ।

इन्स्पेक्टर बिनु, ताजसहितले बनाएको योजनाअनुसार राईलाई होटलमा बोलाउने, त्यहीँ शारीरिक सम्पर्कको वातावरण बनाउने र रंगेहात पक्राउ गर्ने तयारी भयो ।

भैंसेपाटीमा भेट भएपछि राईले आफ्नो ल्याण्डक्रुजर गाडीमा खाना खानका निम्ति सबैलाई जावलाखेल, खरिबोटस्थित एक रेष्टुरेण्ट लैजान्छन् । खाना खाएपछि कलंकी, थानकोटतिर जाने सल्लाह हुँदै थियो । यो कुरा भगवतीले ताजलाई सुनाइन् । ताजले भगवतीलाई त्यहीँ छाड्न भने ।

गाडी कलंकीतिर जानका निम्ति एकान्तकुना पुगेपछि ताजले आफूलाई भैंसेपाटी छाडिदिन र त्यसपछि अन्यत्र जानका लागि भन्छन् । गाडीमा राईका साथी अमित पोखरेल पनि थिए । त्यसरी गाडी भैंसेपाटी पुगेपछि राईसहित अमित पनि समातिन्छन् ।

राई समातिएपछि भैंसेपाटीमै उनीहरुबीच छलफल हुन्छ । त्यसमा त्यसमा इन्स्पेक्टर बिनु, सुस्मा, ताज र राईमात्रै हुन्छन् । इटहरीदेखिका सबै कुरा भयो । सुस्माले आफूसँग विवाह गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्नेजस्ता माग राखिन् । त्यसपछि बाहिर गएर छलफल गर्न भनियो ।

६० लाखबाट कुरा शुरु हुन्छ । राईले पैसा दिन नसक्ने, जग्गा दिन्छु भन्छन् । इन्स्पेक्टर बिनुले सुस्मालाई मात्रै भित्र बोलाइन् । त्यसपछि ३० लाखमा कुरा मिलाउने सल्लाह भयो । त्यसदिन राईको गाडी भैसेपाटीमा राखियो । आइपिएस गरेर सात लाख रुपैयाँ दिइयो । ताजलाई भीमादेवी थापाको नाममा २३ लाखको चेक दिइयो ।

भोलिपल्ट गाडी बेचेर अरु पैसा दिने कुरा हुन्छ । पहिलो दिन जम्मा १३ लाख दिइयो र दर्शनको नामको १० लाखको चेक पनि पाएपछि मिलापत्र गरेर उनीहरु निस्किए ।

जिल्लामा रन्को

अस्वाभाविक ढंगले कार्यक्षेत्रभन्दा बाहिरको घटनामा भैंसेपाटी प्रहरी प्रभागमा भएका गतिविधिबारे जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा सूचना पुग्यो ।

जिल्ला मातहतको प्रभागले सीधै त्यस्ता जाहेरी लिने, मिलापत्र गराउनेजस्ता काम गर्न मिल्दैन । त्यसैले सबैलाई जावलाखेलस्थित परिसरमा बोलाइयो । त्यसक्रममा ताजको आइफोन र दर्शनको नाममा जारी भएको १० लाखको चेक भैंसेपाटीमै गायव पारियो । दर्शनलाई जावलाखेल नपुग्दै बाटोबाटै भगाइयो । पछि सुस्मा विकले चेक र आइफोन इन्स्पेक्टरले राखेको भनिन् ।

कमल थापा कनेक्सन
एसपी कमल थापासँग ताज र दर्शन पोखरेलसँग पुरानो घनिष्ठता देखिन्छ । ताजसँग पहिल्यै र दर्शनसँग जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रहँदा उनको सम्पर्क स्थापित भएको अनुसन्धानका क्रममा खुलेको छ ।

यो घटनालाई जिल्ला प्रहरी परिसर, ललितपुरसहित प्रहरी प्रधान कार्यालयस्थित महिला तथा बालबालिका सेवा केन्द्रका एसएसपी दीपेन्द्र जिसीले पनि अनुसन्धान गरिरहेका छन् । जिसीले शुक्रबार ललितपुरको हिरासतमा रहेका आरोपीसँग घटनाबारे सोधपुछ गरे ।

सबैको एउटै निश्कर्ष छ, तीन वर्षअघि मात्रै प्रहरी इन्स्पेक्टरमा भर्ना भएकी बिनुको अलग्गै हिम्मतले यस्तो काम गर्ने कुरा पनि भएन । घटनाको छिनछिनमा एसपी थापाले चासो राखेका छन् । पैसा झिक्न जाँदा उनले सहायक हवल्दार महेन्द्र हमाललाई आफैंले फोन गरेर पठाएका छन् ।
बिनु नेपाली कांग्रेस समर्थित परिवारकी सदस्य हुन् । सशस्त्र द्वन्द्वकालमा उनका बुबालाई माओवादीद्वारा हत्या गरेका थिए ।

आइफोन र दर्शन खै ?

जिल्ला प्रहरी परिसर ललितपुरले भैंसेपाटी प्रभागमा भइरहेको अस्वाभाविक छलफल र कारोबारलाई नियन्त्रणमा लिँदै त्यसमा संलग्न व्यक्तिसहित सबै आधार, प्रमाण परिसरमा झिकायो । त्यसक्रममा इन्स्पेक्टर बिनुले हत्तपत्त ताजको आइफोन, १० लाखको चेक गायव पारिन् र दर्शनलाई पनि बीच बाटोबाटै भगाइन् । यसो गर्नुअघि इन्स्पेक्टर बिनु र एसपी थापाबीच फोन संवाद भएको छ ।

गायव पारिएको आइफोनमा थुप्रै घटनाका प्रमाण, सम्पर्क व्यक्ति, तिनीसँग भएका कुराकानी सुरक्षित रहेका कारण गायव पारिएको हो । ताजले दरबारमार्ग र इटहरी घटनापछि पनि अनगिन्ती घटना गराएको र त्यसमा अन्य थप उच्च पदस्थ प्रहरीको संलग्नता हुनसक्ने कारण लुकाइएको भनिन्छ ।

दर्शनलाई पक्राउ गरिँदा उनीबाट अन्य घटना र कारोबारका कुराहरु खुल्ने भयका कारण उनलाई बाटोबाटै भगाइएको प्रहरीले अनुमान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *