चीनकाे युन्नान प्रान्तद्वारा ललितपुर महानगरलाई सामुदायिक कल्याणकारी परियोजना हस्तान्तरण – Nepal Press

चीनकाे युन्नान प्रान्तद्वारा ललितपुर महानगरलाई सामुदायिक कल्याणकारी परियोजना हस्तान्तरण

काठमाडौं । चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको छ ।

ललितपुरमा शुक्रबार आयोजित एक समारोहबीच युन्नान कमर्सियल रिप्रेजेन्टेटिभ अफिस इन नेपालले नगरपालिकाको वडा नम्बर ३ लाई ती योजना हस्तान्तरण गरेको हो । जसमा युनिसोलर शावर स्टेशन नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक बाथरूम समावेश छ । उक्त बाथरुममा पुरुष र महिलाको लागि ३-३ स्नान कोठा छन्, जहाँ दैनिक ८०-१०० जनाले नुहाउने सुविधा पाउनेछन् ।

उक्त बाथरुममा चार हजार लिटर तातोपानीको सुविधा छ । उक्त पानी सौर्य ऊर्जाबाट तताउने व्यवस्था गरिएको छ ।

रुफटप फोटोभोल्टिक परियोजनाको क्षमता ३६ किलोवाट छ, जसले वार्षिक लगभग ६० हजार किलोवाट ऊर्जा उत्पादन गर्नसक्छ ।

समारोहमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरलाई सहयोग गरेकोमा चिनियाँ पक्षप्रति आभार व्यक्त गरे । यो परियोजनाले स्थानीयलाई फाइदा पुर्‍याउने उनको भनाइ छ ।

उनले युन्नान प्रान्तसँग थप सहकार्य गर्न महानगरले प्रयास गरिरहेको जानकारी दिए ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ विकास मोडलमा आधारित यो परियोजनाले नेपाली जनताका लागि ठूलो महत्त्व राख्नसक्ने बताए ।

भाइब्रेन्ट भिलेज परियोजनाअन्तर्गत दुर्गम क्षेत्रमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनामा चिनियाँ पक्ष संलग्न रहेको उनले जानकारी दिए ।

युन्नान प्रान्तीय सरकारको तर्फबाट नेपालमा युन्नान व्यवसायिक प्रतिनिधि कार्यालय सन् २०१५ मा स्थापना भएको थियो । कार्यालयका निर्देशक याङ चेनफेङले सन् २०२२ देखि हालसम्म २ मैत्रीपूर्ण पार्क, ३ सौर्य ऊर्जा परियोजना, २ पब्लिक शावर परियोजना र २ स्कुल ब्याग डोनेसन परियोजना गरी ९ वटा जीविकोपार्जन परियोजना सम्पन्न गरेको जानकारी दिए ।

‘यी दुई परियोजनाले स्थानीयको जीवनस्तरमा सुधार ल्याउनेछ र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । साथै शहरको गुणस्तर पनि बढाउनेछ’, याङले भने ।

परियोजना हस्तान्तरणपछि वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले यो परियोजनाले चिनियाँ विकासलाई प्रतिविम्बित गर्ने र अन्य ठाउँमा पनि यस्तै अभ्यास लागू गर्न पाठ सिक्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *