कञ्चनपुरमा दम्पती हत्या: दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान – Nepal Press

कञ्चनपुरमा दम्पती हत्या: दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान

कैलाली । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका- १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरूबारे कुनै तथ्य पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै चाँडै घटनामा संलग्नहरू पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जाेशीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म दुई दर्जन बढीलाई घटनाबारे सोधपुछ गरिसकेको छ ।

‘२५-२६ जनालाई घटनाबारे सोधपुछ गरिसकेका छौं । अहिलेसम्म त्यस्तो केही पत्ता लागेको छैन’, उनले भने, ‘हामी विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं ।’

दम्पतीले बिहीबारमात्रै बैंकबाट पैसा निकालेका थिए । प्रहरीका अनुसार हिजै रमेशले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो, तर उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।

पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतकको फोन प्रहरीले बरामद गरेको छ । सोही फोनको आधारमा रहेर पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले केही दिनभित्रै घटनामा संलग्न पक्राउ गर्नेगरी अनुसन्धान गरिरहेको बताए । उनले कल डिटेल रेकर्ड (सीडीआर)मार्फत समेत अनुसन्धान भइरहेको बताए ।

‘सीडीआरबाट पनि अनुसन्धान भइरहेको छ । घटनामा संलग्नहरू पक्राउ पर्छन्’, उनले भने, ‘अहिलेसम्म विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सूक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ ।

कस्तो थियो घटनास्थल

कञ्चनपुर लालझाडी गाउँपालिका- १ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाले नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा सानो घरमा नास्ता पसल चलाउँदै आएका बडायक दम्पतीसँग राति ८ः३० बजेसम्म उनका छोरा पनि थिए । बुवासँग आफू रहँदासम्म केही नभएको, तर भोलिपल्ट एकै पटक बुवाआमाको शव देखेको छोराले प्रहरीलाई बयान दिएका छन् ।

‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए । एक्कासि घटना भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ ।’

कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रगताम्मे अवस्थामा थियो । रमेशको शव आँगनमा थियो । ढलेको थियो । टाउकोबाट अत्यधिक रगत बगेको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनले आक्रमणकारीसँग केहीबेर प्रतिवाद गरेको देखिन्छ । प्रहरीले हत्या भएको आशङ्का गरे पनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद भएको छैन ।

‘हामीले आक्रमणपछि हतियार फाल्नसक्ने सम्भावित ठाउँहरू पनि हेरेका थियौं, तर कहीँकतै हतियार भेटिएको छैन’, प्रहरी अधिकारीले भने, ‘आक्रमणकारीले आफ्नो कुनै सुराक नछोडेका कारण कुकुरले पनि धेरै कुरा पत्ता लगाउन सकेन ।’

तालिमप्राप्त कुकुरको टोलीले केही पत्ता लगाउन नसकेपछि अहिले प्रहरी आफैंले शङ्कास्पद क्षेत्रहरूको खोजी बढाएको छ । भारत भाग्नसक्ने सम्भावना रहेको भन्दै नाकामा पनि सुरक्षा चेकजाँच कडा पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *