एमालेका जनप्रतिनिधिलाई पार्टीलाई बदनाम गराउने छुट छैन: मुख्यमन्त्री कार्की – Nepal Press

एमालेका जनप्रतिनिधिलाई पार्टीलाई बदनाम गराउने छुट छैन: मुख्यमन्त्री कार्की

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्लास्तरीय प्रशिक्षात्मक तथा मध्यावधि समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

जनप्रतिनिधिहरुले आफ्नो कामको आत्मसमीक्षा गरी नराम्रा कामलाई रोकेर राम्रा कामलाई मात्र अघि बढाउन उनले सुझाव दिए ।

पालिका प्रमुख र उपप्रमुखको तालमेल नमिल्दा धेरै पालिकाका कामहरु लथालिङ्ग भएको उदाहरण दिँदै मुख्यमन्त्री कार्कीले जनप्रतिनिधिहरुवीच समन्वयको खाँचो रहेको उल्लेख गरे ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको हितविपरीत र पार्टीलाई बद्नाम गर्ने छुट नरहेको उनको भनाइ थियो ।

‘हामीलाई पार्टीले राम्रो काम गर्नु भनेर पठाएको हो । नराम्रो गर्ने र पार्टीलाई बदनाम गर्ने छुट हामीलाई छैन’, मुख्यमन्त्री कार्कीले भने, ‘आफ्नो कामको राम्रोसँग समीक्षा गरौं र जनपक्षीय काममा अघि बढौं ।’

एमालेका जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै उनले एमालेले २०८४ मा अझै राम्रो नतिजा ल्याउने दाबीसमेत गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राईले जनप्रतिनिधिले जनताको गरिबी घटाउने, आम्दानी बढाउने र सुशासनमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा एमालेबाट निर्वाचित २०० भन्दा बढी जनप्रतिनिधि भेला भएर मध्यावधि समीक्षा गरी भावी योजना एवम् रणनीति तय गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर