सेटिङमा भारतबाट अवैध आयात- किसानले लागत मूल्य नपाए पनि उपभोक्तालाई कसरी दोब्बर ? – Nepal Press
कुखुरा पालक किसानको पीडा:

सेटिङमा भारतबाट अवैध आयात- किसानले लागत मूल्य नपाए पनि उपभोक्तालाई कसरी दोब्बर ?

रुपन्देही । रुपन्देहीमा हाराहारी साढे ३ सय कुखुरा पालक किसान छन् । यहाँ दैनिक दुई सय क्विन्टल कुखुराको माग छ । समयमै यी किसानलाई सबै सुविधा भए कुखुराको मासुमा आत्मनिर्भर हुन सकिने किसानले बताइरहेका छन् तर यहाँका किसानको कुखुराले बजार नपाइरहेको बेला भारतबाट दैनिक ४० क्विन्टलभन्दा बढी कुखुरा अवैध बाटोबाट यहाँ आइरहेको व्यवसायीको दाबी छ ।

अर्कोतर्फ किसानले अहिले पनि ब्रोइलर कुखुरा १ सय ९० रुपैयाँ प्रतिकिलोमा बेच्न बाध्य छन् तर उपभोक्ताले प्रतिकेजी ३८० रुपैयाँमा किनेर खानुपरिरहेको छ । त्यसमा पनि अधिकांश छिमेकी देश भारतबाट अवैध तरिकाले ल्याइएको कुखुरा बेचिइएको व्यवसायीले बताइरहँदा नियामक निकायले वास्ता नगरेको गुनासो व्यवसायीले गरिरहेका छन् ।

आफ्नो लागत मूल्य पनि उठ्न छाडेपछि अहिले जिल्लाभरका कुखुरा पालक किसान भेला भएर अब कसरी अघि जाने भनेर विकल्प खोजेको व्यवसायी ईश्वर सुवेदीले बताए ।

‘रुपन्देहीमा हामी साढे ३ सय साना किसानले कुखुरा उत्पादन गरिरहेका छौँ, हामीले अहिले १ सय ९० रुपैयाँमा बेच्नुपरेको छ, तर २ सय २० रुपैयाँभन्दा कम मूल्यमा बेचेर हाम्रो लगानी पनि उठिरहेको छैन’ उनले भने–‘यस्तो अवस्थामा सबै लगानी यसमा लगाएर कुखुराको मूल्यमा आत्मनिर्भर बन्न लागेको बेला किन यसरी भारतीय कुखुराको आयात गरिएको छ ? कसको सेटिङमा यस्तो खेलो भएको छ । यो त हामी व्यवसायीलाई हतोत्साहित बनाउने खेल भयो ।’

उनका अनुसार आफूहरूले १सय ९० रुपैयाँमा बेचे पनि उपभोक्ताले अहिले पनि ३८० रुपैयाँमा किन्नु परेकोले बिचौलियाको राज भएको छ । कुखुरा पालक किसानलाई संगठित बनाउँदै आएका अध्यक्ष ऋषिराम काफ्लेले आफूहरूको सबै लगानी र मेहनतलाई स्थानीय सरकार, प्रशासन र अन्य व्यवसायीले बेवास्ता गरेको बताए ।

‘हामीले उत्पादन लागत पाउन नसकेको अवस्था छ, यति धेरै लगानी गरेका छौँ, यति धेरै रोजगारीको व्यवस्था गरेका छौँ तर खुला सीमाको कारण भारतीय बजारबाट खुलेयाम आयो, रुपन्देहीमा ६१ किलोमिटर खुला सीमा छ, गाडीका गाडी कुखुरा कसरी घरघरमा पुग्छ ?’ उनले भने ।

काफ्लेले नेपाली उत्पादनले बजार पाउन नसकिरहेको बेला सरकारले अमेरिकाबाट कुखुराको मासु ल्याउने सम्झौता गरेको विषय अत्यन्तै चिन्ताको कुरा भएको बताए ।

‘कुखुरामा आत्मनिर्भर हुँदै गएको थियो, भारतीय उत्पादन हाम्रो भन्दा निकै सस्तो हुन्छ, उनीहरूको हरेक लगानी कम मूल्यमा हुन्छ तर उताबाट आउने बिनाभन्सार सिधै आउँदा हामीले कसरी पेशा जोगाउने ? किसानका समस्या सम्बोधन गर्ने कसले हो ?’ काफ्ले प्रश्न गरे ।

व्यवसायी टिकाराम लम्सालले बजारको सुनिश्चितता हुँदा पनि भारतबाट कम गुणस्तरहीन मासु कसरी आयो भन्ने विषयमा अब किसान मात्रै बोलेर नहुने बताए । व्यवसायी विशाल थापाले अब उत्पादन लागतको आधारमा मूल्य निर्धारण गरौँ, अवैध आयातलाई विस्थापित गरौँ, कृषि उत्पादनलाई प्रोत्साहन गरौँ भन्ने मुख्य नारा लिएर जिल्लामा रहेका १६ वटै पालिकामा खबरदारीका लागि सबै किसान एकजुट भएको बताए ।

‘हामी स्वच्छ कुखुरा उत्पादनमा तयार छौँ, गलत गर्ने किसानलाई पनि कारबाही गर्न तयार छौँ तर अब अवैध तरिकाले ल्याउनेलाई मात्रै होइन खरिद गर्ने जालो तोड्न किसानलाई सबैको साथ चाहियो’ उनले भने । ‘तिहारमा कुखुराको मूल्य अलिक हुने गर्दथ्यो तर भारतबाट आएपछि किसानले पाउनै सकेनन्, तस्करहरूको गिरोह छ । बोर्डर साइडमा धेरै छ । भारतीय कुखुरा बन्द हुँदा मात्रै धेरै राहत हुने थियो । हामीलाई लखेट्ने धम्काउने गरेका छन् ।’ थापाले भने ।

थापाका अनुसार बिचौलियाले धेरै कमाए पनि किसानले लागत मूल्य पाउन सकेका छैनन् । ‘जिउँदो कुखुरा स्टक गर्न सकिँदैन, अनि सस्तोमा बेच्न बाध्य हुन्छन् किसान, रुपन्देहीमा सुनौलीको मुख्य नाकाबाट नआए पनि नवलपरासी, रुपन्देहीको मर्चवार, कक्रहवा, कपिलवस्तुबाट छिराएर रुपन्देही केन्द्र पारेर बेचिएको छ’ उनले भने ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले उत्पादन गर्नेबेलामा चल्ला महँगो र बेच्ने बेलामा मासु सस्तो हुने किसानका समस्या खुला सीमाले बनाएको र गुणस्तरहीन मासु आयात रोक्न नसकिएको बताउँदै किसानका समस्या संस्थागत रूपमै उठाउन आग्रह गरे ।

‘अब १६ वटै पालिका प्रमुख बसेर सुरक्षा अधिकारीसहित बसेर योजना बनाऔँ तर यहाँ फर्म यहाँ खोल्ने र भारतबाट ल्याएर बेच्नेलाई किसानलाई कारबाही हुनुपर्छ’ उनले भने, ‘कुखुराको वधशाला पीपी मोडलमा व्यवसायीको सहभागितामा सञ्चालन गर्न तयार छौँ । आउनुस् सल्लाह गरेर योजना बनाऔँ ।’

तर व्यवसायी विशाल थापाले सबै पालिकामा आवश्यकताअनुसार किसान वधशालामा सहकार्य गर्न तयार भए पनि किसान र व्यवसायीलाई साइड लगाएर त्यो सम्भव नभएको जनाएका छन् ।

जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले सबै पालिकाका किसानका समस्यालाई सामूहिक रूपमा बसेर समाधान गर्न आह्वान गरेका छन् । किसानका समस्या र गुनासा सुनेपछि उनले खुला सीमाको फाइदा उठाउँदै भारतबाट कुखुरासहित विभिन्न वस्तुको अवैध आयात हुने गरेको स्वीकार गर्दै यसलाई रोकेर नेपाली किसानलाई बचाउन सुरक्षा निकाय इमान्दार भएर चेकजाँचमा कडाइ गर्नुपर्ने बताए ।

तस्करी भएको सूचना पाए आफूलाई जानकारी गराउन आग्रह गर्दै संयोजक चापागाईलेसम्म आफू तस्करी रोकेर स्वदेशी किसानलाई संरक्षण गर्न सधै तत्पर रहेको स्पष्ट पारे ।

सीमा क्षेत्रका नेपाली कुखुरा फार्ममा दिनभर कुखुरा नहुने तर राति भारतबाट ल्याएर अर्को दिन नेपाली कुखुरा भन्दै बेच्ने गरिएको समेत औँल्याए । उनले विगतमा भारतीय सेतो अण्डालाई विस्थापित गरे जस्तै भारतीय कुखुरा र चल्लाको तस्करीलाई पनि सबै मिलेर विस्थापित गर्नुपर्ने बताए ।

संयोजक चपाईले ठूला व्यापारी र ठूला किसानले साना व्यापारी र किसानलाई माथि उठ्न नदिई तहसनहस बनाउने गरी काम गरिरहेको भन्दै त्यस्तो नगर्न सचेत गराए ।

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले किसानको उत्पादन र उपभोक्ताले पाउने मूल्यमा भएको निकै फर मूल्यलाई अब खबरदारी गर्दै गुणस्तरीय मासु खान पाउने उपभोक्ताको हितलाई ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने बताए ।

रुपन्देही प्रहरी प्रमुख रन्जितसिंह राठौरले नेपालमा मूल्य महँगो हुने तर भारतमा सस्तो हुने भएकाले नेपाली व्यापारी र किसानकै कारण पनि तस्करी हुने र नवलपरासीदेखि कपिलवस्तुसम्म ७० किलोमिटर खुला सीमा भएको र सबै खुला सीमामा सुरक्षा निकायको पर्याप्त उपस्थिति हुन नसकेकाले अवैध आयात रोक्न नसकिएको बताउँछन् ।

नेपाली व्यापारी र किसानले भारतीय कुखुरा र मासु खरिद नगरिदिने हो भने समस्या हल हुने उनको भनाइ रहेको छ ।


प्रतिक्रिया

One thought on “सेटिङमा भारतबाट अवैध आयात- किसानले लागत मूल्य नपाए पनि उपभोक्तालाई कसरी दोब्बर ?

  1. गृहमा रवि हुँदा यस्ता अवैध आयात ठप्पै भएकाले जनताले राहत पाएका थिए । अहिले गृह काँग्रेसले चलाएको छ । काँग्रेस भनेको खाने र देश डुवाउने जात हो । रमेश भएसम्म नेपाली किसान मर्ने हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *