हलमा ‘१२ गाउँ’को पोस्टर छेकिएको भन्दै विराज भट्ट क्रोधित, फ्याँकिदिए स्वागतको बुके – Nepal Press

हलमा ‘१२ गाउँ’को पोस्टर छेकिएको भन्दै विराज भट्ट क्रोधित, फ्याँकिदिए स्वागतको बुके

रुपन्देही । ‘१२ गाउँ’ सुपरहिट भएसँगै यसका निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टको फुर्तिफार्ति निकै बढिरहेको छ आजकाल । जुनसुकै ठाउँमा पनि उनी बेग्लै रोव र आत्मविश्वासका साथ प्रस्तुत हुन्छन् । कतिपयले यसलाई घमन्डको संज्ञा पनि दिएका छन् ।

अहिले एउटा भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा विराज कुनै कुरामा असन्तुष्ट भएर फुलको बुके मिल्काएको देखिन्छ । यो घटना हिजोको हो ।

आफ्नो चलचित्रको प्रवर्द्धधनका क्रममा बाँकेको नेपालगन्जस्थित क्यूएफएस हल भिजिटका लागि छोरा समिरलाई लिएर पुगेका थिए बिराज । हल सञ्चालकले उनलाई फुलगुच्छा दिएर स्वागत गरेर भित्र लगेर बसाले । तर, बिराजको अनुहारमा खुशी भन्दा पनि क्रोध थियो । यो क्रोधको कारण रहेछ, हलबाहिर ‘१२ गाउँ’को ठूलो ब्यानर नदेख्नु ।

उनले आफ्नो चलचित्रको पोष्टर देखिने ठाउँमा नराखिएको भन्दै हल सञ्चालकसँग आक्रोश पोखेका थिए । यही क्रममा आफूलाई दिइएको फुलगुच्छा मिल्काइदिएका हुन् । बाबुले यसरी उत्तेजना देखाइरहँदा छोरा समिर भने शान्त भएर बसेका थिए ।

नेपालगन्जमा चलचित्र पत्रकारिता गर्दै आएका समीरमान श्रेष्ठका अनुसार १२ गाउँको पोस्टर नराखिएको भने होइन । तर, अलिकति ओझेलमा थियो ।

उनले भने, ‘त्यो हलमा एकैपटक तीनवटा फिलिम रिलिज भएका थिए । अगाडिपट्टि दुईवटा मात्रै पोस्टर अट्ने ठाउँ छ । त्यसमा छक्कापन्जा र ज्वाईँसाहेबको पोस्टर थियो । १२ गाउँको अलिकति साइडमा थियो । बिराज पुगेपछि यस्तो अन्याय पनि गर्नुहुन्छ ? खै मेरो पोष्टर ? भनेर रिसाउनुभएको हो । यही क्रममा हातमा दिएको फूल टेबुलमा फालेको क्लिप भाइरल भएछ । यो ठूलो कुरा भने थिएन ।’

टिकटक प्रयोगकर्ताहरुले भने विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् । धेरैले बिराजले अहम्ता देखाएको भन्दै आलोचना गरेका छन् । उनका फ्यानहरुले भने आफ्नो फिल्मको पोस्टर नदेखेपछि रिसाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर