एनपीएलमा २ वर्षयता टेस्ट मान्यताप्राप्त देशबाट खेलेका ४ जना खेलाडीलाई मात्र कोटा, ८ फ्रेन्चाइजहरु अन्योलमा – Nepal Press

एनपीएलमा २ वर्षयता टेस्ट मान्यताप्राप्त देशबाट खेलेका ४ जना खेलाडीलाई मात्र कोटा, ८ फ्रेन्चाइजहरु अन्योलमा

काठमाडौं। नेपाल प्रिमियर लिगमा यतिबेला ८ वटै फ्रेन्चाइजहरु धमाधम विदेशी खेलाडीहरू आबद्ध गरिरहेका छन् । मंसिर १६ देखि सुरु हुने एनपीएलका लागि फ्रेन्चाइजहरु टिम पुरा गर्ने चटारोमा छन्। उनीहरूले यसअघि १० जना नेपाली खेलाडीलाई अक्सनबाट लिएका थिए। त्यसअघि मार्की खेलाडीहरू तय गरिएको थियो ।

अहिले न्यूनतम ४ जना विदेशी खेलाडीको कोटा उनीहरू पुरा गर्दैछन्। खेलमा एउटा टोलीले अधिकतम ४ जना विदेशी खेलाडीहरू उतार्न पाउने प्रावधान छ। त्यसमा एक जना एसोसिएट राष्ट्रको खेलाडीलाई अनिवार्य गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले २ वर्षयता टेस्ट मान्यताप्राप्त टोलीबाट खेलेका ४ जना खेलाडी मात्र पुरा प्रतियोगिताका लागि आबद्ध हुन पाउने भनेको छ। विराटनगरको टिम डाइरेक्टर दीपेन्द्र चौधरीले क्यानको उक्त प्रावधानले अन्यौलता सृजना गरेको बताए।

’२४ महिनायता टेस्ट मान्यताप्राप्त टोलीबाट खेलेको ४ जना खेलाडीले मात्र एनपीएल खेल्न पाउने भनिएको छ। यसले टिमहरूलाई टेस्ट राष्ट्रबाट यो अवधिमा खेलेका खेलाडीहरू आबद्ध गर्न अन्यौलता सृजना गरेको छ। ४ खेलाडीको कोटा छ अनि टिम चाहिँ ८ वटा छन्’, चौधरीले भने।

त्यो अवस्थामा क्यानले निर्णय गर्ने बुझिएको छ। टेस्ट मान्यताप्राप्त टोलीबाट अन्तिम पटक २ वर्षअघि खेलेका खेलाडीको हकमा भने यो प्रावधान आकर्षित नहुने जनाइएको छ।

क्यानले फ्रेन्चाइजहरुलाई सजिलो बनाउन २ सय ५० भन्दा बढी विदेशी खेलाडीको नाम उपलब्ध गराएको छ । त्यसमा डेढ दर्जन खेलाडीहरूले आफ्नो मूल्य पनि तोकेका छन् । प्रतियोगिताका लागि हरेक फ्रेन्चाइजले कम्तीमा ४ जना विदेशी खेलाडी आबद्ध गर्नुपर्ने अनिवार्य गरिएको छ ।

कसरी हुन्छन् विदेशी खेलाडी आबद्ध ?

खेलाडी र फ्रेन्चाइजबीच कुरा भएपछि त्यो नाम क्यानलाई उपलब्ध गराइन्छ। सम्बन्धित खेलाडीको सम्बन्धमा क्यानले स्वीकृत गरेपछि एनओसीका लागि पहल हुन्छ। एनओसी आएपछि खेलाडी आबद्धताको प्रक्रिया अन्तिम चरणमा पुग्छ।

विदेशी खेलाडीको हकमा क्यानले तलबको सीमा तोकेको छैन। फ्रेन्चाइजहरु आफैले डिल गर्न र निर्णय गर्ने अधिकार दिइएको छ।

यसअघि नेपाली खेलाडीको हकमा मार्कीले २०/२० लाख र अन्य खेलाडीको हकमा २ देखि १५ लाख रुपैयाँसम्म फ्रेन्चाइजले खर्च गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *