प्रदेश राजधानी गुमाएको धनकुटाको दरिलो धन बन्दै एभोकाडो – Nepal Press

प्रदेश राजधानी गुमाएको धनकुटाको दरिलो धन बन्दै एभोकाडो

धनकुटा । पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र धनकुटालाई सङ्घीयतामा पनि प्रदेशको राजधानी बनाइनुपर्छ भन्दै आन्दोलन भए । राणा कालदेखिको प्रशासनिक अड्डा धनकुटाबाट सरेर गए, भूगोलका हिसाबले प्रदेशकै केन्द्र भागमा पर्ने यो शहर मृत हुनेमा धनकुटावासीको चिन्ता थियो ।

यही चिन्ताका कारण ३६ दिनसम्म धनकुटामा सवारीसाधन चलेनन् । सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि कर्फ्युसमेत लाग्यो, तर आन्दोलन र विरोधका बावजुद पनि मुलुक सङ्घीय संरचनामा जाँदा धनकुटा प्रदेशको प्रशासनिक अड्डा बनिरहन सकेन । धनकुटाले प्रदेश राजधानी बन्न पाएन ।

२०७६ साल वैशाख २३ गते प्रदेशसभाको बैठकले प्रदेशको स्थायी राजधानी विराटनगर तोक्यो । विराटनगरलाई स्थायी राजधानी बनाउने प्रस्तावको पक्षमा धनकुटाबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले समेत मतदान गरे । ९३ जना प्रदेशसभा सदस्य रहेको कोशी प्रदेशसभाको बैठकमा ८६ जना प्रदेश सांसदले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरे । ६ जना प्रदेश सांसद मतदानका बेलामा अनुपस्थित रहे ।

राजनीतिक रूपमा धनकुटाबाट प्रशासनिक अड्डाहरू विराटनगरमा सिफ्ट भए पनि धनकुटा एभोकाडो अर्थात् घिउ फलको भने राजधानीको रूपमा विकास हुँदै गएको छ । अहिले धेरैले राजनीतिक कार्यक्रममा भन्ने गर्छन्, ‘प्रदेशको राजधानी नभएर के भो त एभोकाडोको त राजधानी छँदैछ नि !’

धनकुटा नगरपालिकाले प्रदेशको स्थायी राजधानी विराटनगर तोकिनुभन्दा पहिले नै २०७५ साल असार ९ गते धनकुटालाई एभोकाडोको राजधानीको रूपमा घोषणा गरेको थियो ।

धनकुटालाई एभोकाडोको राजधानीको रूपमा घोषणा गर्न पहल गरेका अभियन्ता जीवनकुमार राईको मन सुरुका वर्षमा एभोकाडोको राजधानी त छ नि भनेर राजनीतिक वृत्तमा उडाउँदा खिन्न हुन्थ्यो ।

उनलाई लाग्यो, ‘हाम्रो अभियानलाई मानिसहरूले मजाकको विषय बनाइरहेका छन् ।’

हिलेमा रहेको उनको राई एन्ड श्रेष्ठ होमस्टेमा भेट्न पुग्दा राईले भने, ‘अहिले त हामीलाई एभोकाडोको राजधानी भनेर धनकुटालाई भन्दा गर्व लाग्ने भएको छ ।’

 

एभाेकाडाे अभियन्ता जीवनकुमार राई ।

धनकुटालाई एभोकाडोको राजधानी तोकिएपछि अहिले धनकुटामा एभोकाडो खेतीको विस्तार दिन दुई गुणा रात चौ गुणाको दरले भइरहेको छ । धनकुटा नगरपालिकामा रोप्न सुरु गरिएको एभोकाडो खेती अहिले जिल्लाका सात वटै पालिकामा विस्तार भएको छ ।

कृषि अभियन्ता राईका अनुसार खान र कोसेली दिन बारीका कान्लामा रोपिने एभोकाडोको अहिले धनकुटामा व्यवसायिक रूपमा खेती भइरहेको छ । एभोकाडोको व्यवसायिक खेतीले मृत अवस्थामा पुगेको धनकुटाको आर्थिक कारोबार पुनरुत्थान हुन थालेको छ । किसानहरू  एभोकाडोकाे एउटै बोटबाट एक लाख रुपैयाँसम्म कमाउने अवस्थामा पुगेका छन् ।

धनकुटा नगरपालिका- ३ वारी पात्ले वाग्ले गाउँका किसान गोविन्द वाग्लेको बारीका डिलमा सुन्तलाका बोटहरु थिए । उनी मकै, कोदो, तोरीलगायतका परम्परागत खेती गर्थे । अहिले उनले टार बारीमा एभोकाडोको व्यवसायिक खेती गरेका छन् ।

उनले ६ वर्षअघि बारीमा ६० वटा जति एभोकाडोको विरुवा लगाएका थिए । ती विरुवाबाट अहिले उनले राम्रो आम्दानी गरिरहेका छन् । एउटै बोटबाट वर्षको ५० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको वाग्लेले बताए ।

‘एक पटक लगानी र मेहनत हो’, वाग्लेले भने, ‘राम्रो फलेका बोटहरू एक लाख रुपैयाँसम्ममा ठेक्का लगाएका किसानहरू पनि छन् ।’

उनले बारीमा परम्परागत खेती गर्दा बाँदरको खाना हुने गरेको बताए । अहिले यही एभोकाडो आम्दानीको स्रोत बनेको वाग्लेको भनाइ छ । उनले एभोकाडो खेतीले पुनः धनकुटामा आर्थिक क्रियाकलाप बढेको बताए ।

बाँदरले अहिलेसम्म एभोकाडो खाएको छैन । बाँदरबाट बाली जोगिनसमेत धनकुटाका किसानहरू एभोकाडो लगाउन थालेका छन् । उनीहरूले उत्पादन गरेको एभोकाडो बारीमै ५० रुपैयाँ प्रतिकेजीमा बेच्ने गरेका छन् ।

पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र हुँदा धनकुटाको चहलपहल अर्कै थियो । त्यहीमाथि धनकुटा बहुमुखी क्याम्पसमा पूर्वाञ्चलबाट मात्रै होइन, देशभरबाट पढ्न विद्यार्थीहरू आउँथे । लोकसेवाका जाँचका बेला धनकुटामा थामी नसक्नु विद्यार्थीको चाप हुन्थ्यो । सङ्घीयता सँगै यी सबै कुरा एकादेशको कथा भएको छ । धनकुटाको त्यो रापतापमा रमाएका कुलबहादुर राना अहिले एभोकाडो कृषक बनेका छन् ।

धनकुटा देब्रेबास लोकसेवा घर भएका रानाले मानिसहरूले खाएर फालेका एभोकाडोका दाना रोपेर एभोकाडोको खेती थाले । उनको बारीमा अहिले डेढ सयभन्दा बढी एभोकाडोका बोट छन् । ती बोटले आम्दानी दिन थालेको दशक हुन थाल्यो । उनी कार्तिकदेखि चैतसम्म एभोकाडो बेच्छन् ।

एभाेकाडाे किसान कुलबहादुर राना ।

उनले सुनाए, ‘२०० रुपैयाँ केजी नभएसम्म मेरो बगैंचामा किन्न नआओ भनेर व्यापारीलाई भन्ने गरेको छु । म त डेढ सय रुपैयाँ प्रतिकेजी नभएसम्म बेच्दै बेच्दिनँ ।’

व्यापारीहरू एभोकाडो किन्न उनको बारीमै पुग्छन् । दाम छिनेपछि व्यापारीले नै रुखबाट झारेर एभोकाडो लान्छन् ।

धनकुटालाई एभोकाडोको राजधानी घोषणा गर्ने अभियानमा लागेका कृषि अभियन्ता जीवनकुमार राईले धनकुटा नगरपालिकामा मात्रै एक लाखभन्दा बढी एभोकाडोको विरुवा रोपिएको बताए । उनले देशभर धनकुटाबाट ५५ लाख एभोकाडोका विरुवा लगिएको बताए ।

धनकुटा नगरपालिकाले एभोकाडो खेती विस्तारका लागि २०७५ सालमै आधार रेखा सर्वेक्षण गरेको थियो । नगरपालिकाको कृषि शाखाका अनुसार सर्वेक्षणले धनकुटा नगरपालिकाभित्र एभोकाडोको कति बोट छ, किसानले उत्पादन गरेको फलको मूल्य कति पाएका छन् र एभोकाडो कति फलिरहेको छ भन्ने जानकारी पाएको जनाएको छ ।

यो अभियानमा लागेका धनकुटाका मेयर चिन्तन तामाङले धनकुटाका किसानलाई एभोकाडोबाट आर्थिक रूपमा सबल बनाउन २०७५ र २०७६ सालमा एभोकाडो महोत्सव गरिएको बताए ।

उनले भने, ‘हामीले यो फलबाट आम्दानीका हिसाबले क्रान्ति नै गर्न सकिन्छ भनेर पनि एभोकाडो विस्तारका कार्यक्रम गर्‍यौं । नर्सरी सुधारका कामहरू भए । यसैले धनकुटामा अहिले एभोकाडो आम्दानीको स्रोत बनेको छ ।’

नगरपालिकाले प्रदेश सरकार र कृषि अनुसन्धान केन्द्र पाख्रिबाससँगको सहकार्यमा विभिन्न काम गरिरहेको छ । जसका कारण धनकुटामा आर्थिक वर्ष २०८०/८१ मा ५ लाख केजीभन्दा बढी एभोकाडो फलेको छ ।

एभोकाडोको राजधानी घोषणा हुनुभन्दा अघि धनकुटाका २ हजार परिवारले कम्तीमा एउटा एभोकाडोको बोट लगाएकोमा अहिले ५ हजार परिवार एभोकाडो खेतीमा संलग्न छन् । धनकुटा नगरपालिकामा मात्रै ६० भन्दा बढी फार्ममा व्यवसायिक रूपमा एभोकाडोको खेती भइरहेको छ ।

निर्यातमा समस्या

अहिलेसम्म एभोकाडोको बजार देशका ठूला शहरहरू नै हुन् । विदेशीहरूले मन पराउने यो महँगो फल धनकुटाबाट देशका तारे होटलहरुमा पुग्छन् । नेपालीहरूले धेरैपछि मात्रै खान जानेको यो फलको माग काठमाडौं र पोखरामा धेरै छ । विस्तारै धरान, विराटनगर, बिर्तामोडलगायतका शहरहरूमा पनि यसको माग बढिरहेको किसानहरु बताएँछन् ।

उनीहरुका अनुसार धनकुटा आउनेहरूले कोसेलीका रूपमा लाने यो फलको निर्यात र भण्डारणमा भने समस्या हुन थालेको छ । उत्पादन बढेसँगै यसको बजार पनि खोज्न परेको छ ।

एभोकाडोमा प्रशस्त मात्रामा क्यालोरी भए पनि धेरै नेपालीहरूले यसको स्वाद लिन सकेका छैनन् । धनकुटामा बगैंचा ठेक्कामा लिएर एभोकाडोको व्यापार गर्दै आएका व्यापारी जीतेन्द्रकुमार राईले यही हिसाबले यो फलको खेती विस्तार भए बजारको समस्या हुने बताए ।

‘हाम्रो देशमा फलिरहेको एभोकाडो कुन जातको हो भन्नेसम्म पहिचान हुन सकेको छैन । सरकारले यो फलका बारेमा अध्ययन र अनुसन्धान नगर्दा यसको प्रमाणीकरणमा समस्या छ’, राईले भने, ‘कृषि उत्पादन निर्यात गर्दा दुई देशका बिचमा सम्झौता आवश्यक भएका कारण माग भए पनि विदेश निर्यातमा समस्या छ ।’

उनका अनुसार यो फललाई लामो समयसम्म कसरी भण्डारण गर्ने भन्नेसमेत अहिले चिन्ताको विषय बनेको छ । ‘फल पाकेपछि बेच्नैपर्छ । यसलाई कसरी लामो समयसम्म भण्डारण गर्ने हो, हामीलाई थाहा छैन’, राईले भने ।

एभोकाडोका विषयमा अध्ययन गरिरहेका कृषि अभियन्ता जीवन राईले पनि अब भण्डारण र निर्यातका विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।

‘ससाना कोल्ड स्टोरेजहरू निर्माणमा सरकारको ध्यान जानुपर्छ’, उनले भने, ‘अहिले किसानहरू अघिअघि हिँडेका छन् । सरकार धेरै पछाडि छ । यो खेती विस्तारमा सरकार पनि किसानसँगै हिँड्नुपर्छ ।’

चीनमा एभोकाडोको ठूलो माग छ । चीन निर्यातका लागि चिनियाँ व्यापारीहरु पनि आएका छन्, तर निर्यात गर्न नसकिएको व्यापारी जीतेन्द्र राई बताउँछन् । भारतमा समेत एभोकाडोको माग छ, तर अहिलेसम्म निर्यात गर्न नसकिएको उनको भनाइ छ ।

ब्रिटिसले खाएर फालेको एभोकाडोबाट खेती विस्तार

धनकुटाको पाख्रिबासमा बेलायत सरकारको सहयोगमा २०२९ सालमा कृषि अनुसन्धान केन्द्रको स्थापना भयो । बेलायती व्यवस्थापनमा कृषिका विषयमा अनुसन्धान गर्न बेलायतबाट समेत कृषि वैज्ञानिकहरू आए । उनीहरूले एभोकाडो लिएर आए । उनीहरूले खाएर फालेको दानाबाटै धनकुटामा एभोकाडो खेती विस्तार भएको मानिँदै आएको छ ।

धनकुटा बजारमा चाहिँ विक्रम श्रेष्ठले एभोकाडो पहिलो पटक रोपेको किसानहरू बताउँछन् । कृषि वैज्ञानिक डा. कृष्ण पौडेलले ब्रिटिसहरूले ल्याएर खाएको एभोकाडोको बियाँबाट नै यहाँ खेती विस्तार भएको बताइए पनि यसबारे ठोस अनुसन्धान हुन बाँकी रहेको बताए ।

‘हामी प्रारम्भिक चरणको अनुसन्धान गरिरहेका छौं । अहिलेसम्म धनकुटामा यो जातको एभोकाडो खेती ठीक हुन्छ भनेर सिफारिस गर्नसक्ने अवस्थामा छैनौं’, कृषि अनुसन्धान केन्द्र पाख्रिबासमा एभोकाडोका विषयमा अनुसन्धान गरिरहेका डा. पौडेलले भने ।

उनका अनुसार संसारमा तीन जातका एभोकाडोको खेती हुन्छ । मेक्सिकन, ग्वाटेमालायन र अफ्रिकन जातका एभोकाडोको व्यवसायिक रूपमा खेती हुने गरेको भए पनि यी जातका पनि धेरै उपजातिहरू रहेको कृषि वैज्ञानिक पौडेलले बताए ।

उनले भने, ‘धनकुटामा खेती भइरहेका एभोकाडोका २०० भन्दा बढी उपजात रहेका छन् । तीमध्ये कुनले धेरै प्रतिफल दिन्छ भन्ने अनुसन्धान नै बाँकी छ ।’

अहिले एभोकाडोमा रोगहरू पनि देखिन थालेका छन्, तर यसको निदानका विषयमा समेत पर्याप्त अनुसन्धान भएको छैन । पौडेलले भने, ‘किसानहरू खेती विस्तारमा लागेका छन्, तर यसको बारेमा अध्ययन अनुसन्धान नहुँदा समस्या हुने गरेको छ ।’

कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त कार्यालय प्रमुख नगेन्द्रबहादुर रानामगरले प्रदेश सरकारले एभोकाडो खेती विस्तारमा अनुदानको कार्यक्रम सञ्चालन गरेको बताए ।

उनले एभोकाडो प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ७५ प्रतिशतसम्म अनुदान दिएको बताए । अहिले करिब २ हजार ७०० रोपनीमा किसानहरूले एभोकाडो खेती गरिरहेको उनको भनाइ छ ।

धनकुटामा मात्रै ५ लाख किलोभन्दा बढी एभोकाडो फलेको र किसानले प्रतिकेजी ४०० रुपैयाँसम्ममा बेचेको रानामगरले बताए । उनले खेती विस्तार भए पनि अनुसन्धानको पाटोमा भने खास काम हुन नसकेको स्वीकार गरे ।


प्रतिक्रिया

One thought on “प्रदेश राजधानी गुमाएको धनकुटाको दरिलो धन बन्दै एभोकाडो

  1. अब सबै पालिका र नगरपालिकालाई यसै गरी कुनै न कुनै पकड क्षेत्र तोकेर उत्पादनमा लगानी र रोजगारी बृद्धी गर्नु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *