हिरासतभित्र रवि : पुस्तक पढ्दै र डायरी लेख्दै, छिट्टै छुट्नेमा ढुक्क ! – Nepal Press

हिरासतभित्र रवि : पुस्तक पढ्दै र डायरी लेख्दै, छिट्टै छुट्नेमा ढुक्क !

काठमाडौं फर्किइन् रविपत्नी निकिता, बन्दी प्रत्यक्षीकरणको रिट हाल्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने १० दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिसकेपछि उनलाई प्रहरीले दुईपटक म्याद थप गराइसकेको छ ।

पक्राउपछि रविलाई जिल्ला प्रहरी कार्यालय भवनको माथ्लो तल्लामा रहेको गार्ड सुत्ने कोठामा राख्ने व्यवस्था मिलाइएको थियो । अहिले पनि उनी यही कोठाभित्र छन् । कोठामा खाट र ओढ्ने–ओछ्याउनेबाहेक एउटा टेबल र लुगा झुण्ड्याउने ह्याङ्गर छ । माथिल्लो तल्लामा रविबाहेक अन्य कैदीबन्दी छैनन् ।

रास्वपा स्रोतका अनुसार रविको हिरासत बसाइ सामान्य छ । रविका वकिलहरूले दाबी गरेजस्तो प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार वा पेलान नभएको स्रोत बताउँछ । भेट्न आउनेहरूले सहजरूपमा भेट्न पाइरहेका छन् ।

रविको कोठामा रहेको झ्याल वा ढोकाबाट आगन्तुकहरूले रविसँग कुरा गर्ने गर्छन् । उनी सुत्ने ओछ्यान झ्यालमै सटेको हुनाले कुराकानी गर्न कुनै पनि असुविधा छैन ।

रवि किञ्चित पनि निराश वा हताश मनस्थितिमा नरहेको एक नेताले बताए । अदालतको इजलासमा आवेशपूर्ण अभिव्यक्ति दिए पनि हिरासतभित्र उनी उच्च मनोबलमा रहेको ती नेताको भनाइ छ ।

रविलाई हिजोमात्र भेटेका एक रास्वपा नेताले भने, ‘उहाँमा पहिलेकै जस्तो ऊर्जा र आत्मविश्वास देखेँ । लवाइ र हेयरस्टाइल पनि उस्तै थियो । अनुहार चम्किलो छ । अदालतले आफूलाई न्याय गर्छ भन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ । ‘चिन्ता नलिनुस, म चाँडै निस्किन्छु’ भन्नुभयो ।’

रविको दिनचर्या अहिले भेटघाट र लेखपढमा बितिरहेको छ । उनलाई प्रत्येक दिन दुईपटक दुई-दुई घन्टा आगन्तुकहरूले भेट्न पाउँछन् । बिहान ७ देखि ९ र बेलुकी ३ बजेदेखि ५ बजेसम्म भेटघाटका लागि समय छुट्याइएको छ । यो समयमा रविलाई भेट्न आउनेहरूको ताँती लाग्छ । प्राय रास्वपाका नेता कार्यकर्ता हुन्छन् । आउनेहरूलाई प्रहरीले पनि सहजरूपमा नै भेट्न दिइरहेको स्रोतले बतायो । एकजनाले १५-२० मिनेटसम्म भेट्ने गरेका छन् ।

रविलाई भेट्न आउनेहरूले विभिन्न पुस्तकहरू ल्याइदिएका छन् । ती पुस्तकमध्ये छनोट गरेर पढिरहेका छन् रवि । उनको कोठाभित्र ‘ब्रम्हास्त्र’, ‘सन्त्रासका ६० दिन’, रुदाने लगायतका पुस्तकहरू भेटिन्छन् । पुस्तकसँगै पत्रपत्रिका पनि उपलब्ध छन् । दैनिक केही समय टिभी पनि हेर्न पाइरहेका छन् ।

रवि लेखनकार्यमा पनि व्यस्त रहेको अर्का रास्वपा नेताले बताए । ती नेताका अनुसार रवि अहिले आफ्नो हिरासत डायरी लेखिरहेका छन् । पछि पुस्तक प्रकाशित गर्ने उनको तयारी छ ।

हिरासतमा रहेका अन्य कैदी बन्दीहरू पहिलो तल्लामा छन् । हिरासतको साझा शौचालय पहिलो तल्लामा रहेकाले शौचकार्यका लागि रवि तल झर्न सक्छन् । फोन गर्नुपर्‍यो भने प्रहरीलाई गुहार्नुपर्छ । खाना भने रविले प्राय बाहिरबाट मगाउने गरेका छन् । पत्नी निकिता पोखरामा हुँदा उनले नै खाना ल्याइदिने गरेकी थिइन् । हिजो उनी काठमाडौं फर्किएकी छन् ।

सर्वोच्च अदालतमा रविको बन्दी प्रत्यक्षीकरण रिट हाल्ने निकिताको तयारी छ । त्यसैका लागि काठमाडौं आएकी हुन् । रिट हालिसकेर उनी फेरि पोखरा फर्किनेछिन् । रास्वपाका सीमित नेताहरू पोखरामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर