रविमाथि ओलीको प्रहार- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ? – Nepal Press

रविमाथि ओलीको प्रहार- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ?

ओलीको निशानामा माओवादी र रास्वपा, कसलाई के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए ।

राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए ।

ओलीको भाषणका केही अंशः

अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ, दवाव दिएको छ, कराएको छ । हाम्रो मान्छे छोड्दे भन्ने एउटा कुरा हुन्छ, अरुलाई तथानाम गाली गरेको छ, असभ्यता देखाएको छ । साह्रै घिनलाग्दो स्तरमा झरेको छ । त्यस्तोमा फेरि माननीय सांसद भनिएकाहरु छन् । कोही चुनेका, कोही टिपेका, विभिन्न खालका । भेट्दा माननीय भन्नुपर्छ, बोलि सुन्दाखेरी अचम्म लाग्छ ।

हिजो मात्रै एकजना कराउँदै थे उफ्रिउफ्री । हामीले हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन भनेर । उनीहरुले हतियार बिसाएको छैन, त्यो साँचो हो । बेइमानी गर्या छ । तर तिनीहरुका हतियारमा खाक्सी नलागेको धेरै भइसक्यो । पुछपाछ नगरेको धेरै भइसक्यो । माटामुनि राखेको हतियार निकालेर चलाउन खोज्दा पड्किदैन । त्यो उनीहरुले बुझे हुन्छ ।

अहिले पनि हतियारको धम्की दिने ? चार– पाँच हजार मान्छे हुन्छन् । निकालौं हतियार ? पड्काइदिउँ ? भनेर धम्काउँछन् । कसलाई धम्काएको ? कसलाई सुनाएको ? नेपाली समाजलाई होइन ? यस्ता प्रवृत्ति छन् ।

एउटा ट्रेन्ड झूटको, बेइमानीको, असत्यको, मिसइन्फर्मेसन, डिस इन्फर्मेसनको काम भइरहेको छ । झूटो बोल्नेमा एकजना, दुईजना होइन, एउटा डफ्फै छ । म कसैको नाम लिन चाहन्न, तपाईंहरु देखिरहनु भएको छ । हामी देखिरहेका छौं । यस्ता प्रवृत्तिहरु बंगलादेशमा अलिकति के भाको थियो, नेपालमा बंगलादेश बनाइदिन्छौं भन्ने निस्किए ।

कसैले किस्तिमा सजाएर दिएको डेमोक्रेसी होइन । बलिदान र संघर्षबाट प्राप्त गरेको हो । ज्यान दिएर, जेलनेल गरेर, भूमिगत भएर प्राप्त गरेको हो । म भन्न चाहन्छु, दुई–चार अराजक तत्वहरु सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन, हुन दिइने छैन । जरुरी पर्दा राजनीति के हो, देशका लागि राजनीति कस्तो हुनुपर्छ र राजनीतिलाई कसरी बचाउनुपर्छ बुझेका छौं । हामी हतियार चलाउन बिर्सेका छैनौं भन्दैमा आत्तिनुपर्ने अवस्था छैन ।

हुन त दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार भोलि नै गयो सरकार… । खाने बेलामा आँखा नदेख्ने… खुर्सानी चपायो भने पिरो हुँदैन ? खाने बेलामा आँखा नदेख्ने, अहिले अरुलाई गाली गर्ने, अन्याय भो भन्ने ? फेरि न्याय दिने काम त मेरो होइन । छानविन गर्ने काम पनि मेरो होइन । त्यसको लागि निकायहरु छन् ।

अहिलेको सरकारले कसैलाई पनि समात, छोड, निकाल, उकास जस्ता कुराहरु गर्दैन । यो निस्पक्ष सरकार हो । निस्पक्षताबाट पछाडि पनि हट्दैन । दुई-चार हजार कराएर न्यायलाई प्रभावित पार्छु भन्ने ठानेका छन् भने, मैले विश्वास लिएको छु, त्यस्ता हाहुबाट अदालत प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावनै रहँदैन । त्यसबाट सिकिहाल्छ नि मान्छेले । त्यसोभए न्याय त जो कराउँछ त्यसले मात्रै प्रभावित गर्ने हुन्छ । यो कुरा अदालतलाई स्वीकार्य हुन्छ जस्तो लाग्दैन ।

मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुनेँ । अदालतलाई छानविन गर्न दिउँन । संसदीय छानविन समिति बनाउने कुरा आउँदा मैले यो आवश्यक छैन, अन्य छानविन गर्ने निकाय छन्, त्यहाँबाट गरौं भनेको हो । उनीहरु नै हो समिति बनाउँ भनेर उफ्रिने ।

समितिमा आफैं बसेका हुन् । म त थिइनँ । उहाँहरुको प्रतनिधि थिए । माओवादीको, राप्रपाको प्रतिनिधि थिए । सबैले सर्वसम्मतिले फलानो–फलानो चारजनाले ठगी गरेको भनेर सिफारिस गरेको छ ।

संसदले कारवाही गर भनेर बुझाउने । अनि सरकारले त्यसलाई कहाँ लगेर लुकाउने ? कारवाही गर्ने ठाउँमा पठाइदिनु परेन ?

यो उफ्रिने कुराको कुनै अर्थ छैन । राजनीति भन्ने के हो नबुझेको, वडामा उठाउन ठिक थिए कि थिएनन्, ‘बाइ फ्लुक’ पार्टी बनाएका, भवितव्यमा यहाँ आएका, राजनीतिक संस्कार थाहै नपाएका तत्वहरुको कुरा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *