राप्तीमा आनीसहित मानव सेवा आश्रमको राष्ट्रिय उद्धार यात्रा टोलीलाई स्वागत – Nepal Press

राप्तीमा आनीसहित मानव सेवा आश्रमको राष्ट्रिय उद्धार यात्रा टोलीलाई स्वागत

आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको जनाएका छन् ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताएका हुन् ।

मानव सेवा आश्रमको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई आइतबार स्वागत गर्दै उनले मानव भएर मानवको हिसाबले बाँच्न पाउने वातावरण सुनिश्चित गरिने बताए ।

प्रदेशभित्र रहेका मानव सेवा आश्रम र त्यहाँ आश्रितहरुको विवरण संकलन गरिने उनले जानकारी दिए ।

मेची-महाकाली यात्रामा रहेको उद्धार टोलीमा सहभागीहरुलाई मुख्यमन्त्री आचार्यले स्वागत सम्मान गरे । आचार्यले टोलीमा सहभागी आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहितको टोलीलाई स्वागत तथा सम्मान गरेका हुन् ।

असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धार टोली १३ औं दिनमा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी पुगेको हो । अभियानको क्रममा १२८ सडक आश्रित मानवको उद्धार गरिएको छ ।

लुम्बिनी प्रदेशका जिल्लाहरुबाट हालसम्म २८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *