रेफ्रीको कमजोरीले तनावग्रस्त बनेको खेलमा नेपालको बहादुरी – Nepal Press
साफ वुमन्स च्याम्पियनसिप

रेफ्रीको कमजोरीले तनावग्रस्त बनेको खेलमा नेपालको बहादुरी

काठमाडौं । आइतबार साँझको नेपाल र भारतबीचको खेल साढे ८ बजेभित्र सकिनुपर्थ्यो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साढे ६ बजेदेखि सुरु भएको उक्त खेल सदाझैँ भएको भए साढे ८ बजेभित्र सकिन्थ्यो । तर, नेपाल र भारतबीचको उक्त खेल पौने १० बजेतिर मात्रै सकियो । करिब २ घण्टामा सकिनुपर्ने नेपाल र भारतबीचको उक्त खेल सकिन ४ घण्टाभन्दा बढी समय लाग्न पुग्यो ।

रेफ्रीका केही ‘अपरिपक्व’ निर्णयका कारण खेल केही समय तनावग्रस्तसमेत बन्न पुग्यो । नेपाली फुटबलमा सम्भवतः पहिलो पटक हुनुपर्छ यति लामो समय खेल भएको । रेफ्री तथा अफिसियलले निर्णय गर्न नसक्दा लामो समय खेल मैदानमा अन्योलसमेत भएको थियो ।

आइतबार साँझ नेपाल र भारतबीचको खेल ठिकठाक चल्दै थियो । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा भिडिरहेका यी दुईबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दुवै टोलीले केही अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा खेल गोलरहित अवस्थामा थियो ।

दोस्रो हाफको सुरुआतमै नेपाली खेलाडी रेखा पौडेलले दोहोरो पहिलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि भने खेल केही तनावग्रस्त बन्न पुग्यो । खेलको ५०औँ मिनेटमा रेखा भारतीय खेलाडीसँग जुध्न पुगिन् । भिडिओमा हेर्दा रेखाले भारतीय खेलाडी छोएको देखिएको थिएन । तर, सहायक रेफ्री छोडेन छिरिङले फलको झन्डा ठड्याइन् । ‘हाइ फुट’ भन्दै मुख्य रेफ्री ओम चोकीले रेखालाई दोस्रो पहिलो कार्ड देखाइन् । र रेखा खेलबाट बाहिरिनु पर्‍यो । जुन रेखा र खेल हेर्न मैदान पुगेका दर्शकका लागि अनपेक्षित थियो । त्यसपछि रेखा र अन्य खेलाडीले प्रोटेष्ट गर्ने कोसिस गरे पनि रेफ्री ले कुनै सङ्केत गरिनन् । त्यसपछि भने दर्शक केही आक्रोशित भए र मैदानमा बोतल प्रहार गरे । त्यसपछि खेल केही समय रोकियो ।

रोकिएको १० मिनेटपछि खेल पुनः सुरु भयो । भारतले खेलमा ७१औँ मिनेटमा गोल गर्दै अग्रता लियो । उक्त गोलमा भारतले लामो समय सेलिब्रेसन लिएपछि रेफ्री ओम चोकीले नेपाललाई बल चलाउन सङ्केत गरिन् । रेफ्रीको सङ्केतपछि बल चलाएको नेपालका लागि प्रीति राईले केही सेकेन्डमै गोल गरिन् ।

सेलिब्रेसनमा व्यस्त भारतीय गोलकिपर प्रीतिको बल भेट्टाउन सकिनन् । सुरुमा रेफ्रीले प्रीतिको उक्त प्रहारलाई गोलको मान्यता दिइन् । तर, भारतीय खेलाडी, प्रशिक्षक, व्यवस्थापकले उक्त गोलविरुद्ध प्रोटेष्ट गरे । आफैले बल चलाउन इसारा गरेकी रेफ्री चोकीले भारतको प्रोटेष्टसामु घुँडा टेकिन् । रेफ्रीले आफ्नो उक्त निर्णय सच्याइन् र नेपालको उक्त प्रहारलाई गोलको मान्यता दिन अस्वीकार गरिन् ।

रेफ्री चोकीले पहिला आफैले गेम प्लेको सङ्केत गरिन् र पछि आफैले गोल नभएको सङ्केत गर्दा खेलाडी र समर्थकमा झनै असन्तुष्टि बढ्न गयो । नेपाली खेलाडी र समर्थक आक्रोशित बने । त्यसपछि पुनः खेल एक घण्टाभन्दा बढी समय रोकिन पुग्यो । लामो समय नेपाली खेलाडीले मैदान प्रवेश गर्न अस्वीकार गरे ।

खेलाडी, अफिसियल, प्रशिक्षक व्यवस्थापकको छलफलपछि एक घण्टापछि पुनः खेल सुचारु भयो । सुरु भएको एक मिनेट भित्रै सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै नेपाललाई बराबरीमा फर्काइन् । त्यसपछि निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा भारतलाई ४–२ ले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गर्न सफल भयो ।

भारतको पहिलो र चौथो प्रयास विफल भएको थियो । नेपालका सवित्रासहित गीता राना मगर, सविता राना मगर र अमिषा कार्कीले गोल गर्दा भारतका कप्तान असलता देवी र चानुको प्रहार असफल भएको थियो । भारतलाई हराउँदै फाइनल पुगेको नेपालले उपाधिका लागि बङ्गलादेशसँग खेल्नेछ ।

फाइनल खेल मङ्गलवार हुनेछ । ५ पटक उपविजेता बनेको नेपाललाई घरेलु मैदानमा बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक उपाधि जित्दै इतिहास जित्ने अवसर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *