साम्बाको ‘रोनाल्डो’ सेलिब्रेसन ! – Nepal Press

साम्बाको ‘रोनाल्डो’ सेलिब्रेसन !

हेटौँडा । सन् २००२ को विश्वकप फुटबल विजेता बनेपछि ब्राजिलले सर्वाधिक विश्वकप फुटबल विजेताको रेकर्ड बनायो । ब्राजिल त विश्व फुटबलमा चर्चित नै थियो तर उसको टिमका जर्सी नम्बर ९ का स्टार खेलाडी रोनाल्डो उक्त समय थप चर्चामा थिए । उनको ‘हेयर स्टाइल’ विश्वका लाखौँ फुटबल फ्यानले कपि गरे । फ्यान मात्र हैन उनको जस्तै हेयर स्टाइल राखेर कयौँ फुटबलर मैदानमा देखा परे । रोनाल्डोलाई आदर्श मानेर फुटबल खेल्ने गरेको सयौँको कथा विश्वको मिडियामा आयो ।

त्यसयताको दशकमा फ्रान्सका थिएन हेनरी, इङ्ल्याण्डका डेभिड बेह्कम, ब्राजिलकै रोनाल्डिनो र हालका स्टार अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई आदर्श मानेर फुटबल मैदानमा ओर्लिएकाहरू धेरै छन् । ती मध्ये रोनाल्डोलाई आफ्नो आदर्श मानेर फुटबलमा होमिएका फ्रान्सका केलियन एमबाप्पे र मेसीलाई आदर्श मान्ने स्पेनका लामिल यमाल अहिलेका जल्दाबल्दा स्टार हुन् । उसो त ब्राजिलियन स्टार नेइमारले पनि मेसीलाई आफ्नो आदर्श भन्ने गरेको मिडियाहरूमा बेलाबेला आउने गर्दछ ।

विश्वमा सबैभन्दा लोकप्रिय खेल हो, फुटबल । अन्तर्राष्ट्रिय खेल मात्र नभएर क्लब फुटबललाई पनि विश्वका करोडौँ मानिसहरू प्रत्यक्ष या टेलिभिजन मार्फत हेर्ने गर्दछन् । इपीएल, लालिगा, बुन्डेसलिगा, सिरि ए, फ्रेन्च वान र पछिल्लो समय साउदी प्रो लिगको दर्शक नियमित करोडौँको सङ्ख्यामा छन् । यस बाहेक हरेक देशमा हुने उपल्लो डिभिजनको लिगमा पनि दर्शकको सङ्ख्या उल्लेख्य मात्रामा हुने गर्दछ । त्यसैले फुटबललाई खेलहरूको राजा भनिने गरिएको छ ।

पुरुष फुटबलको क्रेजमात्र हुने गरेको यो विधामा पछिल्लो समय महिला फुटबल तर्फ पनि आकर्षण बढेको पाइन्छ । यसको उदाहरण हेर्न ठुला घरेलु लिगलाई हेर्दा हुन्छ । इपीएल, लालिगा, बुन्डेस लिगा सहितका महिला लिगमा पछिल्लो समय दर्शकको उल्लेख सहभागिता हुने गरेको छ । यहाँ पनि आजकल करोडौँको मूल्यमा फुटबलर बिक्ने गरेका छन् र उनीहरूले पनि नाम र दाम दुवै कमाउने गरेका छन् ।

अब कुरा गरौँ नेपालको । नेपाली पुरुष फुटबलले निराशा मात्र दिइरहेको समयमा महिला फुटबल भने अन्तर्राष्ट्रिय जगतमा नाम कमाउन अभ्यस्त भएको छ । नेपाली फुटबल इतिहासमै युरोपेली ए डिभिजन फुटबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने खेलाडी बनेकी छिन साम्बा अर्थात् सावित्री भण्डारी । हाल फ्रेन्च वानको क्लबबाट फुटबल खेलिरहेकी साम्बा पनि पोर्चुगिज स्टार रोनाल्डोको हरेक पक्षलाई फलो गर्छिन् । रोनाल्डोलाई आदर्श मान्ने साम्बाले उनको ‘गोल सेलिब्रेसन’ लाई टपक्कै टिपेर मैदानमा खुसी मनाउँछिन् । यस्तै भयो साफ महिला च्याम्पियनसिपमा भारत विरुद्धको गोल गर्दाको क्षण ।

खेल रेफ्रीको गलत निर्णयले १ गोलले पछि परेको नेपालको तर्फबाट बराबरी गोल फर्काउँदा साम्बाले रोनाल्डो शैलीको सेलिब्रेसन गरिन । आफ्नो जर्सी खोलेर नाम र नम्बर अङ्कित टिसर्टलाई देखाउँदै उनले खुसी मनाइन । पेनाल्टी सुटआउटमा पनि पहिलो प्रहार गर्नु पूर्व उनको उभिने स्टाइल र गोलपछिको सेलिब्रेसन दुरुस्तै रोनाल्डोको झल्को दिने देखिन्थ्यो । खेलपछि उनको प्रतिक्रियामा पनि आफूले गोल गरेको अवस्थामा आदर्श खेलाडी रोनाल्डोको जस्तै खुसी मनाउने प्लान बनाएर मैदानमा आएको उनको भनाई थियो ।

खेलपछि पत्रकारहरूसँग उनले भनिन्, ‘मैले अगाडि गाडीमा पनि रोनाल्डोको खेल हेरेर आएको थिए । आज गोल गर्दा मेरो आइडल रोनाल्डोलाई नै सम्झेँ’

तनावग्रस्त खेलमा भारतजस्तो शक्तिशाली विपक्षी टिमलाई पराजित गर्नु र साफ च्याम्पियनसिपको पहिलो ताज जित्ने सपना नजिकै पुग्नुले अहिले नेपाली महिला फुटबल र साम्बा सेलिब्रेसनको चर्चा नेपालभर बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *