‘नेपालगञ्ज कनक्लेभ’ को दोस्रो संस्करण हुँदै – Nepal Press

‘नेपालगञ्ज कनक्लेभ’ को दोस्रो संस्करण हुँदै

दाङ । ‘नेपालगञ्ज कनक्लेभ’ को दोस्रो संस्करण आगामी मंसिर २०-२१ लाई तय गरिएको छ ।

धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदैआएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको छ ।

यसपटक आठ वटा सत्रमा छलफल गरिने नेपालगञ्ज कनक्लेभका निर्देशक जनक नेपालले जानकारी दिए ।

‘कनक्लेभमा स्थानीय सरोकारको मुद्दादेखि राष्ट्रिय महत्वका समसामयिक विषयमा बहस हुनेछ’, निर्देशक नेपालले भने, ‘गत वर्ष निकै गहन र अर्थपूर्ण बहसहरु भए । सोही सफलताबाट उत्साहित भएर यसपटक सत्रहरू बढाएका छौं ।’

यसपटकको कनक्लेभमा स्थानीय मुद्दाका रूपमा नेपालगञ्जको ऊर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ ।

‘बितेको वर्ष हामीले आँखै अडाडि जलवायु परिवर्तनका असरहरु देख्यौं । हिमतालहरु फुटे भने तराईमा पानीको सतह गहिरिँदै जानुका साथै गर्मी बढ्यो ।’

नेपालका अनुसार नेपालगञ्ज कनक्लेभको अर्को सत्र जलवायु परिवर्तनले निम्त्याउन लागेको संकट र अनुकूलनको रणनीतिमा केन्द्रित हुनेछ ।

यसैगरी, शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारबारे अर्को सत्र सञ्चालन हुनेछ । शिक्षामा सुधारमा स्थानीय सरकारले गर्नसक्ने र गरेका अभ्यासमाथि यो सत्रमा छलफल गर्ने तय गरिएको छ ।

नेपालगञ्ज कनक्लेभमा अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे गहन छलफल हुनेछ । सो सत्रमा नेपालले बर्षौदेखि भोग्दैआएको व्यापार घाटा कम गर्न र हाल निर्यात गरिरहेका वस्तुमा मूल्यवृद्धिका उपाएबारे छलफल हुने बताइएको छ ।

अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र संचालन हुनेछ । त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *