लुम्बिनीमा किसानका फूलले पाएन बजार, प्लाष्टिकको माला प्रयोगमा रोक लगाउँदै स्थानीय तह – Nepal Press

लुम्बिनीमा किसानका फूलले पाएन बजार, प्लाष्टिकको माला प्रयोगमा रोक लगाउँदै स्थानीय तह

रुपन्देही । लुम्बिनीका पुष्प किसान दोहोरो मारमा परेका छन् । एकातिर स्थानीय फूलले बजार पाउन सकेको छैन भने अर्कोतिर बजारमा प्लाष्टिकको फूलमाला र भारतीय फूलले स्थानीय पुष्प किसानहरु समस्यामा परेका छन् ।

लुम्बिनी प्रदेशका पालिकाहरुले फूलमा आत्मनिर्भर बनाउनेगरी विभिन्न योजना अघि सारेका छन्, तर खुला सिमाना, अनियन्त्रित बजारले समस्या परिरहेको पुष्प किसानहरु बताउँछन् ।

यसैबीच किसानका उत्पादन बिक्री वितरणमा सहज बनाउन प्रदेशका स्थानीय तहहरूले कृत्रिम माला विस्थापित गर्ने अभियान थालेका छन् । गत वर्ष पनि केही पालिकाले ‘प्लाष्टिकको कृत्रिम माला’ बिक्रीमा प्रतिबन्ध लगाएका थिए । सोहीअनुसार यस वर्ष पनि केही पालिकाले यसको अभ्यास गरेका छन् ।

लुम्बिनीका विभिन्न पालिकाले तिहारमा प्लाष्टिकजन्य फूलमालाको बिक्री वितरणमा प्रतिबन्ध लगाएर किसानलाई साथ दिन खोजेका छन् । ती पालिकाहरुले तिहार जस्ता चाडपर्वमा प्लास्टिकजन्य मालाको प्रयोगले वातावरणमा दीर्घकालीन असर पार्ने औंल्याएका छन् ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्न प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाइएको ती पालिकाहरुले जनाएका छन् ।

प्यूठानका तीन स्थानीय तहले चाडपर्वको समयमा प्लास्टिकजन्य फूलमालाको बिक्री वितरणमा रोक लगाएका छन् । जिल्लाका ९ पालिकामध्ये माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकाले सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न आग्रह गरेका छन् ।

स्वर्गद्वारीले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस् भनेर नगर क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले चालू आर्थिक वर्षमा विपन्न महिलाहरुका लागि फूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत तिहार लक्षित फूलखेती भइरहेको जानकारी दिए ।

उनले प्लास्टिकजन्य फूलमाला विस्थापन गर्ने पालिकाको नीति रहेको बताए ।

माण्डवी गाउँपालिका- ३ लामाचौरमा फूल खेती गर्दै आएकी चेतकला केसीले प्लास्टिकका फूल माला प्रयोगमा रोक लगाउने पालिकाको निर्णयले तिहारको मौलिकता जोगिने र कृत्रिम मालाहरूको प्रयोगमा समेत कमी हुने विश्वास व्यक्त गरे ।

बाँकेको कोहलपुर नगरपालिकाले पनि प्लाष्टिकका फूल गुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ। नपाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।

तिहार, छठलगायतका चाडपर्वमा प्लाष्टिकका फूल गुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका फूल गुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले आग्रह गरेका छन् ।

प्लाष्टिकका फूल गुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिने जस्ता समस्या देखिने गरेको उनले उल्लेख गरेका छन् ।

प्रशासकीय अधिकृत गिरीले कोहलपुर नपासहितका स्थानीय किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न अनुरोध गर्दै कोहलपुर बजारमा व्यापारीलाई समेत प्लाष्टिकका फूल गुच्छा तथा मालाको बेचबिखन गर्न रोक लगाइएको बताएका छन् ।

तिहारमा अधिकांशले यस क्षेत्रमा भारतबाट ल्याएका प्लाष्टिकका फूलका माला प्रयोग गर्ने गर्छन् । कोहलपुर नपाका विभिन्न स्थानमा स्थानीय किसानले उत्पादन गरेको सयपत्री, गोदावरी, मखमलीलगायत फूल उत्पादन भएकाले त्यसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले तिहार पर्वमा प्लास्टिकका माला बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नगरपालिकाले स्थानीय फूलहरूको प्रयोगलाई प्रोत्साहित गर्दै पर्यावरणमैत्री संस्कृति विकास गर्न र प्लास्टिकजन्य मालाको प्रयोगलाई निरुत्साहित गर्न यो कदम चालेको जनाएको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले भने, ‘यस निर्णयले तिहारको समयमा स्थानीय उत्पादन र फूल व्यवसायलाई पनि प्रोत्साहन दिनेछ ।’

मेयर छविलाल पौडेलका अनुसार नगरपालिकाले यो निर्णय कार्यान्वयनमा ल्याउन वडा कार्यालय, स्थानीय प्रशासन, प्रहरी र उद्योग वाणिज्य सङ्घलाई विशेष सहयोगका लागि अनुरोध गरिसकेको छ ।

पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ  । नपाले सूचना प्रकाशित गरी स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै नपाले बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । मेयर खेलराज पाण्डेयले विज्ञप्ती जारी गर्दै बुटवल उपमहानगरले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो ।

उपमहानगरले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघ, ब्यापार संघलाई अनुरोध समेत गरिएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास यी पालिकाले लिए पनि यसको पूर्ण कार्यान्वयन भने भएको पाइएको छैन । बजारमा विभिन्न पसलमा अहिले पनि प्लाष्टिकजन्य माला बिक्रीको लागि राखिएका छन् ।

लुम्बिनीका रूपन्देही, दाङ, कपिलवस्तु, बाँके, नवलपरासीसहित पहाडी जिल्लाहरूमा गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पामा फूलको व्यवसायिक खेती भैरहेको छ ।

वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने सरकारले निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर