महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव   – Nepal Press

महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव  

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकारले तत्काल अग्रसरता दिने

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र खस्किँदै गएको भन्दै त्यसलाई सुधार गर्न एमाले संवद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव बुझाएका छन् ।

एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आज प्रधामन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी अहिलेको अर्थतन्त्र सुधारका सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ नामक ४० पृष्ठ लामो सुझाव पेश गरेको हो ।

महासंघले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजीक्षेत्र र बलियो पूर्वाधार’ भन्ने नाराका साथ प्रधानमन्त्री ओलीलाई उक्त सुझाव पेश गरेको हो । महासंघका संयोजक भागिरथ सापकोटाले अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

साथै आफूहरुले सबै क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल गरी सबैको प्रतिनिधित्व हुनेगरी निजी क्षेत्रका सवाल तयार पारेको भन्दै त्यसलाई कार्यान्यन गर्न आफू मातहतका निकायलाई तत्काल निर्देशन दिन समेत महासंघले माग गरेको छ ।

महासंघले केही समय अघि निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट आएका निचोड र अहिले उद्योगी व्यवसायीले भोगिरहेका समस्यामा विषय तयार गरी प्रधानमन्त्रीलाई बुझाएको हो । जसमा उद्योग व्यवसायमा देखिएका समस्या र समाधानका उपाय, कर प्रणाली एवं राजस्व प्रशासन सुधारका विषय र सरकारले तत्काल र दिर्घकालीन रुपमा लिनुपर्ने कदमका विषयहरु उल्लेख गरिएको छ ।

विशेष गरी साना तथा मझौला रूग्ण उद्योगहरूको संरक्षण, लगानीको वातावरण सिर्जना गर्नु पर्ने आवश्यकता रहेको र ठूला उद्योगमा थप लगानीको वातावरण बनाइ पूँजी पलायनलाई रोक्नु आवश्यक रहेको कुरा सुझावमा समेटिएको छ । मुलुकमा औद्योगिक विकास भए मात्र रोजगारीको आधार सिर्जना हुने भन्दै यसलाई महासङ्घले मात्र होइन सरकार र आम जनताले समेत मनन गर्नुपर्ने सापकोटाले बताए ।

‘औद्योगीकरण रोजगार सिर्जनाको लागि मात्र होइन आर्थिक विकासको मेरुदण्ड पनि हो भन्ने विश्वव्यापी मान्यतामा सरकार र निजी क्षेत्र दुवैको समान मत छ,’ उनले भने, ‘यसले गर्दा उद्योगहरूको स्थापना र सञ्चालन गरी उत्पादित वस्तुहरूको घरेलु बजारमा गरिने ओसार–पसार, बिक्री–वितरण र बाह्य बजारमा गरिने निर्यातबाट राजस्वमा वृद्धि, विदेशी मुद्राको आर्जन तथा सञ्चिति, रोजगारी सिर्जना र मुलुकको आम्दानी अभिवृद्धि हुनेमा कुनै दुईमत छैन ।’

सोही अनुरुप अबका दिनमा सरकारले पनि उद्योगी व्यवसायीका समस्या समाधान गर्दै आर्थिक विकासका लागि नीतिगत सुरधार गर्नुपर्ने महासंघको सुझाव छ ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले अहिलेको अर्थतन्त्रप्रति चासो व्यक्त गर्दै सुधारका लागि सरकार दृढ भएर अघि बढेको बताए । साथै उक्त सुझाव बुझ्दै उद्योगी व्यवसायीका समस्या समाधानमा सरकारले तत्काल अग्रसरता दिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमालेको जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकाल, महासंघका इन्चार्ज रचना खड्का, महासंघका महासचिव बालकृष्ण शिवाकोटी, कोषाध्यक्ष डीमप्रकाश पौडेल, महासंघका सचिवालय सदस्यहरु र बस्तुगत संघका सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर