चतरामा स्टोन स्किपिङ प्रतियोगिता हुँदै – Nepal Press

चतरामा स्टोन स्किपिङ प्रतियोगिता हुँदै

विराटनगर । सुनसरीको वराहक्षेत्रमा कात्तिक १६ गते चतरा नहरमा स्टोनस्किपिङ च्याम्पियनसिप हुने भएको छ । चतरा हाइकिङ समूह र ग्रामीण पत्रकार समूहको संयुक्त आयोजनामा आगामी सोमबार प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नाराका साथ सो आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले आकर्षक नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

आयोजक समितिका संयोजक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ। उनका अनुसार चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ ।

विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको एक वर्ष भएको विष्टले दाबी गरे ।

विश्वव्यापी रूपमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर विश्व कीर्तिमान कायम गरेका छन् ।

चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने जानकारी दिए। गत वर्षको प्रतियोगितामा स्थानीय राहुल लिम्बू प्रथम, राजेन्द्र कार्की द्वितीय र सञ्चारकर्मी लक्ष्मण कटुवाल तृतीय भएका थिए ।

गत वर्ष एक सय जनाले सहभागिता जनाएको यस प्रतियोगितामा यस वर्ष सहभागीको सङ्ख्या बढ्ने आयोजकको अपेक्षा छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर