स्वर्णलक्ष्मीका २४ जनाविरुद्ध प्रहरीमा नयाँ मुद्दा, रविलाई पनि अनुसन्धानमा तानिने – Nepal Press

स्वर्णलक्ष्मीका २४ जनाविरुद्ध प्रहरीमा नयाँ मुद्दा, रविलाई पनि अनुसन्धानमा तानिने

गोर्खा मिडियामा प्रवाहित रकमको विवरण बुझ्न काठमाडौंको टोली पोखरा पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा तथा ऋण सहकारी संस्थाका नयाँ र पुराना गरी २४ सञ्चालक एवं व्यवस्थापकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत अनुसन्धानमा तानिन सक्ने मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको हो ।

स्वर्णलक्ष्मी सहकारीका विरुद्ध पीडितहरूले हालसम्म १ अर्ब ११ करोड १८ लाख ५८ हजार ३ सय ६३ रूपैयाँ बिगो दाबी गरेका छन् । काठमाडौं महानगरपालिकाले बनाएको छानबिन प्रतिवेदनमा २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रूपैयाँ कूल बिगो ठहर भएको थियो ।

जीवी राईको गोर्खा मिडिया प्रालिमा पनि यस सहकारीबाट नियमविपरीत करोडौं ऋण प्रवाह भएको थियो । रवि गोर्खा मिडियाको प्रवन्ध निर्देशक भएकाले उनी पनि अनुसन्धानमा तानिने प्रहरी स्रोतले बतायो । गोर्खा मिडिया नेटवर्कमा प्रवाहित रकमको विवरण बुझ्न अहिले काठमाडौं प्रहरीको एक टोली पोखरा पुगेको स्रोतले जानकारी दिएको छ । पोखरामा रहेका जीबी राईका अन्य सहकारीहरुसँग अन्तरसम्वन्ध भएकाले प्रहरी टोली त्यता पठाइएको हो ।

जाहेरीमा प्रतिवादी बनाइएका २४ जनालाई पक्राउ गर्नका निम्ति प्रहरीले गत शुक्रबारमात्रै जिल्ला अदालतमा पक्राउ अनुमतिका निम्ति प्रक्रिया शुरू गरेको छ ।

‘पक्राउ पुर्जी आएपछि सोधपुछ र थप अनुसन्धान हुन्छ’, परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘सञ्चालक र व्यवस्थापकबाट प्राप्त हुने सूचना एवं गोर्खा मिडिया नेटवर्कमा प्रवाहित रकमबारे पोखरा गएको टोलीले ल्याउने निष्कर्षपछि मात्रै थप कुरा भन्न सकिन्छ ।’

२०८० फागुनमा नै उक्त सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिँदा आफूहरूको बचत हिनामिना भएको भन्दै ६ सय ४५ वचतकर्ताले प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिन खोजेका थिए । त्यही समयमा लामिछाने दोस्रोपटक गृहमन्त्रीका रूपमा बहाल भए । बहालवाला गृहमन्त्रीसमेत घुमाउरोरूपमा जोडिनसक्ने भएकाले प्रहरीले उक्त जाहेरी लिन मानेन । यही बेला काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौर जिम्मेवारीबाट हटाइएका थिए ।

‘त्यसपछि पनि जाहेरी दर्ता गर्ने र नगर्ने विषयमा छलफलहरू चले’, अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृत भन्छन्, ‘त्यसै क्रममा सहकारी अनियमिततामाथि अध्ययन गर्न संसदीय समिति नै गठन भएकाले उक्त समितिको प्रतिवेदन आएपछि दर्ता गरौँ भन्दा ढिला भएको हो ।’

समितिको निष्कर्ष आउनासाथ पूर्वडीआइजी छविलाल बञ्जाडे जोशी र लामिछाने परे । त्यसपछि काठमाडौं प्रहरीले जाहेरी दर्ता गरेको हो ।

परिसरका प्रमुख एसएसपी पसन्त रजौरेले जाहेरी दर्ता भएको पुष्टि गर्दै भने, ‘हामी अनुसन्धानको पनि प्रारम्भिक चरणमा छौं, थुप्रै विवरण खुल्न बाँकी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *