‘बम’बारे गलत सूचना दिने गिरोहलाई कारबाही गर्न प्राधिकरणले गर्‍यो भारत सरकारलाई पत्राचार – Nepal Press

‘बम’बारे गलत सूचना दिने गिरोहलाई कारबाही गर्न प्राधिकरणले गर्‍यो भारत सरकारलाई पत्राचार

काठमाडौं । भारतीय जहाजमा बम राखिएको छ भनेर गलत सूचना दिने व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले कूटनीतिक तहबाट भारतीय सरकारलाई पत्राचार गरेको छ ।

यस अघि पहिलोपटक भारतीय जहाज भिस्तारामा बम राखिएको गलत सूचना आएलगत्तै प्राकिरणले कूटनीतिक तहबाट भारतीय सरकारलाई पत्राचार गरिसकेको प्राधिकरणका सूचना अधिकारीसमेत रहेका उपप्रबन्धक ज्ञानेन्द्र भुलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘केही दिनअघि भिस्ताराको जहाजमा बम राखिएको छ भनेर हल्ला फैलाइयो । पछि सुरक्षा निकायको टोलीले खोजी गर्दा भेटिएन । त्यसपछि प्राधिकरणले भारतीय सरकारलाई कूटनीतिक तहबाट गलत सूचना फैलाउनेलाई कारबाही गर्न भन्दै पत्राचार गरिसकेको छ । अहिले फेरि एयर इन्डियाकै हवाइजहाजमा बम राखिएको भनेर गलत सूचना आयो । फेरि पनि सुरक्षा निकायको टोलीले खोजी गर्दा भेटिएन । अहिले विमान र विमानस्थल सामान्य अवस्थामा आइसकेको छ ।’

उपप्रबन्धक भुलले नेपालको तर्फबाट केही नभएको तर, भारतीय सुरक्षाको पाटो भएकाले यो गलत हल्ला किन फैलिरहेको छ भनेर भारतीय सरकारले अनुसन्धान गर्नुपर्ने आवश्यकता खड्किएको छ । उनले गलत सूचना फैलाउन गिरोह नै सक्रिय भएको बताए ।

उनले भने, ‘भारतमा एउटा गिरोह गलत सूचना फैलाएर आतंकित बनाइरहेको छ । उनीहरुलाई पत्ता लगाएर सख्त कारबाही गरेपछि मात्रै हुन्छ । गलत सूचना दिने गिरोहलाई कारबाही गर्नुपर्छ भनेर फेरी पनि हामी कूटनीतिक पलहबाट पत्राचार गर्छौ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *