साफ महिला च्याम्पियनसिपमा घाइते तथा बिरामी पर्नेको निःशुल्क उपचार गरिने – Nepal Press

साफ महिला च्याम्पियनसिपमा घाइते तथा बिरामी पर्नेको निःशुल्क उपचार गरिने

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा घाइते तथा बिरामी पर्नेको निःशुल्क उपचार गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनसिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिँदै मन्त्रालयले यस्तो निर्णय गरेको जानकारी गराएका हुन् ।

खेलाडीको क्लोज क्याम्पस्थल पुगेर उनले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीलाई धन्यवाद पनि दिए ।

मन्त्री पौडेलले भने, ‘एन्फा पदाधिकारी र खेलाडीसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय भएको छ । तपाईंहरु उच्च मनोबलका साथ खेल प्रदर्शन गर्नुहोला । स्वास्थ्य समस्या परेमा हामी साथमा छौं ।’

खेलाडिको हौसला बढाउँदै स्वास्थ्य मन्त्री पौडेलले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टीमका सबै खेलाडिको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि जनाए ।

यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टीममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *