महिला टीमको बहादुरी, तर दर्शकको उग्रताले कुरीकुरी… – Nepal Press
ब्लग

महिला टीमको बहादुरी, तर दर्शकको उग्रताले कुरीकुरी…

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ । सेमिफाइनल ! जहाँ भारतविरुद्ध नेपाली खेलाडीले अविस्मरणीय खेल पस्किए । तनावपूर्ण खेलमा १० खेलाडीमा सीमित नेपाली खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरे । हारिसकेको खेलमा बराबरी गोल फर्काएर ट्राइबेकरमा भारतविरुद्ध जीत हासिल गरे ।

नेपाली खेलाडीको यस जीतलाई सिंगो देशले हर्षोल्लासका साथ मनायो । यो राष्ट्रिय हर्षोल्लासको पछिल्तिर विविध कारक चिजहरु छन् । निराशा र असन्तुष्टिहरुबाट गुज्रिरहेका नेपालीहरुमा यो जीतले जुन खालको सकारात्मक ऊर्जा ल्यायो, त्यो सञ्जीवनी बुटी जस्तै भइदियो । किनभने हरेक दिन नेपालीहरु नकारात्मक समाचारहरुले थिचिएर उकुसमुकुस थिए । हरेक दिन सञ्जाल स्क्रोल गर्नासाथ आइपुग्छ राजनीतिक खिचातानीका खबर । हरेक दिन आइपुग्छ, दलालद्वारा ठगिएका/बेचिएका निरीह नागरिकका दुर्दान्त कथाव्यथा ।

खबरहरुले भन्छन्, ‘देशमा गरिखाने अवस्था नभएपछि युवाहरुसँगै विदेसियो अर्बौं नेपाली रुपैयाँ ।’

डीभी भर्ने नेपालीहरुको संख्या, कोरियन भाषा पढेर मजदुरीमा जान तयार युवाहरुको संख्या, अमेरिकन एम्बेसीमा एक वर्षपछिको डेट कुरेर बसिरहेका ऊर्जाशील युवाहरुको कारुणिक बाध्यताको शृङ्खला लामै छ । नाबालक बच्चा, परिवार छाडेर मन नहुँदानहुँदै अरबतिर लागेका युवायुवतीहरुको गह्रौं मनको बहीखाता खोलौं त ! नेपालीहरुमा निराशा र असन्तुष्टिबाहेक अर्थोक के छ ? हरेक दिन ट्रेन्डिङमा रहन्छन् नकारात्मक ऊर्जा दिने खबरहरु ।

यी यावत् कारणहरुबीच नेपाली महिला फुटबलले उत्सव ल्याइदियो । सम्झिनुहोस् त, पछिल्लो ६ महिनामा सारा नेपालीसँगै तपाईं कहिले खुसी हुनुभएको थियो ? सरकार परिवर्तन हुँदा तपाईंमा कुनै खुसी सञ्चार भएन सायद । ठूल्ठूला नेताहरु भ्रष्टाचारमा मुछिँदा तपाईं खुसी हुनुभएन सायद । बरु आक्रोशित हुनुभयो, ‘यस्तै कारणले हाम्रो भविष्य बर्बाद हुँदै गएको हो ।’

तर पछिल्लो ६ महिनामा तपाईं दुइटा खबरले खुसी हुनुभएको छ । तपाईंलाई पक्कै याद होला, गत साउन १९ गते ! उक्त दिन काभा वुमन्स नेसन्स लिगअन्तर्गत भलिबलमा नेपालले भारतविरुद्ध ऐतिहासिक जीत हात पारेको थियो । नेपालले ३-२ को सेटमा जितेको उक्त रोमाञ्चक खेलपछि करोडौं नेपालीले हर्षोल्लास मनाएका थिए । सायद करोडौंभित्र तपाईं पनि एक हुनुहुन्थ्यो । म पनि थिएँ । यी दुवै खेल भारतविरुद्ध थियो ।

अर्को रमाइलो पक्ष के रह्यो भने यी दुई खुसीयालीमा नेपाली महिलाहरुको देन रह्यो । यो संयोगमात्रै होइन सायद । अनेक पारिवारिक, सामाजिक अड्चन छिचोलेर अगाडि बढिरहेको नेपाली महिलाहरुको प्रतिनिधि हस्तक्षेप पनि हो । समाज बदलिँदै गएको संकेत पनि हो ।

हरेक दिन आक्रोशित र निराश हुनुपर्ने परिवेशबीच महिला खेलाडीहरुले जुन खुसी नेपालीहरुलाई दिइरहेका छन्, त्यसको हरहिसाब इतिहासले राख्नेछ । उनीहरुले दिएको यो खुसी कति अनमोल हो, त्यो सारा नेपालीलाई थाहा छ । यो खुसीले भावनात्मक रुपमा कसरी सबैलाई एकै ठाउँ ल्याइदियो, जीतको खुसीयालीमा नचिनेको समर्थकलाई हग गर्ने समर्थकलाई थाहा छ ।

यी सब सकारात्मक पाटोका बीच नेपाली समर्थकहरुले हिजो रंगशालामा देखाएको व्यवहारले चाहिँ मलाई व्यक्तिगत रुपमा खिन्न तुल्यायो । जसरी समर्थकहरुले रेफ्रीलाई गाली गरिरहेका थिए, पानीका बोतलहरु रंगशालामा फ्याँकिरहेका थिए, त्यसमा पनि समीक्षा आवश्यक देखिन्छ ।

हुन त फुटबलमा समर्थकहरुले पानीका बोतल फ्याँक्नु नौलो घटना होइन । वेलावेला यस्ता घटनाहरु घटिरहन्छन् । कतिपय अवस्थामा यस्ता घटनाहरुलाई सामान्य रुपमा पनि लिइन्छ । दशरथ रंगशालामै २०७९ चैत २७ गते प्रधानमन्त्री थ्री नेसन्स कप हुँदा नेपाल र लाओसबीचको फाइनल खेलको अन्तिम समय तनावग्रस्त बन्न पुगेको थियो । नेपाली खेलाडी अञ्जन विष्टलाई लाओसका गोलकिपरले धकेलेसँगै स्थिति बिग्रन पुगेको थियो । यसपछि उग्र बनेका समर्थकले लाओसका खेलाडीमाथि बोतल प्रहार गरे । यसलाई रोक्न कप्तान किरण चेम्जोङले समर्थकसामु हात जोडेर शान्त भइदिन आग्रह गरेका थिए ।

गत असारमा मात्रै कोपा अमेरिकाको सेमिफाइनल खेलमा उरुग्वेका खेलाडीहरु कोलम्बियाका समर्थकविरुद्ध कुटपिटमा उत्रिएका थिए । यसपछि खेलकुदको माहोल एकाएक युद्धमा परिणत भएको थियो । यस्ता घटनाहरुको पछाडि फुटबल संसारकै लोकप्रिय खेल भएकाले पनि हो । फुटबलमा यस्ता घटनाहरु भइरहन्छन् ।

फुटबलमा जीतका लागि गोल महत्वपूर्ण हो । सँगै त्यो गोल कसरी र कति रोमाञ्चक तरिकाले गरियो, त्यो पनि उत्तिकै महत्वपूर्ण हो । नेपाल र भारतबीचको खेलमा १५ हजार क्षमताको रंगशाला भरिभराउ थियो । धेरै समर्थक त बस्ने ठाउँ नभएर उभिएका थिए । रंगशालामा देखिएको फुटबलको यो क्रेज दर्शनीय थियो । समर्थकहरुले नेपालको पक्षमा नारा लगाइरहेका थिए । नेपाल र भारतले केही अवसर सृजना गरे पनि पहिलो हाफमा दुवै टोलीले गोल गरेनन् ।

दोस्रो हाफको सुरुवातमै नेपाली खेलाडी रेखा पौडेल दोहोरो पहेंलो कार्ड खाएर मैदानबाट बाहिरिइन् । भुटानी रेफ्री ओम चुकीको अपरिपक्वता र त्यसप्रति नेपाली टीमको कडा प्रतिक्रियाले दुर्घटनाको जोखिम निम्त्याएको थियो । यद्यपि फुटबलमा रेफ्रीकै निर्णय अन्तिम हुन्छ ।

दोस्रो हाफमा रेफ्रीले सन्तुलित भूमिका निभाउन नसक्दा नेपाली टीमले कडा प्रतिरोध जनायो । जसकारण १ घण्टा ६ मिनेटसम्म खेल अवरुद्ध भयो । पौडेलले पहेंलो कार्ड खाएपछि आक्रोशित बनेर रेफ्रीलाई टच गरिन् । फुटबलमा यस्तो कार्यलाई निकै संवेदनशील रुपमा लिने गरिन्छ ।

रेखा बाहिरिनु परेपछि समर्थक दीर्घामा निराशा र आक्रोश छायो । होहल्ला सुरु भयो । समर्थकले मैदानमा बोतल फ्याँक्न सुरु गरे । ‘रेफ्री आउट’ भनेर चर्को नारा लगाउन सुरु गरे । स्वयं पौडेलले आक्रोशित समर्थकलाई नमस्ते गरेर शान्त रहन आग्रह गरिन् । आक्रोशित समर्थक नभड्किऊन् भनेर स्पोर्टम्यानसिप देखाइन्, तर समर्थकहरु शान्त भएनन् । यस्तै यस्तै वेला त खेल भावना देखाउनुपर्ने !

यो समय यस्तो थियो कि हामी धेरै नै लहैलहैमा लाग्दा रहेछौं । एक जनाले नारा लगाउन सुरु गर्छ । छेवैमा अर्को समर्थक शान्त बसिरहेको हुन्छ । ऊ केहीबेर अर्को समर्थकले लगाएको नारा सुनिरहन्छ, तर विस्तारै अरु मान्छे पनि कराउन सुरु गर्छन् । त्यसपछि शान्त बसिरहेको उक्त समर्थक पनि चिच्याउन सुरु गर्छ । चिच्याउँदै कुर्सीबाट उठ्छ । अनि उत्तेजित हुँदै धारे हात लाउन सुरु गर्छ । एक जनाले कुर्सी बजाउन सुरु गर्छ । उसैगरी शान्त बसिरहेकाहरु आआफ्ना कुर्सीहरु ठटाउन सुरु गर्छन् ।

समर्थकहरु खेल भावना बिर्सेर ‘अन्ध समर्थक’ बनिरहेका थिए । यही क्रममा ७२ औं मिनेटमा सबैलाई स्तब्ध पार्दै भारतले एक गोलको अग्रता लियो । यसपछि झनै नाटकीय दृश्य देखियो । भारतीय खेलाडीहरुले गोलको ‘सेलिब्रेसन’ गरिरहँदा रेफ्रीले हतारमा खेल सुचारु गर्न सिठ्ठी फुकिदिइन् । नेपाली खेलाडी प्रीति राईले खाली पोस्टमा गोल गरिन् ।

दुवै पक्ष तयारी अवस्थामा रहेको वेलामात्रै खेल सुचारु गर्नुपर्ने जिम्मेवारी रेफ्रीलाई थियो, तर उनको अपरिपक्व निर्णयले रंगशालामा तनाव सृजना गर्‍यो । उक्त गोलमा भारतीय खेलाडीहरुले विरोध जनाए । रेफ्रीले मान्यता दिइनन् । यसपछि नेपाली खेलाडीले गोलको मान्यता पाउनुपर्ने अडान लिए । खेल एक घण्टा बढी रोकियो ।

समर्थकहरुले रेफ्री र विपक्षी खेलाडीहरुविरुद्ध पानीका बोतलहरु प्रहार गरिरहे । बोतलले लाग्ने डरले लामो समयसम्म भारतीय खेलाडीहरु मैदानको बीचमा उभिइरहेका थिए । जुन ठाउँमा आफ्नो खेल कौशल देखाउनुपर्ने हो, त्यही स्थानमा आफू असुरक्षित महसुस गर्दा भारतीय खेलाडीहरुले के सोचे होलान् ! अतिथिलाई सत्कार गर्नुपर्छ भन्ने नेपाली समाज रौद्र बन्दै थियो ।

खेलको अन्तिम निर्णय रेफ्रीले नै गर्छन् । रेफ्रीले गलत गरेको भए फिफामा उजुरी गर्नुपर्ने ठाउँ छ । रेफ्री गलत भए कारबाहीमा पर्छिन्, तर सञ्जालमा रेफ्रीमाथि तुच्छ गालीहरु बर्सिरहेका थिए । समर्थक जसरी नै खेलाडीहरुले पनि उग्र बनेर खेल परित्याग गरेको भए भारतलाई विजेता घोषणा गरिन्थ्यो । विजेता घोषणा गर्न रेफ्रीले जोखना हेरिरनु पर्दैन । यसो हुँदा नेपालको फाइनल सम्भावनामात्रै टर्दैनथ्यो, भविष्यमा कारबाहीको भागीदार पनि बन्नुपर्थ्यो ।

१० खेलाडीमा सीमित नेपाली खेलाडीहरुले जस्तो खेल पस्किए, सारा नेपाली साक्षी छन् । नेपाल र भारतबीचको खेल नेपाली खेलकुद इतिहासको दरिलो दस्तावेज बनेको छ । नेपाली खेलाडीहरुले जुन किसिमको रोमाञ्चकारी यात्रा गरे, त्यो यात्रा सारा नेपालीको मनमनमा बसेको छ । नेपाली खेलाडीहरुले जुन खुसीयाली करोडौं नेपालीलाई दिए, इतिहासले सम्झिरहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *