‘तिहार’लाई ‘दीपावली’मा खुम्च्याउने टुक्रे मनोविज्ञान !
एउटा ठूलो चाड दसैँ सकिएको छ । अब हाम्रो घरआँगनमा अर्को ठूलो चाड यमपञ्चक अर्थात् तिहार आइपुगेको छ । कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि सुरु भई कात्तिक शुक्ल पक्षको द्वितीयामा सम्पन्न हुने पाँच दिनको यो चाड संसारका सबै हिन्दूहरूले बडो भव्यता, आत्मीयता र महत्वका साथ मनाउने गरिन्छ । नेपाली समुदायले मनाउने तरिका र अन्य समुदायले मनाउने तरिकामा भने एकरूपता छैन । हाम्रो नेपाली परम्परामा दसैँ र तिहार दुबैलाई रामको विजयको कथासँग जोडिँदैन, तर अन्य हिन्दूहरूले बडादसैँको विजया दशमीलाई रावण वधको सन्दर्भ र तिहारको (यमपञ्चक) औंसीको दिन गरिने दीपावलीलाई रावणको वध गरी लङ्का विजय गरेका राम अयोध्या पुगेको सन्दर्भसँग जोड्ने गर्दछन् । दसैँ ‘सत्ययुग’को सन्दर्भलाई नेपाली विशेषतासँग जोडिएको पर्व हो भने तिहार (यमपञ्चक) वैदिककालको सन्दर्भको पर्व हो ।
यमी (यमुना) का दाजु यम आफ्नी बहिनी यमीका घरमा बसेको पाँच दिनलाई यमपञ्चक भन्ने मान्यता रहेको छ । यी पाँच दिनलाई नेपाली जनजिब्रोले तिहार भन्ने गरेको छ । कतिपय विद्वानहरूका अनुसार तिहार भनेको हिन्दीमा भनिने त्योहार-त्यौहारको अपभ्रंश हो । त्योहारको अर्थ पर्व वा उत्सव हो । संस्कृतमा ‘पर्व’ शब्दले जोड्ने अर्थ पनि राख्दछ । यो यमपञ्चक वा तिहार पर्वले दाजुभाइ-दिदीबहिनीलाई जोड्छ अर्थात् सम्बन्धलाई थप आत्मीय, सुमधुर र सुदृढ बनाउँछ भन्ने आसय वहन गरेको छ ।
समग्रमा तिहारका यी पाँच दिन मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण विषय सूचना, स्वास्थ्य, सुरक्षा, इमानदारी, श्रम, एकता, पवित्रता, घनिष्टता, धनधान्य, सम्पन्नतासहितको उज्यालो पर्व हो भन्ने बुझ्न सकिन्छ । यसमा खेलिने जुवा मनोरञ्जनका लागि मात्र हुनुपर्नेमा ऋणको भारले बिल्लीबाँठ हुने चलन मानिसको कमजोरी हो । यसबाट जोगिन र पर्वको सांस्कृतिक अन्तरवस्तु अँगाल्नुमै सबैको भलाइ छ ।
तिहारको विशेषताको सन्दर्भ केलाउँदा नेपाली जातिबाहेक संसारको अन्य कुनै जातिले भैलो-भैलिनी, देउसी खेलेको कतै देख्ने सुन्ने गर्नुभएको छ ? छैन । नेपालीहरू भैलो, देउसी खेल्ने गर्छन् । तिहारको टीका लगाएर लामो समय नओइलाउने मखमली फूलको माला लगाइदिने प्रचलन पनि अन्यत्र देखिँदैन ।
कतिपय विद्वानहरूका अनुसार तिहार भनेको हिन्दीमा भनिने त्योहार-त्यौहारको अपभ्रंश हो । त्योहारको अर्थ पर्व वा उत्सव हो । संस्कृतमा ‘पर्व’ शब्दले जोड्ने अर्थ पनि राख्दछ । यो यमपञ्चक वा तिहार पर्वले दाजुभाइ-दिदीबहिनीलाई जोड्छ अर्थात् सम्बन्धलाई थप आत्मीय, सुमधुर र सुदृढ बनाउँछ भन्ने आसय वहन गरेको छ ।
कतिपय आधुनिक बन्न खोज्ने, तर वास्तविकता पटक्कै नबुझेका मानिसहरू पाँच दिनको तिहारलाई एक दिन (औंसी-सुखरात्रि) गरिने दीपावली भनेर शुभकामना दिन्छन् । जे गरिन्छ सिङ्गो पर्वको नाम नै त्यही राख्नु उचित हुन्छ र ? हुँदैन । किनभने तिहारमा ‘भैलो, भैलिनी वा देउसी’ खेलिन्छ । के हाम्रो चाडको नाम नै ‘भैलो, भैलिनी वा देउसी’ राखिएको छ ? छैन । चाडपर्वहरूमा विभिन्न क्रियाकलाप गरिन्छ, चाडको नाम नै कुनै क्रियाकलापको नाममा नामकरण गरिएको हुँदैन । जस्तैः दसैँमा पिङ खेलिन्छ, चङ्गा उडाइन्छ, सरायँ खेलिन्छ, बलि दिइन्छ, मासु खाइन्छ, रोटी खाइन्छ, जमरा लाइन्छ । होली-फागुमा रङ खेलिन्छ । तीजमा नाचगान गरिन्छ । माघे सक्रान्तिमा तरुल खाइन्छ, खिच्रो खाइन्छ, घिउ चाकु खाइन्छ, तर यी पर्वहरूको नाम नै ती ती क्रियाकलापको नाममा नामकरण गरिन्छ वा गरिएको छ त ? छैन । एउटा चाडलाई स्थान, प्रकृति, परम्परा, प्रचलनअनुसार विभिन्न क्रियाकलाप गरेर मनाइन्छ र समग्रमा नाम एउटै हुन्छ अर्थात् मासु खाने, पिङ खेल्ने, रङ खेल्ने, चङ्गा उडाउने, रङ दल्ने, भैलो खेल्ने आदि भनिँदैन ।
पछिल्लो समय नेपाली समाजका केही मानिसहरू पुर्ख्यौली शब्द प्रयोग गर्न छोडेर ‘सभ्य र आधुनिक’ बन्न खोजिरहेको देखिन्छ । पर्व, प्रचलनमा सुधार नगर्ने, शब्द फेर्ने काम भइरहेको छ । उनीहरूलाई लाग्दो हो, पुराना कुरा छोडेपछि नयाँ भइन्छ र नयाँ भएपछि सबै राम्रैराम्रो मात्र हुन्छ । बडादसैँलाई विजया दशमीमा सीमित गर्नु, तिहारलाई दीपावलीमा खुम्च्याउनु यसका केही उदाहरण हुन् । हो, पर्व नै त्यत्तिमा सीमित पार्न खोजिएको हो भने फरक ढङ्गले बहस गर्न सकिन्थ्यो-सकिन्छ ।
पर्वहरू धर्मसँग सम्बन्धित, प्रकृतिसँग सम्बन्धित, इतिहाससँग सम्बन्धित हुन्छन् र छन् । यिनीहरू प्रचलन-चलनचल्तीमा जीवित हुन्छन् । यिनीहरूका भिन्नाभिन्नै मर्म र सन्देश हुन्छन् । हामी त ‘शुभकामना’ भनिदिन्छौं र यसैलाई सन्देश मान्छौं । दसैँको शुभकामना, होली-फागुको शुभकामना, हरितालिका तीजको शुभकामना, उँधौली-उँभौलीको शुभकामना, ईदको शुभकामना, बुद्ध पूर्णिमाको शुभकामना, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना, नारी दिवसको शुभकामना, शिक्षक दिवसको शुभकामना, शिक्षा दिवसको शुभकामना आदि । यिनै र यस्तै हुन् हाम्रा शुभकामना सन्देशहरू, तर हामीले शुभकामना दिइरहेको विशेष दिनको सन्देश के हो ? ती पर्वले हामीलाई दिने प्रेरणा के हुन् ? यतातिर खासै ध्यान दिइएको देखिँदैन । सन्देशविहीन सन्देशको के अर्थ हुन्छ ?
पछिल्लो समय नेपाली समाजका केही मानिसहरू पुर्ख्यौली शब्द प्रयोग गर्न छोडेर ‘सभ्य र आधुनिक’ बन्न खोजिरहेको देखिन्छ । पर्व, प्रचलनमा सुधार नगर्ने, शब्द फेर्ने काम भइरहेको छ । उनीहरूलाई लाग्दो हो, पुराना कुरा छोडेपछि नयाँ भइन्छ र नयाँ भएपछि सबै राम्रैराम्रो मात्र हुन्छ ।
हुँदाहुँदा शुभकामना दिँदा पनि फलानो समुदायलाई शुभकामना रे ! बुद्धको सन्देश बौद्ध धर्मावलम्बीलाई मात्र हो ? शान्ति, करुणा, अहिंसा, अष्टाङ्गमार्ग अरुका लागि उपयोगी छैन ? त्याग, कठोर व्रत र ईद (इदी-दान) को शुभकामना मुस्लिमहरूलाई मात्र लागू हुने हो ? सनातन संस्कृतिका जीवनोपयोगी अभ्यासको निरन्तरता र सन्देशहरू हिन्दूका लागि मात्र हितकर छन् ? प्राकृतिक अवस्थाअनुसार आफूलाई व्यवस्थित गर्ने र प्रकृति निर्भरताको विषय कुनै खास जाति, समुदायका मानिसका लागि मात्र उपयोगी छ ? गाईजात्राले दिने सन्देशको दायराभित्र कुनै एउटा जाति, समुदाय, भूगोलमा मात्र सीमित गर्नुपर्छ र ? पर्दैन । अन्य पर्व, राष्ट्रिय-अन्तर्राष्ट्रिय दिवसहरू पनि खास सन्दर्भबाट विकास गरिए, प्रचलित हुँदै आए । सम्बन्धित खोजकर्ता, संरक्षण र संवर्द्धनमा संलग्नहरूप्रति आभार र सम्मान प्रकट गर्नु हामी पछिल्लो (अहिलेको) पुस्ताको कर्तव्य हुन आउँछ । ‘अर्थ नपाई गोविन्द गाई, कपाल दुखेको ओखती …मा लाई’ भने जस्तो गर्नु त विज्ञानसम्मत हुँदैन नि !
यहाँ तिहार सन्दर्भमा सानो विमर्श गरौं । कुनै पनि चाडपर्व मनाउँदा ध्यान दिनुपर्ने पक्ष संस्कृति हो । संस्कृति भनेको सुधारिएको, परिमार्जन गरिएको परम्परा हो । जतिसुकै राम्रो भए पनि समयसापेक्ष भएन भने त्यो परम्परामा टाक्सिन्छ । त्यही परम्परालाई सुधार गरियो भने मात्र संस्कृति बन्दछ । संस्कृतिको आमस्वीकृति सभ्यताको रूपमा चिनिन्छ ।
तिहार हाम्रो संस्कृति निर्माण र सभ्यताको ज्यादै महत्वपूर्ण कोसेढुङ्गा हो । त्यसैले यसलाई ‘दीपावली’ मात्र बुझ्नु वा भन्नु टुक्रे मनोविज्ञानको टुक्रे अभिव्यक्ति हो । यहाँ तिहारको वैदिक प्रसङ्गलाई टिपिएको छ । कसै-कसैले यसलाई वेदको निन्दा गर्ने सन्दर्भ सामग्रीको रूपमा दुरुपयोग गर्न सक्छन् भने समाज विकासको बारेमा सही जानकारी राख्न चाहनेहरूले परिवर्तनको शृङ्खलाको रूपमा सकारात्मक हिसाबले ग्रहण गर्नेछन् ।
तिहारको सन्दर्भको मूल जरो यम र यमी (यमुना) को संवाद ऋग्वेदमा रहेको छ । ऋग्वेदकालीन समाजमा वा त्यस परिवारमा दाजु-बहिनीबिच वैवाहिक सम्बन्धको अपेक्षा रहने गरेको देखिन्छ । सिङ्गो समाजमा थियो कि त्यो त्यस परिवारको वा तिनीहरूको मात्र हो, स्पष्ट छैन, तर यम र यमीको संवादको निष्कर्षका रूपमा आएको यो सभ्य सम्बन्ध हाम्रो सभ्यताको विकासमा निकै ठूलो महत्वको देखिन्छ ।
हामीले पनि भावी सन्ततिका लागि केही गर्नैपर्छ भन्ने युगीन दायित्वबोध गर्न पनि हामीले प्राचीन-पुर्ख्यौली परम्पराबाट चलिआएका प्रवन्धहरूको ससम्मान स्मरण गर्न आवश्यक हुन्छ ।
ऋग्वेदको दसौं मण्डलको दसौं सूक्तमा रहेको त्यो संवादमा चौध ऋचा-मन्त्र छन् । ऋग्वेदको दसौं मण्डलको पहिलो सूक्तमा रहेको यम र यमीको संवादमा यस्तो लेखिएको छ:
‘ओ चित् सखायं सख्या ववृत्यां तिरः पुरू चिदर्णवं जगन्वान् । पितुर्नपातमा दधीत वेधा अधि क्षमि प्रतरं दीध्यानः
अर्थात् हे यम ! विशाल आकाशको एकान्त स्थानमा म तिमीसँग साथीका रूपमा मिलन चाहन्छु । डुँगा जस्तो भएर संसार रूपी समुद्र तर्न पिताका नातिका रूपमा हाम्रा असल सन्तान उत्पन्न गराउन हामी परस्पर सङ्गत होऔं भन्ने विधाताको इच्छा छ ।’
बिचका मन्त्र-ऋचाहरूमा यमीको आग्रह र यमको अस्वीकृतिका विषयमा संवाद रहेको छ । अन्त्यमा ऋग्वेद दसौं मण्डल, दसौं सूक्तको चौधौं मन्त्रको रूपमा रहेको यस कथनपछि संवाद टुंगिएको छ:
‘अन्यमूषु त्वं यम्यन्य उ त्वां परिष्वजाते लिबुजेव वृक्षम् । तस्य वा त्वं मन इच्छा स वा तवाधा कृणुष्व संविदं सुभद्राम् ।
अर्थात् हे यमी ! तिमीसित यस कुरा जानकारी छ भने तिमी पनि अर्कै पुरुषलाई रुखलाई लहराले बेरे झैं आश्रय लिएर पतिका रूपमा स्वीकार गर । आपसमा एकले अर्कालाई मन परेको व्यवहार गर र त्यसैबाट मङ्गलकारी सुख प्राप्त गर ।’
यी सन्दर्भहरूलाई ध्यान दिँदै अहिले प्रचलित तिहार हेर्दा यहाँदेखि सामाजिक अवस्थामा ठूलो परिवर्तन प्रारम्भ भएको मान्न सकिन्छ । तिहार दाजुभाइ-दिदीबहिनीबीच पवित्र, सुमधुर, आत्मीय सम्बन्ध स्थापना भएको र त्यसप्रति प्रतिबद्धताको निरन्तरताका लागि सुरु गरिएको महान चाड हो । मात्र ‘दीपावली’ले यति धेरै विविधता र महत्वलाई सम्बोधन गर्न सक्दैन ।
हामीले कुनै पर्वका माध्यमबाट यी विषयको सम्झना राखेनौं भने पुर्खाले आफ्ना पछिल्ला सन्तानका लागि गरेको योगदान मेटिनेछ । अहिले संसार बन्नमा पुर्खाको योगदान मेटिनु राम्रो मान्न सकिन्न । अर्को, हामीले पनि भावी सन्ततिका लागि केही गर्नैपर्छ भन्ने युगीन दायित्वबोध गर्न पनि हामीले प्राचीन-पुर्ख्यौली परम्पराबाट चलिआएका प्रवन्धहरूको ससम्मान स्मरण गर्न आवश्यक हुन्छ । पर्वहरूले हामीलाई यस्तो शिक्षा दिइरहन्छन् र आनुवंशिक स्मरणशीलता कायम राख्न मद्दत गर्दछन् ।
(कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)
शिर्षक नै काफी छ ।