भक्तपुरका प्रजापति समुदाय भन्छन्- प्लटिङ र घरहरूले सबैतिर ढाक्यो, भाँडा बनाउन माटै पाउन छाड्यो (भिडिओ) – Nepal Press

भक्तपुरका प्रजापति समुदाय भन्छन्- प्लटिङ र घरहरूले सबैतिर ढाक्यो, भाँडा बनाउन माटै पाउन छाड्यो (भिडिओ)

काठमाडौं । तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ ।

माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ । माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको प्रजापती समुदायको भनाइ छ ।

शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको बताए । उनले पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री ग्रिरहेको बताए ।

उनले विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको बताए । उनले पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको बताए ।

उनले माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्ने गरेको बताए । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने बताए ।

पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झनुहुन्छ हरिओम प्रजापती । बुढा भएका आमा, दिदिबिहिनीसँग पैसा नहुँदा साग, लसुनसँग भाँडा साटेको स्मरण गर्दै जोसँग जे अन्न वा अन्य कुराहरु हुन्थे त्यही लिएर भाँडा दिने गरेको उनले बताए । अहिले माटो पाउन कठिन रहेको उनको भनाइ छ ।

अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने बताउँछन् । उनले पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको बताए । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उनलाई लागत मूल्य नै नउठ्ने चिन्ता भने छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उनको भनाइ छ ।

अरु बेला सिजनअनुसारले सामानहरु विक्री हुने गरेको उनले बताए । खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावाहर विक्री हुने गरेको बताए । माटो पकाउनका लागि इन्धन (दाउरा)को अभाव रहेको बताए ।

माटोको भाँडा बनाउँदै आउनुभएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आएका छन् । पहिला वर्षहरु भन्दा यस वर्ष माटोका भाँडाहरुको माग घटेको उनको भनाइ छ । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उनको अनुमान छ ।

प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उनको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *