धनतेरसमा असर्फी जोड्नेको लाम (तस्बिरहरू)
काठमाडौं । तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्रीवितरण शुरू गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले आज धनतेरसको दिन असर्फी बिक्री गरिरहेको छ ।
टक्सार विभागमा असर्फी किन्न बिहान ५ बजेदेखिकै सर्वसाधारणको लाम छ । विभागको गेटबाट घुमेर लाइन बिजुली बजारको पुलसम्मै पुगेको छ । सुन र चाँदीको सिक्का किन्नेको फरकफरक लाइन गरिएपनि मूल गेटबाट प्रवेश अव्यवस्थित हुँदा यहाँको माहोल अस्तव्यस्त छ ।
नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले वर्षेनी दशैँ र तिहारमा असर्फी र चाँदीको सिक्का बनाउँदै आएको छ ।
चाँदीको १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन भने आइतबारदेखि नै बिक्री थालिएको थियो ।
चाँदीको लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका सिक्काको मूल्य २ हजार २ सय तोकिएको छ । गाई मेडालियन १० ग्रामको २ हजार २ सय तथा २५ ग्रामको ५ हजार ५ सय तोकिएको छ ।
राष्ट्र बैंकले २.५ ग्रामको असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रूपैयाँ तोकेको छ । सूचना अधिकारी डिल्लीराम पोखरेलले एकजनाले एउटामात्रै असर्फी किन्न पाउने बताए ।