अकबरे खुर्सानीमा अब्बल पाल्पाको रिब्दीकोट, एक वर्षमै भित्रियो ६ करोड – Nepal Press

अकबरे खुर्सानीमा अब्बल पाल्पाको रिब्दीकोट, एक वर्षमै भित्रियो ६ करोड

रुपन्देही । किसानले खेती गर्न छाडेको पाल्पाको रिब्दीकोट गाउँपालिकाका जमिनमा अहिले विस्तारै हरियाली छाएको छ । परम्परागत कृषिबाट अपेक्षाकृत आम्दानी नभएपछि गाउँ तथा कृषि नै छाडेर अन्य पेशामा लागेहरुसमेत अहिले खेतीकिसानीमै फर्किएका छन् । उनीहरुले धमाधम अकबरे खुर्सानी खेती गरेका हुन् ।

गाउँपालिकाले लगानीसँगै उत्पादनको न्यूनतम मूल्य तोकेर बजारको ग्यारेन्टी गरेपछि यहाँका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । केही सामूहिक र अधिकांशले व्यक्तिगत रुपमै अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन् ।

पालिकाको कृषि शाखाको तथ्यांकअनुसार यस वर्ष अकबरे खुर्सानीको बेचबिखनबाट ६ करोड रकम भित्र्याउने लक्ष्य राखिएकोमा साढे ४ करोड बराबरको बिक्री भइसकेको र बाँकी डेढ करोडभन्दा बढी किसानकोमा उत्पादन भइरहेको छ ।

गाउँपालिकाले प्रोत्साहन गरेपछि वडा नं ३ का रामप्रसाद न्यौपानेले आफ्नो सबै बारीमा अकबरे खुर्सानी रोपेका छन् । उनको वडालाई पालिकाले खुर्सानी पकेट क्षेत्रसमेत घोषणा गरेको छ । बाँदर र बँदेललगायतका वन्यजन्तुले अन्य खेती खाएर हैरान पारिरहेको बेला किसानलाई खुर्सानी खेतीतर्फ लाग्न सहज भएको छ ।

रिब्दीकोटमा मात्र ३ हजारभन्दा बढी रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । अर्को वर्ष अझै बढ्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार यहाँ १ हजार ७६ जना किसानले अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन् ।

पालिकाको वडा नं ७ मैनादीका जनक आचार्य पेसाले शिक्षक हुन् । विद्यालयको समयपछि उनी बिहान र बेलुकाको समयमा बारीमा भेटिन्छन् । पालिकाले व्यवसायिक परियोजना नथाल्दै उनले अकबरे खुर्सानी खेती गरेका थिए । उनले अरुको जग्गासमेत भाडामा लिएर अकबरे खुर्सानी खेती गर्दै आएका छन् । जसबाट वर्षमा १५ लाखभन्दा बढी कमाइ हुने उनी बताउँछन् ।

प्रतिरोपनी ६०० रुपैयाँमा जग्गा लिजमा लिएर खुर्सानी खेती गरेको उनको भनाइ छ । ‘पहिलो वर्ष १३५ रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेको थिएँ । खेतीबाट राम्रो पैसा कमाउने गरेको छु । हरेक वर्ष आम्दानी बढेको छ’, आचार्यले भने ।

आचार्य जस्तै वडा नं १ का शिक्षक यमबहादुर पालुङ्गे स्थानीय भगवती प्राविमा अध्यापन गर्छन् । उनी पनि खुर्सानीको व्यवसायिक खेतीमा लागेका छन् । गत वर्ष थोरै खेतीबाट धेरै आम्दानी पाएपछि अहिले ४ हजार बेर्ना थपेको उनको भनाइ छ ।

सोही वडाका चिरञ्जीवी पाण्डे सरकारी कर्मचारी हुन् । उनी पनि खुर्सानी खेतीमा आम्दानी देखिएपछि अहिले व्यवसायिक रुपमा लाग्ने योजनामा छन् ।

रिब्दीकोट- ५ कुसुमखोलाका सीता आचार्यले गएको वर्ष खुर्सानी खेतीबाटै १ लाख रुपैयाँ कमाएको र यो वर्ष बढेको बताइन् ।

रिब्दीकोटका सबै वडामा अकबरे खुर्सानी उत्पादन हुन्छ । पालिकाको कृषि शाखाकी पूजा लाम्टाङ्गेले यहाँको ८० प्रतिशत खेतीयोग्य जमिनमा यही खेती भइरहेको बताइन् ।

‘पालिकाले रुपन्देहीमा रहेको यशोदा फुडसँग यहाँ उत्पादन भएको सबै अकबरे खुर्सानीको न्यूनतम मूल्यमा दिने सम्झौता गरेको छ । निःशुल्क रुपमा बीउ वितरण, मागका आधारमा अन्य सहयोग पनि पालिकाबाट हुँदै आएको छ’, उनले भनिन् ।

उनका अनुसार गाउँपालिकाले पुँजीगत बजेटको करिब २५ प्रतिशत रकम छुट्याएको छ । रिब्दीकोट साविकका ८ वटा गाउँ विकास समिति ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक मिलाएर बनेको हो ।

पहाडी क्षेत्रमा मुख्य समस्याको रुपमा रहेको बाँदर, बँदेल र दुम्सीले नोक्सानी नगर्ने भएपछि खुर्सानी खेतीमा आकर्षण बढेको अकबरे खुर्सानी उत्पादन अभियान चलाएका पालिकाका पूर्वअध्यक्ष नारायण जीसी बताउँछन् ।

‘२०७४ सालमा पालिकामा निर्वाचित भएपछि ८ वटै वडाका अध्यक्षहरुसँग परम्परागत कृषिलाई फेरेर कसरी किसानलाई आकर्षित गर्ने भन्ने धेरै अध्ययन गरियो, पहिलो नम्बरमै अकबरे र कुरिलो खेती थाल्न अध्ययन सुरु भयो र धेरै ठाउँको अध्ययनपछि २०७६ देखि पालिकाले योजना अघि सारेर काम थालेका हौं, अहिले यो उपलब्धि हुँदा निकै खुसी लागेको छ’, उनले भने, ‘पहाडमा परम्परागत कृषिबाट लगानी उठाउन सम्भव नै थिएन, किसानलाई आकर्षण गर्न, बाँझो जमिन प्रयोग गर्न सुरुमा २८ स्थानमा पालिकाले नर्सरी राखेर किसानलाई बेर्ना दिएका थियौं, पहिलो वर्ष नै सवा करोडको कारोबार भएपछि ऊर्जा थपियो, यो हरेक वर्ष बढ्दै गएको छ ।’

उनले आफू पनि किसान भएकाले उत्पादनसहितको राजनीति गर्न अकबरे खुर्सानी खेतीमा लागेको बताए ।

गाउँपालिकाको अभियानमा हेफर इन्टरनेशनलले आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा)ले रिब्दीकोट कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत किसानलाई सहयोग गरेको बजार विकास सहजकर्ता रामु न्यौपाने बताउँछन् ।

पालिकामा लामो समय कर्मचारीको रुपमा काम गरेका रञ्जित कुँवरले किसानले उत्पादन गरेको अकबरे खुर्सानी संकलन केन्द्र खोलेका छन् । आफ्नो केन्द्रबाट यो वर्ष पौने ३ करोडको खुर्सानी बिक्री भइसकेको उनले बताए ।

‘लागत मूल्य धेरै नलाग्ने र एक पटक लगाएपछि अन्य समयमा अरु तरकारीमा जस्तो मेहनत नलाग्ने भएकाले र बजारको ग्यारेन्टी भएकाले किसानको आकर्षण बढेको छ’, उनले भने ।

यस वर्ष खुर्सानी उत्पादन गर्ने किसानलाई न्यूनतम २२० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने सम्झौता भएको र बजारमा २६० रुपैयाँमा बिक्री भइरहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की बताउँछन् ।

‘सम्झौताअनुसार न्यूनतम २२० रुपैयाँ यशोधा फुडले दिने हो, बजारमा बढ्दा बढ्छ, अहिले २६० का दरले बिक्री भएको छ, किसानले त्यही मूल्यमा दिइरहेको अवस्था छ’, उनले भने ।

उनका अनुसार आउने वर्षका लागि किसानबाटै बीउ उत्पादन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर