‘उज्यालो नेपाल’ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको टेवा, यस्ता छन् अहिलेसम्मका उपलब्धि – Nepal Press

‘उज्यालो नेपाल’ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको टेवा, यस्ता छन् अहिलेसम्मका उपलब्धि

४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण, ३६ लाख ५० हजार घरधुरीमा नवीकरणीय ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विविध कार्यक्रमसहित २८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाउँदै केन्द्रलगायत सम्बन्धित निकायसँग समन्वयको अनुरोध गरे ।

नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै खड्काले आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताएका छन् ।

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पुर्‍याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई उनले आग्रहसमेत गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी गराए ।

वार्षिकोत्सव समारोहमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी गराए । केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको तथ्यांकसहितको प्रगति प्रतिवेदन ढकालले पेश गरेका थिए ।

देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन् । ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहले रक्तदान पनि गरेका थिए ।

नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको थियो । जसमा लघु तथा साना जलविद्युततर्फ तारा खोला जलविद्युत लिमिटेड, बागलुङ्ग, सौर्य ऊर्जातर्फ सूर्योदय ऊर्जा प्रालि, जैविक ऊर्जातर्फ जन्दादेवी नेपाल ऊर्जा र दुम्कीबास पोल्ट्री फार्म प्रालि, नवलपरासीलाई पुरस्कृत गरिएको छ ।

२० वर्षदेखि अनवरत् सेवा गरेकी केन्द्रकी प्रशासकीय अधिकृत सृजना पाण्डेलाई दीर्घ सेवाको मूल्यांकनसहित सम्मान गरिएको छ ।

 

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालद्वारा वार्षिकोत्सवमा प्रस्तुत प्रगति विवरण-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *