को हुन् नेपालमा अलोकप्रिय बनेकी भुटानकी फिफा रेफ्री ओम चोकी ? – Nepal Press

को हुन् नेपालमा अलोकप्रिय बनेकी भुटानकी फिफा रेफ्री ओम चोकी ?

काठमाडौं । आइतबार सम्भवतः नेपाली खेल इतिहासमा सबैभन्दा लामो खेल भयो दशरथ रंगशालामा । रेफ्री ओम चोकीका पटकपटकका विवादास्पद निर्णयले यस्तो हुन पुगेको थियो । नेपालले भारतलाई टाइब्रेकरमा जिते पनि जीतको उत्साहसँगै रेफ्री ओम चोकीको आलोचना पनि उत्तिकै भएको छ ।

अहिले सामाजिक सञ्जालमा त्यसका बाछिटाहरु छ्यालब्याल छन् । नेपाली मिडियाहरुमा मात्रै होइन, बंगलादेशी मिडियाहरुमा पनि ओम चोकीको निर्णय विवादास्पद भएका समाचार प्रकाशन भएका छन् । भारतीय मिडियाहरुले भने खासै विवादका कुरामा ओम चोकीलाई दोष दिने गरेर लेखेका छैनन् ।

भुटानमा ग्रासरुट्सभन्दा माथिका एक दर्जन हाराहारी रेफ्रीमा सबैभन्दा ठूलो सम्मान ओम चोकीको छ । उनी भुटानको प्रथम फिफा महिला रेफ्री भएको भुटानी समाचार पोर्टल बिजनेस भुटान डट बिटीले उल्लेख गरेको छ ।

३२ वर्षकी चोकीको गृहनगर मध्य भुटानको वाङ्दुई हो । उनी सन् २०१७ बाट फिफा रेफ्री नियुक्त भएकी हुन्, तर उनको रेफ्री अनुभव भने विद्यालयकालबाटै भएको उनले बिजनेस भुटानलाई बताएकी छन् ।

चोकीले आफू रहरले रेफ्री बनेको नभएर शारीरिक शिक्षा पढाउने शिक्षकले आधारभूत रेफ्री कक्षा लिन आग्रह गरेपछि यसमा जोडिएको बताएकी छन् । आधारभूत तालिम लिएपछि विद्यालयस्तरको राष्ट्रिय खेलमा रेफ्री बन्न आग्रह गरिएपछि लगाव बढेको उनको भनाइ छ ।

औपचारिक शिक्षा वाणिज्य र वित्तमा गरेकी चोकीले एएफसी अन्डर- १४ को रेफ्री गर्न यस अगाडि नेपाल आएकी थिएइन्, तर त्यो समयमा उनको विवाद भएको थिएन ।

फिफाको रेफ्री हुन दशक लागेको भन्ने चोकीले आफ्नो कामको चुनौती चैँ खेलाडीहरुले रेफ्रीहरुको विपक्षमा जानेलाई लिँदै बिजनेस भुटानसँग पाँच वर्ष अगाडिको एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘यो सामान्य कुरा हो । अन्तर्राष्ट्रिय टुर्नामेन्टहरुमा पनि यस्तो हुन्छ ।’

अन्तर्राष्ट्रिय टुर्नामेन्टहरुमा विवाद हुनु सामान्य भन्ने चोकीको विवाद पाँच वर्षपछि नेपालमा हुन आयो । यो विवाद कति सामान्य हो, कति असामान्य हो भन्नेबारेमा भने उनले कुनै सार्वजनिक टिप्पणी गरेको सार्वजनिक भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *