जसले थाहै नपाइ किवी खेती थाले…
डोटी । ‘मलाई किवी कस्तो हुन्छ, यो कसरी फल्छ, यसको फल कस्तो लाग्छ, कहिले फल्ला भन्ने कुनै जानकारी थिएन, एक जनाले किवी खेती गरे मनग्य आम्दानी हुन्छ भन्नु भयो, सुरु गरेँ । विस्तारै किवीको बारेमा बुझ्दै र सिक्दै गएँ, जे होस् म किवी खेतीबाट सन्तुष्ट छु ।’
डोटी दिपायल सिलगढी नगरपालिका-६ का युवा हेमबहादुर मल्लले विद्यालय उमेरदेखि नै आफ्नै बारीमा केही गरेर जीवन निर्वाह गर्ने सोच बनाए ।
उनीसँगका धेरै साथीहरु रोजगारीका लाग भारत गए तर उनी भने तरकारी खेतीतर्फ लागे । तरकारी खेतीबाटै गुजारा चलाइरहेका हेम २०७२ सालतिर किवी खेतीतर्फ मोडिए ।
‘तत्कालीन जिल्ला कृषि विकास कार्यालयका एक कर्मचारीले नौ बोट किवी आएको छ, लाउँछौ ? भनेर सोध्नुभयो’, हेम भन्छन्, ‘मैले उहाँलाई किवीको बारेमा सोध्दा उहाँले अंगुर जस्तो झाङ्ग हुन्छ, रोपेको करिब चार वर्षपछि फल दिन्छ भन्नु भएको थियो । उहाँले किवीको फल धेरै महङ्गो हुन्छ, पन्ध्र सय रुपैयाँ किलो बिक्री हुन्छ भनेपछि मैले किवी खेतीमै लाग्ने निर्णय गरेँ ।’
नौ बोटमा सवै बचेन, तर बचेका बोटहरु बिस्तारै झाङ्गिदै गए । किवीका बोट झाङ्गिदै गएपछि तरकारी खेती गर्ने जमिन मासिदै गयो । जति जति किवीको झाङ्ग बढ्दै जान्छ, हेमलाई किवी खेतीप्रतिको मोह पनि बढ्दै जान्छ ।
किवी फल्नेछ, बजारमा महङ्गो बिक्री हुनेछ भन्ने सपना बुन्दै गए । बोटहरु झाङ्गमा परिणत हुँदै गर्दा हेमलाई आफ्ना सपना फक्रिदै गरेको लाग्थ्यो ।
‘किवीको झाङ्ग बढेपछि तरकारी खेती गर्ने ठाउँनै रहेन, त्यसपछि आमाले गाली गर्नु भयो’ हेम ति दिनहरु सम्झिदै भन्छन् ‘कम्तीमा तरकारीबाट त घर खर्च चलेको थियो, त्यो पनि बन्द भयो भन्दै आमाले गाली गर्नु भयो, आमालाई त यो किवी फल्ला भन्ने विश्वासै थिएन ।’ आमाको गाली सहँदै किवी हुर्काए हेमले । जिल्लामै पहिलो पटक किवी खेतीमा लागेका हेमको अनुभव गज्जबको छ ।
उनी थप्छन्, ‘किवीको बोट लाएपछि ५० वर्षसम्म फल दिन्छ भन्ने सुनेपछि बुढेसकालको सहारा यही किवी हुन्छ भनेर सुरु गरेँ ।’
चार बर्षपछि दुई चार दाना मात्रै किवी फल्यो तर हेमलाई यो कसरी पाक्छ भन्ने थाहा छैन । उनले कृषि प्राविधिकहरुसँग पनि सोधपुछ गरे तर कसैले चित्त बुझाउन सकेनन् । उनले किवी खेतीको विषयमा अध्ययन गर्न खोजे कतै सामग्री भेटाएनन् ।
तत्कालीन जिल्ला कृषि विकास अधिकृत यज्ञराज जोशीसँग अध्ययन सामग्री उपलव्ध गराई दिन आग्रह गरे हेमले । जोशीले कताकता खोजेर दुई पेजको अध्ययन सामग्री उपलब्ध गराइ दिए ।
सोही सामग्रीबाट किवीको महत्व, खेती गर्ने तरिकाका विषय थोरै ज्ञान पाए उनले । किवीको फल चाखेपछि मात्रै हेमकी आमालाई बिश्वास भयो, यो पनि फल रहेछ भन्ने ।
‘मलाई दाई योगेश र बैनी विष्णुले सुरुदेखि नै साथ दिए, हौसला पनि दिए’ हेम भन्छन् ‘त्यतिबेला तरकारी खेतीबाट ६०/७० हजार आईरहेको थियो, त्यो पनि बन्द भएपनि केही समय आमा रिसाउनु भयो ।’
हेम अचेल जिल्लाभरी धेरै किसानले किवी खेती गरिरहेको देख्दा खुशी हुन्छन् ।
‘अहिले त प्रविधि छ, प्राविधिक छन्, अनुदान छ, त्यसैले पनि धेरै गर्न सकिन्छ’, उनी भन्छन्, ‘पेट पाल्नकै लागि अर्काको देशमा गएर दुःख गर्नु भन्दा आफ्नै माटोमा नङ्ग्रा खियाउनु राम्रो हुन्छ ।’
हेमले किवी खेतीसँगै अलैंची खेती गर्ने सोच वनाएका छन् । लगानीको कमी भएका कारण उनी त्यसो गर्न सकिरहेका छैनन् ।
‘लगानी भईदिएको भए अलि ठूल्ठूला पोल हालेर किवीको झाङ्गलाई माथी उठाउँथे, मुनितिर अलैची खेती गर्थे’ उनी भन्छन् ‘मैले अलैचीको पनि परीक्षण गरिसकेँ, यता राम्रै फल्ने रहेछ ।’
किवी र अलैची खेतीका लागि मल आवश्यक भएपछि हेमले आफैं बाख्रा पाल्न सुरु गरेका छन् । उनी रसायनिक मलको प्रयोग गर्दैनन् खेतबारीमा, भन्छन् ‘विषादी प्रयोग गरेर उत्पादन गरेको सामग्री त बजारमा आएकै छ नि ! जैविक मलको प्रयोग गरेर विषादीमुक्त उत्पादन उपभोक्तालाई दिन खोजेको हुँ मैले ।’ उनी बाख्राबाट पनि केही आम्दानी हुने र मल पनि बन्ने बताउँछन् ।
उनी युवाहरुलाई विदेश जाने चक्करमा नलाग्न आग्रह गर्छन् । ‘अर्काको देशमा गएर कष्टपूर्ण जीवन बिताउनु भन्दा आफ्नै देशमा परीश्रम गरेर सम्मानपूर्वक बाँच्न सकिन्छ’, उनी भन्छन्, ‘यो देशमा केही छैन भन्ने भ्रम सिर्जना गर्ने काम हुँदैछ, तर परीश्रम गर्नेमा लागि धेरै कुरा छ हाम्रो देशमा ।’