कालो डायरी झैं हराएको तिहारको महफिल
बहुदलको पारिलो घाम दहीचोकमा पनि लाग्न थालेको थियो । पञ्चायतको पञ्जामा निमोठिएको बतास पनि उन्मुक्त भएर बेसरी चल्थ्यो । ३ दशक निसासिएका विद्रोहहरु मादल, कङ्गु र गितारबाट छरिएका धुनहरु बस्तीतिर पोखिइरहँदा हामी जीवनको पहिलो दशकमा खेल्दै गरेकालाई प्रलय रमाइलो लाग्थ्यो ।
तिहारमा ‘देउसी रे’ खेल्न सिक्नुअघि नै संघर्ष, पसिना, श्रम र श्रमिकका भाका बुनिएका गीतमा थप्पडी बजाउन सिकिएछ, तर गीतको मर्म बुझेर होइन, रमाइलो लागेर । आखिर चुरोटको पहिलो सर्को जस्तै भयो त्यो रमाइलो । रमाइलो रमाइलोमै अम्मल लाग्ने । रमाइलो, रमाइलोमै रमाइलो लागिरहने बानी पर्यो ।
हाम्रै सिकुवा र पिँढीमा हुने तिहार नाचको रिहर्सलमा रातभरि ताली ठोकाई हुन्थ्यो । सबै त याद भएन, कङ्गुमा प्रदीप खनाल, बाँसुरीमा विष्णु कटुवाल, मादलमा गणेश बुढाथोकीलगायत । दुई थान गितार पनि थिए । ६० को दशकका पहिला केही वर्षसम्म हाम्रै ग्वालीको सिलिङमा अपमानित भएर निष्प्राण थिए तिनीहरु । ५० को दशकका देउसी नाचमा ती गितार खुबै झङ्कृत भए, तर खै कसका औंला नाच्थे तिनका तारहरुमा ? सम्झनाका तारहरुबाट खुस्किसकेछन् । यादै भएन ।
लाजै लाग्थ्यो, हेर्थें भुईंतिर
तारा-बबिता, देवी-लक्ष्मीदेवीलगायतका दिदीहरु चाहिँ नाच्ने र गाउनेहरुका मध्यम पुस्ता । नाच्ने पछिल्लो र गाउनेहरु अघिल्लो छिमलका थिए । बाजा बजाउनेहरु सबैजसो पुरुष । बाजा बजाउने एउटाले ताल बिर्संदा नाच्न गोडा उचालिसकेका संगीता शिवाकोटी, राजु निरौला, सुशीला निरौला, कविता गुरागाईंहरु थचक्क बस्थे । मन्दिरा, कोपिला दिदीहरु पनि बेलाबेला मिसिए झैं लाग्छ । जे होस्, मैनटोलको मधुरो प्रकाशमा पनि चहकिलो हुन्थ्यो दहीचोक यमपञ्चकमा । मीना, खिना, चन्द्राहरुले पनि जनवादी देउसीमा खुट्टा नचाए, कम्मर मर्काए । विमल नेपाल-शिव नेपाल काका-भतिज नाचगानमा रौसे । दलहाङ-इन्द्रमती नेम्वाङ दाजुबहिनीहरु पनि व्यवस्थापकीय पक्षमा जुट्ने । नीलकण्ठ बा, प्रेम मामा, गेउरियाका पेरु र दिदीहरु अरु पनि धेरै थिए सम्झनैपर्ने नामहरु, तर यो इतिहास लेखन होइन, सरकारी अभिलेख होइन । अपूरा र अधुरा सम्झना र योगदानहरुलाई समेट्ने ढोका खुलै छ । झण्डै ५० जनाको टोलीमा मिसिएर तीन गाउँ जुट्थ्यो देउसी नाचको तयारीमा । कोजाग्रत पूर्णिमादेखि थालिएको तयारीले यमपञ्चक आउँदा-नआउँदासम्म दर्जनौं कलाकार उत्पादन गर्थ्यो ।
जनवादी गीत गाएर फरिया-चौबन्दी अनि दौरा र स्टकोट लगाएर नाचेकै कारणमात्र जनवादी होइन । तयारीमा सबै एकसाथ जुट्ने, तयारी र देउसीका बिचमा खाना आफैं बनाउने, भाँडा आफैं धुने, खानाका लागि चामल देउसीमै उठ्थ्यो । दाल र साग घरघरबाटै ल्याउने ।
न क्यासेट चक्का न त माइक बाजा । बेनु शिवाकोटी, निर्मला शिवाकोटी, ईश्वरी अधिकारीलगायतहरुसँगै बाजा बजाउने-नाच्ने सबैको स्वर मिसिएर गुञ्जिन्थ्यो, ‘आमा, दिदीबहिनी हो…, साल घारीमा सालको पात सुकेर, बसाइ हिँड्नेको ताँतीले, सारङ्गी बजाउँदै गाउँदै, तलतल मैदानैमा धानको बाला । कङ्गु र मादल ठोक्नेका हात रिहर्सलकै बिचमा पट्पटी फुट्न थालेका हुन्थे । जानी-नजानी शिकारुले सघाउनु पर्थ्यो । त्यस छिमलको अलिक फुच्चो भएकाले मैले धेरै नाच्ने मौका त पाइनँ, तर हाम्रा घरमा रिहर्सलका बेला आमा-हजुरआमाले पकाइदिएका रातो चिया कित्लीबाट बाँड्ने जिम्मा हुन्थ्यो ।
नाचगान सकेपछि टोलीका सबै मिसिएर गोलो घेरा बनाई आशिक गुञ्जिन्थ्यो, ‘आशिक दिन्छौं तपाईंहरुलाई, सुख, शान्ति हजुर जिन्दगीभरिलाई…।’ त्यस बेला चाहिँ लजाई लजाई, भुईंतिर निहुरिएर सार मिलाइयो । ‘सारङ्गी बजाउँदै गाउँदै-गीत सुनाउँदै, आइपुगें मुग्लानमा मनको बह बिसाउँदै’ गीतमा चैँ मूल नृत्यकारलाई केही घरमा सघाइयो ।
खोलाको गीत-जनवादी देउसी
धेरै वर्ष त होइन ४-५ वर्ष चल्यो जनवादी देउसी र नाचगानको सिलसिला । जनवादी गीत गाएर फरिया-चौबन्दी अनि दौरा र स्टकोट लगाएर नाचेकै कारणमात्र जनवादी होइन । तयारीमा सबै एकसाथ जुट्ने, तयारी र देउसीका बिचमा खाना आफैं बनाउने, भाँडा आफैं धुने, खानाका लागि चामल देउसीमै उठ्थ्यो । दाल र साग घरघरबाटै ल्याउने । अभ्यासहरु पनि जनवादी छनककै थिए ।
ती देउसे नाचमा कुनै साल लीला पनि नाच्यो, कुनै साल कृष्ण पनि मिसियो । सानी सानी भए पनि लक्ष्मी पनि नाचिन् कोही बेला, दाजु देवी पनि हुन्थे त्यस बेला । रत्नपुर, रामुटोल, खँदाल (खनाल) गाउँ, लखनपुर, दहीचोक, गेउरिया, बाह्रकोटी गाउँ घुम्दा साता बित्थ्यो । बिहान घरघरमा चिउराका फाँका हानेर निस्किएको देउसे टोलीलाई मध्य दिन वा आधा रातमा गाउँका माझमा पर्ने घरमा भतेर तयार हुन्थ्यो । उम्लिँदाउम्लिँदैको दाल होस् वा साग, पौडी खेलिरहेको झोल, रित्तिएको पेट र थाकेका गोडा ऊर्जाकृत पार्न काफी थिए । अघिल्ला सालको देउसीबाट खरिदिएका २५ थान ‘जनता थाल’ले एकसाथ सबैलाई कहाँ पुग्नु र ! नपुग्दा पालो पर्खिनुभन्दा मन मिल्दाहरु एउटै थालमा पनि खान्थे, सिकसिको मान्नेहरु आफैं थाल धुन दगुर्थे ।
उम्लिँदाउम्लिँदैको दाल होस् वा साग, पौडी खेलिरहेको झोल, रित्तिएको पेट र थाकेका गोडा ऊर्जाकृत पार्न काफी थिए । अघिल्ला सालको देउसीबाट खरिदिएका २५ थान ‘जनता थाल’ले एकसाथ सबैलाई कहाँ पुग्नु र ! नपुग्दा पालो पर्खिनुभन्दा मन मिल्दाहरु एउटै थालमा पनि खान्थे, सिकसिको मान्नेहरु आफैं थाल धुन दगुर्थे ।
सांस्कृतिक भने पनि, जनवादी भने पनि मुखाग्रे गीतमा गननन रन्किने बाजामा उफ्रिएका गोडा महिना दिनपछिको देउसी विसर्जनमा पाइने सेरामिकका प्लेट वा कुटवाला कापीले झनै फुर्ती भएर नाचौं नाचौं पार्थे । बहुदलको उदयसँगै शुरु भएको गीतियात्राले गाउँभरिका खाट भेला पारेर बनाइएको स्टेज र घरघरका तन्ना बेरेर टाँगिएको पण्डालमा नाटक पनि देखायो । लालटिन र मैन्टोलको कमसल प्रकाशमा पनि ती नाटकहरु सामाजिक विभेद, अपमान, व्यभिचारविरुद्ध चर्कोसँग विद्रोह बोल्थे । अम्बिका भण्डारी बाको मिल छेउको चौरीमा हिउँदे शीतको वेपर्वाह मध्यरातसम्म पर्दाहरु खुल्ने र बन्द हुने सिलसिला चलिरहन्थ्यो ।
त्यो कालखण्ड छोटै थियो, त्यसैले त त्यस कलाको लयमा त्यो पुस्ताले जरा गाड्न नपाई तितरबितर भयो । जीविका र गुजाराका परिवन्धहरुले त्यो सृजनशील पुस्तालाई छरपष्ट पारिदियो, नसँगालिने बिस्कुन जस्तै । नसमेटिने पानी जस्तै । खोलाको गीत जस्तै नसुनिने कथा बन्यो त्यो जनवादी कालखण्ड दहीचोकका लागि । ती देउसी खेलेर जम्मा भएको दक्षिणाबाट जोडिएका किटे कराइ ३ दिनसम्म गोबर पकाएर सच्याइएको थियो । खै त्यो फुट्यो कि छ ? वरिपरि बुट्टा भएका २५ थान स्टिल थाल र उस्तै गिलासमा ‘जनता’ लेखिएको थियो, जनताको सम्पत्तिको रुपमा दर्ज गरेर । जनताका बिहे, भोज, भतेरमा दगुर्ने ती थाल-गिलास पनि रद्दीमा मिल्किए क्यार ! कङ्गुको तालु फुटेको, मादलको भुँडी उध्रिएको, गितारको करङ छिनेको त उहिल्यै हो । ती गीत गाउने स्वरहरुमा बुढ्यौलीको कम्पन शुरु भइसक्यो । कैयौं तेस्रो पुस्ता हुर्काउँदै अवकाश जीवनको संघारमा होलान् । मादल, गितार र कङ्गुमा रन्किने हातहरु बाथले थल्यायो होला ! केही त यस लोकबाटै बिदा भए । बहुदलको आलोकमा सांस्कृतिक चेतनाको बेर्ना सार्ने त्यो जनवादी देउसी अहिले खोलाको गीत जस्तै भइसक्यो, गाए पनि हुने, नगाए पनि केही छैन । सुने पनि मूल्य हुने, नसुने पनि कर छैन । त्यही जगमा हुर्किएर ५० को मध्यपछि उदाएको अर्को पुस्ताको तिहार अबको पालोमा ।
फेरियो शैली, फेरिए भाका
बहुदलपछिको पहिलो पुस्ताले बाजा-स्वर र नृत्यसहितको ‘लाइभ देउसी’ को बिँडो धेरै समय धान्न सकेन । कोही पार्टीका विभिन्न मोर्चामा स्थापित भए । कसैलाई गृहस्थीको साङ्लोले बाँध्यो । कोही रोजीरोटीको चक्करमा मुङ्लानिया भए । मादलको खरी झर्नु र गितारको तार छिन्नुअघि नै त्यो पुस्ता गीतियात्राको म्याराथनबाट निजी जीवनमा ‘सिफ्ट’ भयो । गीतियात्राकै बिचमा हुर्किएको नाट्य अभ्यास र अभिलाषाबारे त कुनै दिन कुरा गरौंला ।
अघिल्लो पुस्ताले स्याहार्न नभ्याएका वाद्ययन्त्रहरु हाम्रै ग्वालीको सिलिङमा निःशब्द रहे केही वर्ष । त्यही बिचमा हुर्किंदै थियो दोस्रो पुस्ता । बहुदलीय पुस्ताले जन्माएको ‘हिमाली युवा क्लब’ पनि शैशवकालको कोक्रोमै थियो । जन्मिएका केही वर्षदेखि नै स्याहार नपाएर सुकेनास लागेको थियो । मणि भण्डारीलगायतको अघिल्लो ऊर्जाशील पुस्ताको त्यो समूहको नेतृत्व हामीले लियौं । डिल्ली आचार्य दाइले इगल कापीमा राखेको लेखा अभिलेखसहित ‘जनता’ का थाल-गिलास, किटे कराइसहितको नेतृत्व हामीमा आयो ।
बहुदलको उदयसँगै शुरु भएको गीतियात्राले गाउँभरिका खाट भेला पारेर बनाइएको स्टेज र घरघरका तन्ना बेरेर टाँगिएको पण्डालमा नाटक पनि देखायो । लालटिन र मैन्टोलको कमसल प्रकाशमा पनि ती नाटकहरु सामाजिक विभेद, अपमान, व्यभिचारविरुद्ध चर्कोसँग विद्रोह बोल्थे ।
त्यसपछि बिँडो थाम्न भनेर सुरिएको पुस्ताले अघिल्लो पुस्ताका भाका र शैलीलाई (मात्र) आत्मसात गर्न सकेन । प्रविधिमा पनि रुपान्तरण आइसकेको थियो । साइकलको पछाडि ट्युबले बाँधेर १२ भोल्टको ब्याट्रीमा चिम्टा जोडेपछि क्यासेटले गीत गाइहाल्ने जमानाले दोस्रो पुस्तालाई होलो बनायो । ३ रुपैयाँ गोटाले छानीछानी गीत डबिङ गरेर रिलवाला क्यासेट तयार पारियो । सिला धान बेचेका पैसाले हाम्रो पुस्ताका धेरैले घरघरमा क्यासेट प्लेयर जोडेको थियो । चक्का नयाँ किन्नु नपर्ने, डबिङ गरे पुग्ने ! मोहन गाउँले बाको पक्की भुईंमा रिहर्सल गर्दा क्यासेटले रिल तानेर हैरान । ‘हेड’ सफा गर्ने भन्दै रुमालमा थुक लगाएर लीला तयार रहन्थ्यो । कुनै बेला त तानिएको रिल निकाल्दानिकाल्दै चुँडिने । त्यसपछि चुँडिएको भाग काटेर पैसा टाल्ने टेपले जोडेर बजाउँदा गीतको बिच भाग नै गायब !
‘मुग्लिनपारि तरेर गण्डकी, फूलको थुङ्गा हौं कि, टिकुली है मेरो टलटल, नौरथको दियोवाती….’ भाकासम्म देउसी चल्यो । पछिल्लो पुस्ताले मात्रै होइन, उनीहरुको रोजाईका भाकाले पनि थकाई मारे । दोस्रो पुस्ताले रोजेका गीत र भाकाप्रति पहिलो पुस्ताका कतिपयको मन दुखाई पनि भयो । दाजु-बहिनी, दिदी-भाइ भएर बिहे गर्ने, सिन्दूर भर्ने, चुरा लगाउने गीतमा नाँच्ने भनेर, तर दोस्रो पुस्ताले बल मिच्याइँ गर्यो । ती मन दुखाईको उपचार जरुरी ठानेन/थिएन । नाचगान र देउसी केही वर्ष चल्यो । ५० को मध्यपछि ६० को शुरुवाती केही वर्षसम्म यो क्रम चल्यो । त्यसपछि त उही हो पारा, पहिलो पुस्ताको जस्तै । अध्ययन, गृहस्थी, जीवन निर्वाह आदि आदि ।
देउसीको पैसाले के गर्ने ?
दोस्रो पुस्तामा केही समकालीन र केही भाइ-बहिनीहरुसहित देउसीको तयारी गरियो, तर नाच कसले सिकाउने ? अड्कोपड्को तेलको धुपका रुपमा हामी एकसेएक कोरियोग्राफर । नाच्नै लजाउने मैलेसम्म नाच्न सिकाउन भ्याएँ भनेपछि कसरी सिकिएछ ?
केही हास्य गीतहरुमा खेम गुरागाईंले खेम शर्माको झल्को मेटिदिए । राजन पोखरेल पनि केही आँगनमा उफ्रियो । त्यस बेला डोमा, दुर्गा, अघिल्लो पुस्तामै नाच्न भ्याएकी चन्द्रालगायत मुख्य नृत्यकार थिए । लीलाले पहँंलो कोट ढल्काउँथ्यो, ‘फूलको थुङ्गा हौ कि’मा । धरणी पनि कम्मर बाङ्गो पार्थ्यो, ‘मुग्लिनपारि तरेर गण्डकी’मा । त्यसबेला नाचमा सँगै हिँड्ने तारा कहिल्यै नअस्ताउने तारा भइसकी । डोमाहरुको नाम फेरियो रे ! नेतृत्व र व्यवस्थापनमा लाग्ने विष्णु, म, लीला, देवी, डिल्ली, मदन, कृष्ण, कमल अरु अरु पनि थिए कति साथीहरु । पारि गाउँकी तारा, माथ्लो गाउँकी सेमन्ताहरु पनि कोरियोग्राफीमा सघाउँथे । दौंतरीहरु अरु अरु पनि थिए, तर अहिले सबै पारिवारिक बन्दोबस्तीमा । त्यो पुस्ताका समेत अहिले सबै घरजममा जमे, तर ‘बहुदले’ पाराको देउसी नाचगानको चलन भने पग्लिएर डेढ दशकअघि नै गेउरिया खोलाको पानीमा बगिसक्यो ।
नाचको दक्षिणा के गर्ने त ? आधाको रहर थियो दोमुखा पिकनिक । केटीहरुको रहर अर्को सालको लागि ‘डान्स ड्रेस’ किन्ने । केहीको चाहना फुटबल र भलिबल, तर अन्त्यमा निर्णय हुन्थ्यो, क्लबको संरक्षणमा रहने गरी कराइ, थाल, विवाह व्यानर, आदि किन्ने । यो क्रम ४-५ वर्ष चल्यो ।
जीवन चोकका त्रिलोचन, इन्द्रहरु भन्थे, ‘एउटै घरमा देउसी खेल्दा १५ सय, २ हजारसम्म दक्षिणा पाइन्छ ।’ हामीलाई आरिस लाग्थ्यो । ७ वटा गीतमा नाच देखायो, अनि नाङ्लामा २५ रुपैयाँ देखेपछि नाच्दानाच्दैका गोडा फतक्कै हुन्थे, तर जति नै गले पनि आधा रात वा मध्य दिनमा जाउलो जस्तै फतक्कै भएर भात खान ‘सेल्टर’ मा पुग्दा पुनर्ताजगी भरिएर आउँथ्यो । सायद नाचको अन्तिम दिन थियो । धेरै नाचेर धेरै दक्षिणा भेला पार्न भाइटीकाको भोलिपल्ट पनि एक गाउँ भ्याउने तयारी थियो । त्यसैका लागि गेउरियाको अधिकारी बाको घरमा नाच टोलीको भतेर थियो । भोकाएर मध्यरातमा पुग्दा हैट, भात त भस्मै पारेर डढाएछन् । नाचले गलेका साथीभाइ उल्का रिसाए । केहीको रिस मत्थर पार्न बन्द भएको पसलबाट भए पनि एक कार्टुन चाउचाउ ल्याएर उमालियो । नाचपछि कलाकारहरुलाई घरसम्म पुर्याउने अर्को टन्टो । सोहीअनुसार कार्यविभाजन भयो ।
नाचको दक्षिणा के गर्ने त ? आधाको रहर थियो दोमुखा पिकनिक । केटीहरुको रहर अर्को सालको लागि ‘डान्स ड्रेस’ किन्ने । केहीको चाहना फुटबल र भलिबल, तर अन्त्यमा निर्णय हुन्थ्यो, क्लबको संरक्षणमा रहने गरी कराइ, थाल, विवाह व्यानर, आदि किन्ने । यो क्रम ४-५ वर्ष चल्यो । त्यसपछि नियति उही, अघिल्लो पुस्ताको जस्तै । फेरियो समय, फाटे मादल । चुँडिए गितारका तारहरु । कुच्चिए दुई पुस्ताले मध्यरातसम्मको शीतमा देउसी खेलेर भेला पारेका स्टिले थाल र गिलासहरु । बदलिए गीतका भाकाहरु । हरायो देउसीको ढाँचा र ढर्राहरु । आधारातसम्म जागरणका गीत-नाच सुन्न-हेर्न जागै रहने दहीचोक यमपञ्चकमा न्यास्रिएको वर्षौं भयो । दुई पुस्ताले उभ्याएको क्लब हिमाली इतिहासको गर्तमा बेप्राण छ ।
कहाँ हरायो कालो डायरी ?
बुवाको काठे दराजमा एउटा छालाको कालो गाता भएको डायरी थियो । नाचका लागि खिपिएका अक्षरमा थिए गीतहरु, ‘हिँड्नु छ साथी घुम्ती बाटोमा…, आँधी खोलैले…, बसाइ हिँड्नेको ताँतीले…, तलतल मैदानैमा धानको बाला…, तारा खस्यौली…लगायत । बहुदल प्रशवकालको त्यो डायरी पनि हराएको वर्षौं भयो । लेनिनका तिखा जुँगा र मार्क्सका आधा चिन्डे कपालभन्दा लामा झ्याप्ले दाह्री चित्रित खोल भएका किताब पनि थिए दराजमा । हो, ती विद्रोहका मसाल सल्काउने किताबहरुसँगै वर्षौं निदायो त्यो डायरी । खरानीभित्रको भुङ्ग्रो जस्तै भएर बाँच्यो मोटामोटी डेढ दशक त्यो कालो डायरीमात्र चुपचाप बनेर । जतनसाथै राखेको थिएँ । त्यो डायरीप्रतिको बुवाको मोह खास हराएको पनि थियो । त्यसैले आशक्ति मेरै थियो त्यसप्रति, तर दशकौं लामो कालारात्रि चिर्ने हिम्मतहरुबाट जन्मिएको त्यो कालो डायरी कहिले हरायो, कहाँ हरायो, ख्यालै भएन । जसरी रह्यो चुपचाप वर्षौं, चुपचाप हरायो उसैगरी ।
त्यो डायरीमा केवल अक्षरहरुमात्र थिएनन्, गीतहरुमात्र थिएनन् । पञ्चायती कालरात्रिका अन्तिम दिनहरुका कैयौं टिपोटहरु थिए । कुन दिन, कहाँ मिटिङ बसेको, कसले के जिम्मेवारी वहन गर्यो, अब अर्को तयारी के के ? कसले आर्थिक दायित्व कति बुझायो, कति कसको बाँकी छ आदि आदि । खासमा इतिहासको एउटा मस्यौदा थियो त्यो कालो डायरी । साहस र संघर्षहरुको साक्षी थियो त्यो डायरी । त्यही निम्छरो डायरी जस्तै बेपत्तासँग हराएको छ तिहारको रौष र नाचगानको महफिल दहीचोकमा ।
त्यो तन्नेरी झुण्ड नभएर के भो त ! त्यो बहुदले पुस्ताको वायुपङ्खी जोश नभएर के भो त ! दोस्रो पुस्ताको तेज निभेर के भो त ! आखिर माहोल त्यही नहुँदा चैँ के भो त ! माटो उही छ, धर्ती उही छ । उही झुल्किन्छ घाम, उसैगरी मुस्कुराउँछ जून आकाशमा । हो, तिनैसँग रमाउनु, उसैगरी मुस्कुराउनु । जसरी आउँथ्यो तिहार, उहिले उहिले बहुदले बेलामा । त्यसैगरी रमाउनु र रम्न सिकाउनु । समय त बलवान छ । त्यसैले बदलिइरहन्छ । आखिर निम्छराहरु नै रहेछन् एकनास रहने र बाँच्नेहरु ! बैगुनी बनेर बिर्सनुभन्दा सम्झनै पनि काफी छ रमाउनलाई । यहाँ म पनि तिनै सम्झनाहरुसँग रमाउँला, त्यहाँ पनि उसैगरी रमाउनु है तिनै सम्झनाहरुसँग, डियर दहीचोक !