माओवादीलाई प्रचण्ड गुटको संज्ञा दिँदै बाबुरामको टिप्पणी- अब ‘प्रचण्डपन्थी’ भनौं
काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टाइले माओवादी केन्द्रलाई प्रचण्ड गुटको संज्ञा दिएका छन् । उनले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्न उपयुक्त हुने टिप्पणी गरेका छन् ।
माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बने यताकै सबैभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘त्यसपछि त्यो आन्दोलन (जुन ’पार्टी’ मात्र थिएन !) लाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीव्र आर्थिक-सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न वेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो । परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो ।’
उनले प्रचण्डको पार्टीको संसदीय सीट संख्या ३२ नभइ ३० मात्रै भएको दाबी गरेका छन् ।
उनले थपेका छन्, ‘२०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेका मात्र हुन्। साथै गोरखा र सर्लाहीका २/२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैं बुझौं !’