वीरेन्द्रनगर नगरपालिकामा २७ जना नगरप्रहरीका लागि भर्ना आह्वान
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर सुरक्षा सुदृढीकरण तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै २७ जना नगर प्रहरी करारमा भर्ना गर्न लागेको छ।
मङ्गलवार प्रकाशित सूचनामा नगरपालिकाले ‘नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था ऐन, २०७९ अनुसार नगर प्रहरी पदहरू खुला गरेको हो । यस भर्नाले नगर सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै नागरिक सुरक्षा सुनिश्चित गर्ने नगरपालिकाको उद्देश्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
नगरपालिकाले करार सेवामा खुला प्रतिस्पर्धा प्रक्रियामार्फत नगर प्रहरी निरीक्षकको नेतृत्वमा नायब निरीक्षक, सहायक निरीक्षक, हवलदार, हेभी सवारी चालक सहित १८ जना जवान पदपूर्ति गर्ने जनाएको छ ।
नगर प्रहरी निरीक्षकको कमान्डमा नायब निरीक्षक एक जना, सहायक निरीक्षक दुई जना, हवलदार तीन जना, हेभी सवारी चालक दुई जना र १८ जना जवानको दरखास्त खुला गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र नगरपालिकाको प्रशासन शाखामा आवेदन दिन सक्नेछन् ।
नगरपालिकाले नगर प्रहरी सेवामा जागरूक, सक्षम र अनुशासित व्यक्तिहरूको आवश्यकता रहेको भन्दै सुर्खेतवासीहरूलाई आवेदन दिन आह्वान गरेको छ ।