परराष्ट्र मन्त्रालयमा सचिव पद रिक्त, बरिष्ठताका आधारमा राई सचिवमा बढुवा हुने सम्भावना – Nepal Press

परराष्ट्र मन्त्रालयमा सचिव पद रिक्त, बरिष्ठताका आधारमा राई सचिवमा बढुवा हुने सम्भावना

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएको छ । मन्त्रालयका सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा संसदीय समितिबाट अनुमोदित भएसँगै मन्त्रालयमा सचिवको पद रिक्त भएको हो ।

बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएका लम्सालको नाम सर्बसम्मतबाट अनोमदन गरेको छ । समितिबाट अनुमोदन भएसँगै अब राष्ट्रपतिले उनलाई राजदूतमा नियुक्त गर्नेछन् ।

परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएसँगै मन्त्रालयका सहसचिव एवम प्रवक्ता समेत रहेका सहसचिव अमृत बहादुर राई सचिवमा बढुवा हुने सम्भावना रहेको छ ।

लामो कुटनितिक अनुभव संगालेका राई अन्तिम समयमा कुनै हस्तक्षेप नभए वरिष्ठताका आधारमा स्वतः सचिव बन्ने सम्भावना छ । अहिलेसम्म २४ परराष्ट्र सचिवले कुटनीतिक तहको नेतृत्व गरिसकेकाले २५ औं सचिवका रुपमा राईको नियुक्त हुने सम्भावना छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले मन्त्रालयका ३ सहसचिवको नाम सिफारिस गर्नेछ । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, कृष्णप्रसाद ढकाल र निर्मलराज काफ्ले मध्य राई सबैभन्दा वरिष्ठ सहसचिव हुन् । परराष्ट्र मन्त्रालयमा वरिष्ठताका आधारमा सचिवमा नियुक्त हुने परम्परा रहदैँ आएको छ ।

राई संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संगठन र अन्तर्राष्ट्रिय कानून महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने ढकाल उत्तर पूर्वी एशिया महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै काफ्ले ब्राजिलका लागि नेपाली राजदूत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर