आरिफ शेख: एक दिवसीयमा सधैं भरपर्दा – Nepal Press

आरिफ शेख: एक दिवसीयमा सधैं भरपर्दा

काठमाडौं । आरिफ शेख नेपालका ‘स्टार’ खेलाडी होइनन्, तर यो भन्दा अतिशयोक्ति नहोला कि एक दिवसीय टीममा उनी भएनन् भने नेपालको मध्यक्रम अपूरो हुन्छ ।

हिजोको खेलमा स्कटल्यान्डविरुद्ध आरिफ म्यान अफ द म्याच भए, जहाँ उनले म्याचविनिङ अर्धशतक प्रहार गरेका थिए । यो जितले लिग २ मा नेपालको हार श्रृंखला टुटेको छ, र टीममा नयाँ आत्मविश्वास भरिएको छ । स्कटल्यान्ड बलियो प्रतिद्वन्द्वी हो, जसले अघिल्लो म्याचमा अमेरिकालाई १० विकेटको लज्जास्पद हार चखाएको थियो ।

हुन त स्कटल्यान्डविरुद्ध जितको आधारशीला बलरहरुले निर्माण गरिसकेका थिए । अमेरिकाविरुद्धको खेलमा २८६ रनको बलियो स्कोर पनि डिफेन्ड गर्न नसकेको नेपालको बलिङले स्कटल्यान्डविरुद्ध जोडदार कमब्याक गर्यो । हुन त पिचको अवस्थाले पनि धेरै फरक पर्छ । दुवै खेल ड्यालसको ग्रान्ड प्रेरी रंगशालामा नै भए पनि पीच कन्डिसन धेरै फरक थियो ।

स्कटल्यान्डविरुद्ध नेपालले उतारेको प्लेइङ ११ मा ब्याटिङ पावरको कमि थिएन । खासमा नेपालसँग ११ नम्बरसम्मै ब्याटिङ क्षमता थियो । तर, कठिन पिचमा तपाईंसँग जति लामो ब्याटिङ पंति भए पनि धराशायी हुन समय लाग्दैन । यस्तै पीचमा आरिफ शेख जस्ता ब्याट्सम्यानहरुको महत्व झल्किने हो ।

टस जितेर बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई १५४ रनमा नै अलआउट गर्न सफल भयो । स्कटल्यान्डका ब्याट्सम्यानले न नेपालको फास्ट बलिङलाई सामना गर्न सके न त स्पिनकाे । अघिल्लो म्याचमा फितलो प्रदर्शन गरेका सन्दीप लामिछानेले स्कटल्यान्डविरुद्ध धारिलो बलिङ गर्दै ३ विकेट लिए । नेपालले प्रयोग गरेका ६ जना बलरले नै ५ भन्दा कमको इकोनोमीमा बलिङ गरेका थिए ।

१५५ रनको लक्ष्य सामान्य थियो, तर कहिलेकाहीँ सामान्य लक्ष्यले पनि दु:ख दिन्छ, रन पछ्याउने टीमलाई । विगतमा नेपालले १५० रन आसपासको स्कोर पछ्याउन नसकेर हारेका धेरै उदाहरण छन् । यद्यपि अहिलेको नेपालको ब्याटिङलाई यति रनभित्र रोक्न कुनै पनि टीमलाई गाह्रै पर्छ ।

स्कटल्यान्डले नेपाललाई ६३ रनमा चार विकेटको स्थितिमा खुम्च्याउन सफल भएको हो । यहाँबाट म्याच जता पनि पल्टिन सक्थ्यो । थप एक वा दुई विकेटले नेपाल दबाबमा पर्ने थियो, तर आरिफ शेख र गुल्शन झाले त्यो सम्भावनाको ढोकामा चुकुल ठोकिदिए ।

सामान्यतया आरिफ क्रिजमा छन् भने एउटा इन्ड उनले ढुक्कले सम्हाल्छन् भन्ने आशा राखिन्छ । अर्को इन्डको ब्याट्सम्यानलाई खुलेर खेल्न दिने र आफू सिंगल-डबल लिएर साझेदारी बनाउने उनको ब्याटिङ शैली हो । आक्रामकता नदेखाउने हुँदा उनको ब्याटिङ कतिपय अवस्थामा नोटिस नै हुँदैन, तर स्कटल्यान्डविरुद्ध भने आरिफले फरक खेल पस्किए ।

नेपालका सर्वोत्कृष्ट ब्याट्सम्यान तथा कप्तान रोहित पौडेल चौंथो विकेटका रुपमा मात्र एक रनमा आउट भएपछि नेपाललाई झट्का लाग्यो । यद्यपि, जितका लागि ३४।४ ओभरमा ९२ रन मात्र ल्याउनुपर्ने भएकाले ठूलो पहाड उक्लिनु थिएन । केवल सम्हालिएर खेल्नु थियो ।

अर्को इन्डमा कुशल भुर्तेल थिए, जो कुनै पनि परिस्थितिमा आफ्नो सटहरु खेल्न रोकिँदैनन् । आरिफका रुपमा उनले एउटा परिपक्व साझेदार पाए । तर, यसपाली आरिफ ‘साथ दिने’ मा सिमित भएनन् । लक्ष्य भेदन गर्ने जिम्मेवारी उनी आफैंले लिए ।

१८ औं ओभरमा ब्रान्डेन म्याकमुलनलाई तीन चौका हान्दै आरिफले आफ्नो आशय स्पष्ट गरेका थिए । नेपालले १०० रन छुँदा भुर्तेल २५ रन बनाएर आउट भए, तर यसले फरक परेन । आरिफले गुल्शन झासँग मिलेर नेपाललाई लक्ष्यसम्म पुर्‍याए ।

नेपालाई जितका लागि २ रन चाहिँदा आरिफलाई अर्धशतकका लागि ३ रन आवश्यक थियो । आरिफले चौका प्रहार गर्दै यो सानो माइलस्टोन पनि पूरा गर्न सफल भए । ४२ बलमा ८ चौका हान्दै आरिफले अविजित ५१ रन बनाएका थिए । बलिङमा पनि एक विकेट लिएकाले उनी म्याच अफ दि म्याचका स्वभाविक हकदार बने ।

आरिफले हिजो बनाएको अर्धसतक उनको एकदिवसीय करिअरमा सातौं हो । कठिन पीचमा बलियो प्रतिद्वन्द्वीविरुद्ध उनले आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।

आरिफ नेपाली टीमका सबैभन्दा अनुभवी ब्याट्सम्यान पनि हुन् । नेपाली क्रिकेटमा नयाँ पुस्ता हावी भएपछि पुराना केही ब्याट्सम्यानहरुले आफ्नो स्थान गुमाए । ज्ञानेन्द्र मल्ल, सरद भेषावकर, विनोद भण्डारी जस्ता ‘स्टार’ ब्याट्सम्यानहरु अहिले राष्ट्रिय टीममा छैनन् । ज्ञानेन्द्रले समय अगाडि नै सन्न्यास लिनुपर्‍याे, तर आरिफ भने टिकिरहेकै छन् । कारण उनको ब्याटिङमा देखिने स्थिरता र अनुशासन ।

कुशल भुर्तेल जस्तो स्किल, कुशल मल्लजस्तो पावर, दीपेन्द्रसिंह ऐरी जस्तो ब्रिलियन्स, आफ्नै भाइ आसिफ सेख जस्तो टाइमिङ, रोहित पौडेल जस्तो ‘जादू’ आरिफसँग नहोला । तर, उनीसँग सबैको अलिअलि अंश छ । सबैभन्दा महत्वपूर्ण उनीसँग संयम र धैर्य छ, जुन मध्यक्रमका ब्याट्सम्यानमा अति आवश्यक हुन्छ । सीमित सटहरु खेलेर उनी क्रिजमा रन बटुलिरहेका हुन्छन् । अनावश्यक आक्रामकता देखाएर विकेट खेर फाल्दैनन् ।

कहिलेकाहीँ बढी रक्षात्मक बनेर अत्यधिक बल खेर फाल्नु चाहिँ उनको कमजोरी हो । यही कमजोरीले गर्दा उनी टी-२० अन्तर्राष्ट्रियमा भने अपेक्षित सफल हुन सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *