सरकारी सिमेन्ट उद्योगले तिर्न थाल्यो डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत बक्यौता
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेका सरकारी स्वामित्वका २ सिमेन्ट उद्योगमध्ये एउटाले विद्युत बक्यौताको पहिलो किस्ता तिरेको छ । सरकारी सिमेन्ट उद्योग हेटौंडा र उदयपुरले किस्तामा बक्यौता तिर्ने निवेदन दिएकोमा उदयपुरले पहिलो किस्ता बुझाएको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले सरकारी स्वामित्वको हेटौंडा र उदयपुर सिमेन्ट उद्योगमध्ये उदयपुरले विद्युत बक्यौताको पहिलो किस्ता तिरेको जानकारी दिए ।
उनले भने, ‘दुई सरकारी सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका छन् । दुई सिमेन्ट उद्योगले २८ किस्तामा विद्युत बक्यौता तिर्नेछन् । उदयपुर सिमेन्ट उद्योगले पहिलो किस्ता तिरेको छ ।’
हेटौंडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको प्रवक्ता घोषले बताए ।