नेपालकी हाइस्कोरर रेखा फाइनल खेल्न बञ्चित, साम्बालाई थप दबाब – Nepal Press

नेपालकी हाइस्कोरर रेखा फाइनल खेल्न बञ्चित, साम्बालाई थप दबाब

काठमाडौं । महिला साफ साफ च्याम्पियनसीपको फाइनल आज केहीबेरमा दशरथ रंगशालामा सुरु हुँदैछ । घरेलु टीम नेपाल र बंगलादेश उपाधिका लागि भिड्नेछन् ।

नेपालले अहिलेसम्म महिला साफ म्याम्पियनसीपको उपाधि जित्न सकेको छैन । पहिलोपटक देशले उपाधि चुम्ने चाहना र कामना बोकेर हजारौं दर्शक रंगशालामा जम्मा भइसकेका छन् । उनीहरुले टीमको हौसला बढाउन कुनै पनि कसर बाँकी राख्ने छैनन् ।

खेलअघि नै नेपाल केही दवावमा छ । टीमकी एक प्रमुख स्ट्राइकर रेखा पौडेल यो महत्वपूर्ण खेलमा अनुपस्थित रहनेछिन् । उनले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड खाएर बाहिरिनु परेको थियो । रेफ्रीको त्रुटिपूर्ण निर्णयका कारण उनले सेमिफाइनलको करिब आधा हिस्सा त गुमाइन् नै, फाइनल खेल पूर्णरुपमा गुमाउनु परेको छ ।

फुटबलको नियम अनुसार एउटा खेलमा रातो कार्ड पाएको खेलाडीले लगत्तैको अर्को खेलमा भाग लिन पाउँदैन ।

रेखा यस जारी साफ च्याम्पियनसीपमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता थिइन् । सेमिफाइनल अगाडि नै उनको खातामा ७ गोल चढिसकेको थियो । प्रतियोगितामा सर्वाधिक गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । पहिलो स्थानमा भुटानकी डेकी ल्हाजोम रहेकी छिन् । उनको नाममा ८ गोल छ ।

आज फाइनल खेलेको भए ल्हाजोमलाई उछिन्ने मौका थियो रेखासँग । अब तेस्रो नम्बरमा रहेकी बंगलादेशकी ताहुरा खातुनले फाइनलमा तीन गोल गरेमा मात्रै भुटानी खेलाडीलाई भेट्न सक्नेछिन् ।

रेखाले मालदिभ्सविरुद्धको खेलमा एक्लै ५ गोल ठोकेकी थिइन् । उक्त खेलमा सावित्री भण्डारी थिइनन् । श्रीलंका विरुद्धको खेलमा पनि उनले दुई गोल हानिन् । फाइनलमा गोल गर्ने उनको धोको भने अधुरो रहने भएको छ ।

गोल रेकर्डभन्दा पनि नेपाललाई रेखाको अनुपस्थिति मैदानमा पक्कै खट्किने छ । रेखा एएफसी च्याम्पियन्स लिग खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन् । सावित्री भण्डारी ‘साम्बा’ पछि नेपालकी अब्बल स्ट्राइकर मानिन्छन् ।

निकै राम्रो लयमा पनि थिइन् । साम्बा र रेखाको जोडी विपक्षी टीमका लागि खतरनाक हुन सक्थ्यो । रेखाको अभावमा साम्बामा जिम्मेवारी थपिने छ । नेपाललाई सेमिफाइनलमा जोगाएकी साम्बाबाट फाइनलमा ठूलो आशा छ ।

नेपालको स्क्वाडमा अतिरिक्त स्ट्राइकरका रुपमा रश्मी कुमारी घिसिङ छिन् । उनी सेमिफाइनलमा प्रतिस्थापन खेलाडीको रुपमा थिइन् । आज पनि उनी पहिलाे छनाेटमा परिनन् । रेखाकाे स्थानमा सरु लिम्बूलाई प्लेइङ ११ भित्र समावेश गरिएकाे छ ।  अमिषा कार्की र अनिता बस्नेत पनि फरवार्डमा हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *