उद्योगहरूको बिजुली महसुल बक्यौता किस्ताको सीमा बढाइयो – Nepal Press
डेडिकेटेड तथा ट्रंकलाइन

उद्योगहरूको बिजुली महसुल बक्यौता किस्ताको सीमा बढाइयो

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउने सम्बन्धमा थप केही लचिलो निर्णय गरेको छ ।

यसअघि प्राधिकरणले २८ किस्तामा महसुल तीर्न सकिने बताउँदै आएकोमा बुधबारको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तिर्न सकिने व्यवस्था गरिएको स्रोत बताउँछ ।

महसुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो ।

यसैबीच विद्युत् नियमन आयोगले पनि डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगकी सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन भनेकी छन् ।

आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिनसमेत भनेको छ ।

विद्युत् महशुलको परिणाम वा अन्य कुनै पक्षउपर पछि आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसके पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने आयोगले उल्लेख गरेको छ ।

विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ बमोजिम आयोगले उक्त निर्देशन दिएको हो । प्राधिकरणले महसुल नबुझाएको भन्दै यही कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो ।

तीमध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन निवेदन दिएका छन् । केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर