नेपाल प्रेसकर्मी सुमन पुरीसहित इटहरीमा स्रष्टाहरू सम्मानित
इटहरी । राष्ट्रिय जागृति क्लब इटहरीले २०२३ सालदेखि निरन्तर गर्दै आएको स्रष्टा सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।
खेलकुद र गीत सङ्गीतको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय जागृति क्लबले काग तिहारको दिन हरेक वर्ष स्रष्टा सम्मान गर्दै आएको छ । यो वर्ष क्लबले वरिष्ठ लोक गायिका तारा थापालाई स्रष्टा सम्मान गरेको हो ।
यस्तै क्लबले इटहरीको शिक्षा क्षेत्र र पत्रकारितामा योगदान पुर्याएका दुईजनालाई पनि सम्मान गरेको छ । क्लबले २० वर्षदेखि इटहरीलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहेका नेपाल प्रेसका कोशी प्रदेश संवाददाता सुमन पुरी र शिक्षातर्फ पशुपति सिग्देललाई सम्मान गरेको हो । सिग्देल इटहरीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।
क्लबले हरेक वर्ष झैँ यस पटक पनि खेल क्षेत्रका विभिन्न विधाका खेलाडीहरूलाई समेत पंशासा पत्र प्रदान गरेको छ ।
इटहरीमा घर भएका क्रिकेट खेलाडी भूपाल लुइँटेल, फुटबल खेलाडी सविन घिमिरे , तेक्वान्दोतर्फ ऋषिका बुढाथोकीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
लुइँटेलले कोशी प्रदेशका तर्फबाट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका छन् भने सविन अन्डर २० राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् । यस्तै ऋषिका भने सार्क देशहरूको विद्यालयहरूको प्रतियोगितामा गोल्ड मेडलिष्ट हुन् ।
यस्तै क्लबले नव प्रतिभाको रूपमा सिमला धिताललाई पनि प्रशंसा पत्र प्रदान गरेको छ । सिमला यस सिजनको भ्वाइस अफ किड्सकी फाइनलिष्ट हुन् ।
यसैबीच क्लबले आयोजना गरेको इटहरी उपमहानगरपालिका स्तरीय खुल्ला लोक नृत्य प्रतियोगितामा राष्ट्रिय मावि इटहरी प्रथम भएको छ ।
यस्तै कस्तुरी मावि द्वितीय र पिस जोन स्कुल तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, तृतीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्राप्त गरे ।
प्रतियोगितामा इटहरी क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा सम्मानित वरिष्ठ गायिका तारा थापाले आफ्ना लोकप्रिय गीत समेत गाएकी थिइन् । यस्तै कार्यक्रममा नव प्रतिभा सिमला धितालले समेत गीत गाइन् । वरिष्ठ गायिका थापाले गीत सँगै दर्शकहरू झुमेका थिए ।
इटहरीको खेलकुद र कला क्षेत्रको विकास र प्रवर्धनमा काम गर्दै आएको क्लबले हरेक साल काग तिहारका दिन विभिन्न कार्यक्रम गर्दै स्रष्टा सम्मान गर्ने गरेकाले यसलाई निरन्तरता दिएको कार्यक्रमका संयोजक रविन गौतम देवीले बताए ।
उनले इटहरीमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने चलन रहेकाले यसलाई निरन्तरता दिएको बताए । कार्यक्रम क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।