एमालेले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा शेर्पालाई उम्मेदवार बनाउने
काठमाडौं । नेकपा एमालेले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा शेर्पालाई उम्मेदवार बनाउने भएको छ।
मंसिर १६ मा हुने उपनिर्वाचनमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय भएको एमालेका जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए। पार्टीको तर्फबाट सर्वसम्मत शेर्पाको नाममा सहमति बनेको उनले बताए ।
बैठकमा पोलिटब्युरो सदस्य पार्वत गुरूङ, प्रदेश कमिटी सदस्यहरू भरत केसी र उर्मिला थामी, जिल्ला पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव स्वयमबहादुर खड्का, सचिवालय सदस्य जङ्ग गुरूङ सहभागी थिए ।
त्यहाँ गत निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनबाट श्याम तामाङले जितेका थिए । तामाङको हृदयाघातका कारण निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो। त्यहाँ अध्यक्षमा माओवादीले जितेको थियो ।
तर, अहिलेको निर्वाचनमा कांग्रेस, एमाले, माओवादीसहित सबै दलहरूले एक्ला एक्लै चुनाव लड्ने तयारी गरेका छन् ।