जनअपेक्षा अनुसार सरकारले काम गर्न नसक्दाको असन्तुष्टिलाई अराजकतावादीले भड्काउन खोज्दैछन् : उपाध्यक्ष घिमिरे – Nepal Press

जनअपेक्षा अनुसार सरकारले काम गर्न नसक्दाको असन्तुष्टिलाई अराजकतावादीले भड्काउन खोज्दैछन् : उपाध्यक्ष घिमिरे

‘सरकार छिटोछिटो परिवर्तन हुँदा कानून निर्माणको काम पनि प्रभावित भयो’

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिवर्तन हुँदा कानून निर्माणको काम पनि प्रभावित भएको बताएकी छन्।

सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिवर्तन छिटोछिटो हुँदा विधेयक अघि बढाउनै नसकिएको बताइन्।

उनले भनिन्, ‘व्यवस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानून बनाउनका लागि विधेयक अघि बढाउन सरकारलाई आग्रह गर्छौ। छिटोछिटो सरकारसँगै मन्त्री परिवर्तन हुँदा विधेयक नै अघि बढ्न सकिरहेका छैनन्, जसले गर्दा अत्यावश्यक कानून निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ ।’

संविधान अनुसार बाझिएका कानूनहरु निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय सभाले पटक पटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरे संसदको आगामी हिउँदे अधिवेशनबाट धेरै विधेयक पास हुने विश्वास व्यक्त गरिन्।

समितिमा अड्किएका विधेयकहरूलाई छिटो टुंगोमा पुर्‍याउनका लागि केही दिन पहिले राष्ट्रिय सभाका अध्यक्ष र आफूले सम्बन्धित समितिका सभापतिहरूसँग छलफल गरेको बताउँदै प्रतिनिधिसभाको तुलनामा राष्ट्रिय सभामा आएका विधेयकहरू छिटो टुंगोमा पुग्दै आएको सुनाइन्।

मुलुकमा केही समयदेखि बढी रहेको अराजकताप्रति चिन्ता व्यक्त गर्दै अराजकता सृजना गर्ने जो भए पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताइन्।

तीनै तहका सरकारले आफूलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्ने बताइन्।

जनतामा बढी अपेक्षा हुने र सरकारले त्यस अनुरूप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकतावादीले भड्काउने प्रयास गर्न सक्ने तर्फ सचेत हुन आग्रह पनि गरिन्।

सहकारीमा बचतकर्ताको रकम डुब्ने र ऋणीले फिर्ता नगरे पनि हुन्छ भन्ने अवस्थाको अन्त्य गर्दा धेरै बचतकर्तालाई राहत हुन सक्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर