इन्सले रचना वाचन गरी शुक्रबार महाकवि देवकोटा जयन्ती मनाउने – Nepal Press

इन्सले रचना वाचन गरी शुक्रबार महाकवि देवकोटा जयन्ती मनाउने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा तथा साहित्य समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा वृहत कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम आगामी शुक्रबार (नोभेम्बर १) का दिन नेपाली समयअनुसार साँझ ६ बजे आयोजना हुने इन्सका भाषा तथा साहित्य समितिकी संयोजक डा. जानुका पौडेलले जानकारी दिएकी छन् ।

कार्यक्रममा नेपाली भाषा तथा साहित्यका व्यक्तित्वहरू प्रमुख वक्ता तथा वक्ताको रुपमा रहनेछन् ।

महाकवि देवकोटाका बारेमा दशकौँ अध्यापन गरेको तथा देवकोटाको व्यक्तित्व तथा कृतित्वमाथि भएका अध्ययन अनुसन्धानमा निर्देशन एवम् समालोचकको भूमिका निभाएको अनुभव संगालेका विज्ञहरू आफैँमा नेपाली भाषा साहित्यको खोज तथा अनुसन्धान कर्ता, समालोचक, साहित्यकार तथा क्षेत्रीय भाषाको ज्ञातासमेत रहेका छन् ।

साथै कार्यक्रममा देश तथा विदेशमा रहेर नेपाली साहित्यमा टेवा पुर्याइरहेका विज्ञहरुले महाकविको सम्झनामा तथा दीपावालीको उपलक्ष्यमा रचना वाचन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा उप प्रा. रोमकान्त सापकोटा (क्यानडा), डा. रेनुका सोलु (नेपाल), उप प्रा. डा. महालक्ष्मी अधिकारी (बेलायत)जस्ता साहित्यकार लगायतले आफ्ना रचना वाचन गर्दै कार्यक्रम सफलताको शुभकामना पनि दिनेछन् ।

त्यसैगरी, अमेरिकाबाट लालगोपाल सुवेदी, जापानबाट केवी पारखी र जर्मनी, नर्वे, डेन्मार्क, रुस, दक्षिण कोरिया, कतार, युएई, साउदी अरेबिया, भारत, चीन लगायत विभिन्न मुलुकबाट कार्यक्रममा प्रतिनिधित्व, रचना वाचन एवम् मन्तव्य रहने इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै, कार्यक्रमलाई थप रौनकता थप्न सांस्कृतिक झाँकीको पनि विशेष आकर्षण रहने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेलले जनाएकी छन् ।

केन्द्रीय अध्यक्ष घिमिरेले नेपाल र नेपालीको लागि छ वटा महादेश र १२३ देशमा रहेर इन्सले विभिन्न क्षेत्रमा गरेको कार्यको छोटकरी रूप प्रस्तुत गर्ने कार्यक्रम रहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *