विप्लवका नेतालाई प्रश्न: एमसीए निर्देशकलाई जागीर छाड्न धम्की दिनुभएको हो ? – Nepal Press

विप्लवका नेतालाई प्रश्न: एमसीए निर्देशकलाई जागीर छाड्न धम्की दिनुभएको हो ?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सञ्चालन गर्ने संस्था एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई घुमाउरो शैलीमा जागिर छोड्न चेतावनी दिएको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई नेकपा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भरत सीले जागिर छोड्न चेतावनी ‘आग्रह’ गर्दै विष्टलाई बुधबार पत्र पठाएका हुन् ।

यसै पत्रको विषयलाई लिएर नेपाल प्रेसले भरत सीसँग गरेको संक्षिप्त कुराकानीः

–एमसीए निर्देशकलाई किन यसरी व्यक्तिगतरुपमा पत्राचार गरिएको हो ?

उहाँ सचेत नागरिक भएको हुनाले यस परियोजनामा काम गर्दा सोच्नुपर्छ भनेर अनुरोध गरिएको हो । बिसुद्ध कर्मचारी भएर सोच्ने हो भने त फरक कुरा भयो । तर, सचेत नागरिकको हैसियतले सोच्दा यो परियोजना उपयुक्त छैन भन्ने पुष्टि भइसकेकाले उहाँलाई यसमा काम गर्नका लागि पुर्नविचार गर्नुहोस भनेर भनेका हौ । विश्व धुब्रिकरणमा अमेरिकी सैन्य परियोजनाको नेतृत्व गर्ने परियोजना भएकाले समयमै सोच्नुपर्छ र स्वाभिमानी नेपालीको नागरिको तर्फबाट बेलैमा सचेत भएर उपयुक्त निर्णय लिनुपर्छ भन्ने हो ।

–यो अनुरोध हो कि धम्की ?

कसले कसरी बुझ्छ त्यो हामीलाई थाहा भएन । तर हामीले धम्की भन्दा पनि उहाँलाई पुर्नविचार गर्नुहोस भनेर अनुरोध सहित पत्राचार गरको हो । एमसीसीलाई कमजोर तरिकाले बुझेकाले धम्कीको रुपमा बुझेको पनि हुनसक्छन् ।

–एउटा परियोजनामा काम गर्ने कर्मचारीलाई पत्र पठाएर के हुन्छ ?

उहाँलाई मात्रै होइन, अमेरिकालाई समेत हामीले पत्राचार गरेका छौ । नेपाल सरकारलाई पनि धेरै पटक पुर्नविचार गर्नुपर्छ भनेर भनिसकेको र चेतावनी दिइसकेका छौ । अहिले चाही उक्त परियोजनाको प्रमुख व्यक्ति भएकाले उहाँलाई पनि अनुरोध गरेको हो ।

–तपाईंको पार्टीले पहिले चन्दा माग्ने अनि नदिएपछि यसरी धम्की दिने श्रृङखला त होइन ?

होइन, त्यो बेकारको आरोप मात्रै हो । पार्टी केन्द्रको नीति अनुसार पत्राचार गरिुएको हो ।

–पत्राचार गरिएको मात्रै हो कि यसअघि कुनै सम्पर्क समन्वय भएको छ ?

कुनै पनि सम्पर्क तथा समन्वय भएको छैन । पार्टीको उच्च तहको नेतृत्व नै कार्यालयमा पुगेर हातमा दिने सोच थियो । त्यो सम्भव नभएपछि प्रतिनिधिमार्फत दिइएको हो ।

–उहाँले यसमा पुर्नविचार गर्नुभएन भने के हुन्छ ?

पुर्नबिचार गर्दा राम्रो हुन्छ, देशका लागि राम्रो हुन्छ । हाम्रो अपिल पनि हो एउटा सचेत नागरिकलाई । उहाँले पुर्नविचार गर्नुभएन भने हाम्रो पार्टीको संघर्ष जारी छ । त्यसको असर उहाँमा पनि पर्छ नै उहाँले यो कुरा बुझिहाल्नुहुन्छ । उहाँले धेरै बुझ्न सक्ने व्यक्ति भएकाले बुझाइरहनु पर्दैन होला ।

–केन्द्रीय समितिले पत्राचार नगरेर प्रदेश समितिको इञ्जार्चबाट किन पत्राचार गरिएको हो ?

यो पार्टी हेडक्वार्टरकै नीति तथा निर्देशन अनुसार पत्राचार गरिएको हो । एमसीसीको कार्यकारी निर्देशकको घर सुदूरपश्चिम प्रदेशमा भएकाले उहाँलाई सुदूरपश्चिम प्रदेश पार्टीको तर्फबाट पत्राचार गरिएको हो ।

–घर सुदूरपश्चिम भए पनि कार्यालय त काठमाडौंमा छ नि ?

हो, उहाँ सुदूरपश्चिम बस्नुहुदैन । उहाँले प्रत्यक्ष प्राप्त गर्नेगरी हाम्रो पार्टीका प्रतिनिधिमार्फत उहाँको कार्यालयमा नै बुझाइएको छ ।

–उहाँले पत्र प्राप्त गरिसक्नु भएको वा नभएको बारे केही जानकारी छ ?

कार्यालयमा नै हाम्रो पार्टीका प्रतिनिधि पुगेर बुभाएको हुनाले नपाउने भन्ने त कुरै छैन । सम्भवत हात परिसक्यो होला ।


प्रतिक्रिया

One thought on “विप्लवका नेतालाई प्रश्न: एमसीए निर्देशकलाई जागीर छाड्न धम्की दिनुभएको हो ?

  1. चन्दाको चक्कर हो यो । यस्तै एउटा सानो कोटरी चलायो, चन्दा असुल्यो , व्यक्तिगत रूपमा चन्दा खान पाएपछि गुण्डा पछि लागिहाल्छन् । अनि लुट्यो , खायो । यस्तालाई कडा कारवाही होस् । फेरि एमसिसि देउ भनेर अमेरिकालाई देउवासँग मिलेर पत्र लेख्नेसँग एकता भन्दै पनि हिडेको छ नेत्रविक्रम । अनि यी फटाहाहरूको कुरा पत्याउने कसले ? यी विशुद्व लुटाहा गुण्डा हुन् जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर