विराटनगर र इटहरीमा सयपत्री फूलको अभाव
विराटनगर । तिहारमा विराटनगर र इटहरीमा सयपत्री फूलको अभाव देखिएको छ । तिहारमा फूलको अत्यधिक माग भए पनि बजारमा फूलको अभाव देखिएको हो ।
यो वर्ष भारतबाट समेत कम फूल नआउँदा बजारमा फूलको भाउ समेत आकासिएको छ । पहाडी जिल्लामा असोजमा आएको पानीका कारण फूलको कोपिला बिग्रिएको कारण बजारमा राम्रो फुल नै नपाइएको उपभोक्ताहरूले बताएका छन् ।
गतवर्ष ६० रुपैयाँमा पाइने फूलको गुच्छा यो वर्ष १४० रुपैयाँ परेको उपभोक्ताहरूले बताएका छन् । यस्तै गत वर्ष ७० रुपैयाँ पर्ने माला १६० रुपैयाँमा बिक्री भइरहेको छ । उपभोक्ताले महँगो मूल्य तिरेर पनि गत वर्षको जस्तो गुणस्तर भएको फूल पाएका छैनन् ।
आन्तरिक उत्पादन कम भएको कारण भारतबाट फूल आयात हुने गरेको छ । तर, भारतबाट आउने फूलसमेत यस पटक वैधानिक बाटोबाट नआएको व्यवसायीले बताएका छन् । अवैध बाटोबाट आएको फुल राम्रो गुणस्तरको नभएको उनीहरूको भनाइ छ ।
सयपत्री फूलको अभाव भएपछि प्लास्टिकका फूलको व्यापार भने बढेको व्यवसायीले बताएका छन् । विगतका वर्षमा सयपत्री फूलले सजिने बजार यस पटक प्लास्टिकका फूलले रङ्गीचङ्गी बनेको देखिन्छ । प्लास्टिकका फूल प्रतिबन्धित भए पनि बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ ।