प्रचण्डसँग फेरि काँध मिलाउन हौसिएका विप्लवको माओवादीमा इन्ट्री कति सहज ? – Nepal Press

प्रचण्डसँग फेरि काँध मिलाउन हौसिएका विप्लवको माओवादीमा इन्ट्री कति सहज ?

काठमाडौं । सत्ताविमुख भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कहिले पूर्वमाओवादी घटकबीच एकताको कुरा गर्छन्, कहिले कम्युनिष्ट एकताको। आफूलाई निरन्तर शक्तिमा राख्नका लागि प्रचण्डले एकताको नाममा एकपछि अर्को प्रयास गरे पनि सफल हुन सकिरहेको छैन।

यद्यपि, उनले चाँडै विचार मिल्ने दलहरुबीच पार्टी एकता हुने दाबी गर्न छाडेका छैनन्। प्रचण्डको दाबी झैँ एकताको हुने भनेको नेत्रविक्रम चन्द विप्लव र डा. बाबुराम भट्टराईबाट अलग भएको नेसपाका महेन्द्रराय यादव समूह हो।

यी दुवै दल माओवादीबाट एकताको औपचारिक निर्णयको पर्खाइमा छन्। माओवादीले तिहारलगत्तै बस्ने केन्द्रीय कमिटीको बैठकबाट यसबारे निर्णय गर्ने तयारी गरेको छ। यसअघि प्रचण्डले बाबुरामसँग पनि प्रयास गरेको भएपनि तत्काललाई त्यो सम्भावना टरिसकेको छ भने प्रभु साह नेतृत्वको आजपासँग पनि एकताको प्रयास गरिरहेका छन्।

यीमध्ये प्रचण्डको नेतृत्वमै फेरि फर्किन विप्लव हौसिरहेका छन्। कार्तिक ३ गते प्रचण्डसँगै चितवन पुगेका विप्लवले माओवादीहरू एकताबद्ध भएर आगामी निर्वाचनमा ०६४ को नजिता फर्काउन सक्ने दाबी गरे।

विप्लव अहिले प्रचण्ड नेतृत्वको माओवादीका नेताहरू भन्दा पनि हौसिएर प्रचण्ड र माओवादीको पक्षमा वकालत गर्न थालेका छन्।

उनको भनाइ थियो, ‘जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्छ। त्यसैले क्रान्तिकारीहरूको एकताबद्ध भए ०६४ को नतिजा फर्काउन सक्छौँ। त्यसका लागि पूर्वमाओवादी घटक तयार हुनुपर्छ।’

विप्लवको यो अभिव्यक्तिपछि प्रचण्ड पनि थप हौसिएका छन्। उनले कांग्रेस एमालेसँग समीकरण गरेर आफूहरु बिग्रिएको भन्दै आगामी निर्वाचनमा एक्लै लड्ने दाबी गर्दै आइरहेका छन्।

यद्यपि, मंसिरमा हुने स्थानीय तहको निर्वाचन पनि समाजवादी मोर्चामा आबद्ध दलहरुबीच सहकार्यको प्रयास छाडेका छैनन्।

शनिवार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘हामीले पहिले नै भनेका छौँ, अब हामी चुनाव तपाईँहरू जस्ता बेइमान र भ्रष्ट बिचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौँ। जति ल्याए पनि एक्लै लड्ने छौँ। हामीले ६४ मा एक्लै लडेको हो र देशको सबैभन्दा ठूलो पार्टी भएको हो। हामीले बीचमा केही गल्ती गर्‍यौँ। जनतासँग सम्बन्ध जति बलियो बनाउनुपर्थ्यो, सकेनौँ। हामी त्यो गल्ती सच्याउन चाहन्छौँ।’

उनले माओवादीलाई एकताबद्ध भएर कांग्रेस एमालेलाई जनताकै तहबाटै सजाय दिने चुनौती दिए।

‘हामी जनतातिर फर्किन चाहन्छौँ। अस्ति चितवनमा भएको बेपत्ता योद्धा कमरेड दण्डपाणी न्यौपानेको स्मृति कार्यक्रममा कमरेड विप्लवले हामी एकता गर्छौँ, ८४ लाई ६४ बनाएर देखाउँछौ भनेर उद्घोष गर्नुभयो’ प्रचण्डको भनाइ छ, ‘माओवादी फेरि एक हुन्छ र बनाइन्छ र एक्लै चुनाव लडेर कांग्रेस र एमाले जस्ता बेइमान र भ्रष्ट पार्टीहरूलाई उचित सजाय जनताकै तहबाट दिइन्छ।’

त्यसो त महाधिवेशनताका पनि माओवादीभित्र वर्षमान पुन र जनार्दन शर्माबीच टकराब चलिरहेको बेलामा प्रचण्डले विप्लवको नाम लिएर आन्तरिक विवाद मिलाएका थिए। तर, पछिल्लो समय प्रचण्ड विप्लवसँग नजिक भएको बुझेपछि पुन र शर्मा मिलेर एकताको प्रयास रोकेको बताएका थिए।

तर, अहिले शर्मा आफैँ विप्लवलाई भेट्न उनकै निवासमा पुगेर आगामी सहयात्राको प्रयास गरे। असोज २९ गते दुई नेताहरुबीच अब एक्ला एक्लै हिँडेर राजनीतिक निकास ननिस्किने भन्दै एकताबद्ध भएर जानुपर्नेमा एकमत भएका छन्। अब नेतृत्वको कमजोरीबाट पाठ सिकेर एकताबद्ध भएर जानुपर्नेमा उनीहरू छन्।

माओवादीका सचिव गणेश साह विप्लवसहित अन्य घटकसँग पनि एकताको विषयमा छलफल भइरहेको बताए।

उनले भने, एकताको विषयमा चर्चा चलिरहेको छ। तर त्यसले ठोस रूप लिएको छैन। अब प्रचण्डजी र विप्लवबीच सहमति भए ढिलोचाँडो एकता होला।

प्रचण्ड र विप्लवले बाहिर दाबी गरेजस्तो एकताको वातावरण नबनेको माओवादीका एक पदाधिकारीले बताए।

ती पदाधिकारीले भने, ‘प्रचण्डजी र विप्लवको कुरा बुझ्न गाह्रो छ। उहाँहरू बाहिर अब मिल्नेमिल्ने भनिराख्नुभएको छ। तर, भित्र त्यस्तै कुनै तयारी भएको छैन। कुनै शक्तिले मिलाइदियो भने छिटै हुनसक्छ। चितवनमा अस्ति भाषण सुन्दा एकता भइहाल्ने कुरा गर्नुभएको छ।’

ती नेताले अहिले साना पार्टी चलाएर बसेकाहरूमा पदलोलुपता बढेकाले सहज नभएको बताए।

‘अहिले उहाँको चर्चा छ, चुनावअगाडि बाबुरामसँग मिल्ने भनिएको थियो। तर, अहिले महाशत्रु बनेका छन्, पूर्व माओवादी घटक एकैठाउँमा होलान् भन्ने मैले देखेको छैन’ ती नेता थप्छन्, ‘अहिले साना साना पार्टीमा बसेका व्यक्तिहरूमा पदलोलुपता बढेको छ। सानो पार्टीको भएपनि अध्यक्ष, पोलिटब्युरो केन्द्रीय सदस्य भनेका छन्। बाहिर अब मिल्छौँ भनेपनि प्राविधिक समस्या छ, तत्काल होलाजस्तो लाग्दैन।’

उनले विप्लवसँग एकताको विषयमा पार्टीमा औपचारिक छलफल समेत नभएको बताए।

ती नेताले सुनाए, हुन त हाम्रो पार्टीभित्र छलफल हुने प्रचलन पनि छैन। अब प्रचण्डजी र विप्लवजीलाई लाग्यो भने हुनसक्ला। तर, प्राविधिक रूपमा मैले त्यस्तो देखेको छैन। माओवादीको विधानमा केन्द्रीय सदस्य नै दुई सयभन्दा तल बनाउने भन्ने छ। पहिले भएकाले केन्द्रीय समिति पार्टीकै एक हजार छन्, त्यसलाई कहाँ मिलाउने, उहाँहरू आए फेरि कति माग्छन् दिनुपर्‍यो।’

केन्द्रीय कमिटी सानो बनाउँदा सबैको पदको आकांक्षा अनुसार पुर्‍याउन नसक्ने भएकाले एकता हुनसक्ने सम्भावना कमजोर रहेको ती नेताको बुझाइ छ।

‘अहिले अध्यक्षबाट मात्रै पार्टी चलिरहेको छ, अब उपाध्यक्ष, महासचिव सबैलाई जिम्मेवारी दिनुपर्छ भन्ने बहस चलिरहेको छ। उहाँको विषयमा महासचिवको पनि चर्चा नचलेको होइन’ ती पदाधिकारीले भने, ‘तर, पार्टीभित्र त्यो सहज छैन। अहिले महासचिवमा देव गुरु जिम्मेवारीविहीन महासचिव हुनुभएको छ, विप्लव जिम्मेवारी नपाए त्यहाँ पनि आउनुहुन्न तर, प्रचण्डले सहजै दिने अवस्था पनि छैन।’

ती नेताले माओवादीमा पद भएपनि अधिकार सम्पन्न कुनै नभएको टिप्पणी गरे।

विप्लवमा बढेको महत्वाकांक्षाले माओवादीमा फर्किएन हौसिएको राजनीतिक विश्लेषक रोशनराज जनकपुरीको बुझाइ छ।

उनले भने, ‘माओवादी विचारधारबाट पहिले प्रचण्डजी संसदीय राजनीतिमा जानुभयो। अहिले विप्लवजीहरू पनि बाहिर बसेर थाकेर हो, आफ्नै विश्लेषण गरेर संसदीय महत्वाकांक्षा बढिरहेको देखिन्छ। उता पनि मोहन वैद्यबाट अलग भएर पार्टी बनाउँदा ठिकै थियो। अहिले त्यो पनि टुंक्रिएपछि अस्तित्वको कुरा पनि भयो। त्यो संकट टार्नको लागि पनि फेरि प्रचण्डकै नेतृत्वमा फर्किन खोज्नुभएको हुनसक्छ।’

विप्लव माओवादीमा गएपनि शक्ति संघर्ष बढ्ने भएकाले सहज नभएको उनको विश्लेषण छ।

विश्लेषक जनकपुरी थपे, ‘त्यहाँ अहिले जनार्दन र वर्षमानबीचको दुई नेताहरुबीचको शक्ति संघर्ष चलिरहेको छ। उहाँ गएपछि अर्को थपिन्छ, त्यहाँ संघर्ष बढ्छ नै। प्रचण्डकै इच्छाअनुसार उहाँ जान खोज्नुभएको देखिन्छ। त्यसैले उहाँको उचित व्यवस्थापन हुनसक्छ।’

अहिले विप्लव माओवादीमै गएपछि प्रचण्ड निकट रहने भएकाले आन्तरिक संघर्ष बढ्ने उनको भनाइ छ।

‘पहिलाको माओवादीको विचारधारा कोही पनि छैनन्, उहाँ पनि अहिले समाजवाद भन्न थालेका छन्, प्रचण्डजीहरुले त पहिल्यैदेखि भन्दै आउनुभएको छ। त्यसैले किन अलग हुने भन्ने लागेको पनि होला। अहिले माओवादीमा तीव्र गुट उपगुट चलिरहेको बेलामा त्यसैले प्रचण्डलाई पनि कसैको साथ चाहिन्छ’ उनको भनाइ छ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डसँग फेरि काँध मिलाउन हौसिएका विप्लवको माओवादीमा इन्ट्री कति सहज ?

  1. एमसिसिको नेपाल प्रमुखलाई राजिनामा दिन पत्र लेख्ने चन्द त्यहि एमसिसि ल्याउन सत्ता मै नभएको बेलामा देउवासँग मिलेर पत्र लेख्ने प्रचण्डसँग मिल्न आतुर । यसबाट के प्रमाणित हुन्छ भने यी दुबै भारतीय टट्टु हुन् । यिनको काम देशलाई अस्थिर बनाईराख्ने भारतको ईच्छा बमोजिम अनि लुटने खाने ।

  2. सत्ताको लागी आयातीत समाजबादी-मार्क्सबाद सिदान्त भिर्ने , सनातन परम्पराले दिएको कर्म र धर्म फ्याल्ने, तर थर चाही बाहुन्-क्षत्रीकै झुण्ड्याइ राख्ने भोटको लागी, यस्ता मार्क्सबादी-समाजबादी लाइ यूरोप तिर नै धपाउन पर्छ। त्यस पछि मात्र सनातन परम्परामा आधारीत मौलिक राजनिती आउछ नेपालमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *