थारु बस्तीमा देउसीको रौनक, रेशमको ‘राजाको दरबार’ घन्किँदै
कैलाली ।
कता पर्छ साली काठमाडौं सहर
मलाई पनि भाटु छ घुम्ने रहर
कस्तो होला भाटु राजाको दरबार
घुमाइदिनु भाटु नौ तले धरहरा…
पछिल्लो केही दिन यता कैलाली, कञ्चनपुर बाँके र बर्दियामा यो गीत निकै घन्किएको छ । २०५६ सालमा रेशमलाल चौधरीले लेखेको,सङ्गीत भरेको र उनले नै गाएको यो गीत अहिले पनि थारु बस्तीहरूमा लोकप्रिय छ । राजाको दरबारमा थारु समुदायका मात्रै नभई पहाडी समुदायका व्यक्तिहरू पनि झुमेको देखिन्छ ।
चोली र लेहेंगा, फुन्हाले बाँधेको अघ्रहान, शिरमै मंगिमा, पाखुरामा बाँक र टगिया लगाएका दुई दर्जन बढी थारु महिलाहरू कैलाली पहलमानपुर १० मा देउसी भैलीमा रमाइरहेका थिए । लँगौटी र चिटिक्क परेको स्टाकोट लगाएका थारु समुदायका प्राय पुरुषहरूको शिरमा कालो टोपी थियो । केहीको शिर खाली केही ले भने सेतो फेटा बाँधेका थिए । आफ्ना परम्परागत पोषकमा सजिएर परम्परागत शैलीमै देउसी भैली खेलेका युवाहरूले अन्तिममा भने ‘राजाको दरबार’मा रमाउन थाले ।
त्यसको केही पर अर्को टोली पनि देउसी भैली खेलिरहेका थिए । त्यहाँ पनि राजाको दरबार घन्किरहेको थियो । रेशम चौधरी र आभा मुकारुङको स्वरमा २५ वर्ष पहिले रेडियो नेपालमा रेकर्ड गरिएको उक्त गीतमा सबै समुदायका व्यक्तिहरू रमाइरहेका छन् ।
‘मैले केही नयाँ सृजना गर्ने गरी त्यो गीत आफैले लेखेको थिए । आज पनि त्यो गीत त्यतिकै चर्चामा छ’ रेशम चौधरीले भने, ‘अहिले तिहार मनाउनेहरू यो गीतमा ननाच्ने सायदै विरलै होलान् ।’
रहनसहन, कला संस्कृति झल्काउने गरी तयार गरिएको यो गीतको उनले केही समय अघि भिडिओ पनि सार्वजनिक गरिएको छ । भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठलगायतको अभिनय छ ।
सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी र श्याम लामाले खिचेको भिडियोको निर्देशन सागर क्षेत्री गरेका हुन् । केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको यस भिडियोको निर्माता कुमार कार्की हुन् ।
‘म क्यापस पढ्दा काठमाडौ बाट गाउँ आउँदा काठमाडौ कस्तोहोला भने अबोध सालीले सोधेका कुराहरूलाई लिएर यो गीत तयार गरेको हुँ’, रेशमले भने ‘अझै पनि हाम्रो समुदाय नयाँ ठाउँबाट आफन्त आउँदा त्यो ठाउँको बारेमा सोध्ने र जानकारी दिने चलन छ ।’
काठमाडौं सहरको वर्णन गरिएको यो गीत पछि अहिले रेशमले अर्को संस्करण पनि ल्याउँदै छन्।
राजाको दरवारमाको दोस्रो भाग रेकर्डिङ भइसकेको र सुटिङ हुन मात्रै बाँकी रहेको उनले बताए।
उनले पहिले संस्करण जस्तै दोस्रोमा पनि यस्तै लोकप्रिय हुनेमा आफू विश्वस्त रहेको बताउँछन्।
‘मेरो धेरै गीत संगीतहरुले अहिले पनि धेरै माया पाइरहेका छन्’ उनले भने, ‘राजाको दरवारको दोस्रो भाग पनि लोकप्रिय हुने छ।’
‘राजाको दरबार’ जस्तै रेशमकै अर्को देउसी भैली गीत पनि अहिले थारु समुदायमा घन्किरहेको छ । उनले यो गीत २०५५ सालमा रेकर्ड गराएका थिए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही वर्ष अघिसम्म प्रत्येक वर्ष गीत र गाईजात्रा बजारमा ल्याउने गरेका थिए । अहिले पनि उनका गीत र गाईजात्राहरूको चर्चा हुने गरेको छ ।