राजनीतिमा चितवनले देखाएको विचित्रको आतिथ्य आयाम
चितवन देशको मध्य भागमा रहेर समृद्धि पथमा लम्किरहेको चर्चित जिल्ला हो । मेची र महाकालीलाई समान दृष्टिकोण र व्यवहार गर्ने नारायणी सभ्यता यसको विकसित विशेषता बन्दै गएको छ ।
भौगोलिक, राजनीतिक, आर्थिक, सांस्कृतिक लगायत सबैजसो आयामहरूमा यो जिल्ला अन्य ७६ रै जिल्लावासीका लागि मित्रवत् रहँदै आएको छ । यी सबै कारणहरूका पछि चितवनको विराट सम्भावनाका अतिरिक्त चितवनसँग केही भिन्नै खालको आतिथ्य राजनीतिक मनोविज्ञान र व्यवहार पनि रहेको छ । आतिथ्य राजनीतिक आयाममा चितवनको चर्चा गर्दा निम्न बुँदाहरू धेरै सुनिने गर्छन्
गणतन्त्रका पिताकै क्षेत्रमा राजतन्त्रका पुत्र प्रतिनिधि
गणतन्त्र नेपालका पिता मानिने पुष्पकमल दाहाल प्रचण्डकै क्षेत्रबाट राजतन्त्रका पुत्र मानिने राप्रपाका उम्मेदवार विक्रम पाण्डे जनप्रतिनिधि निर्वाचित भएको ठाउँ हो चितवन । चितवन क्षेत्र नं ३ मा विक्रम पाण्डेको दल राप्रपा वैचारिक जनाधारका हिसाबले एक्लै चुनाव जित्ने आकारमा आइसकेको छैन । पछिल्लो संसदीय निर्वाचनमा पहिलो र दोस्रो ठूलो दलका रूपमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेको प्रत्यक्ष(अप्रत्यक्ष भरथेगले राजावादी उम्मेदवार पाण्डे गणतन्त्रवादी उम्मेदवार डाक्टर भोजराज अधिकारीमाथि हाबी भए ।
ठूला दलहरूले उम्मेदवारी कायम नराखेका कारण पाण्डेलाई विजयी हुन सहज भएको राजनीतिक विश्लेषण छ । यसबाट निर्वाचनमा गणतन्त्रवादी उम्मेदवार हराउन राजावादी उम्मेदवारलाई सघाएको अर्थमा धेरैले बुझ्ने गरेका छन् ।
गणतन्त्रको माग उठाउने अगुवा नेताकै भूमिमा राजतन्त्र पक्षधरलाई विजयी बनाउनु पनि एक प्रकारले अतिथि विचारप्रतिको सम्मान नै हो । यसो गहिरिएर सोचौँ त कस्तो विरोधाभास ! नतिजा जसको पक्षमा गए पनि जनमतको कदर गर्नुपर्ने अवस्था त छँदै छ । चितवनको यही उदार आतिथ्यता सहितको विशेषता नै सर्वत्र चर्चाको विषय बन्दै आएको छ ।
राजनीतिक छोइछिटो अन्त्य र अन्तरघुलनको सन्देश
विसं २०७४ मा स्थानीय निर्वाचनका क्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको राजनीतिक तालमेल विशेष चर्चामा आएको थियो । विपरीत राजनीतिक दर्शन र विचारमा रहेका दलहरुबीच पहिलो पटक एकले अर्कोको चुनाव चिन्हमा मत दिन प्रेरित वा बाध्य बनाइएको अवस्थामा चितवनमा देखिएका केही गतिविधि बढी नै चर्चित थिए ।
कम्युनिष्ट त्यो पनि माओवादीको चुनाव चिन्हमा मरे पनि भोट हालिन्न भन्दै गरेका काँग्रेसी मतदातालाई राजनीतिक अन्तरघुलन र मत साटफेरमा प्रेरित वा बाध्य बनाइएको विशेष ठाउँ हो चितवन ।
निर्वाचनमा काँग्रेस माओवादीबीच भएको गठबन्धनले राष्ट्रिय बहस सिर्जना गर्यो । परिणाम जेजस्तो आए पनि अन्तत: चितवनका मतदाताले सबै परिस्थितिलाई स्वीकार गरे । कारण हो सबैलाई नजिककै देख्ने मनोविज्ञान । यसको पछाडि चितवनको पर्यटन धर्म र आतिथ्यभाव पनि सहयोगी बनेको थियो ।
पछिल्ला चुनावमा माओवादी र नेपाली काँग्रेसबीचको गठबन्धन राष्ट्रियरुपमै मन र मत साटफेरको अवस्थामा पुग्यो । यसले पनि राजनीतिक छोइछिटो अन्त्य गरी समभाव पैदा गर्नमा चितवनले सघाएको कतिपयको विश्लेषण छ । यो पाटोमा पनि चितवनको आतिथ्य संस्कार सहयोगी रह्यो भन्नुमा अन्यथा नहोला ।
बाह्य उम्मेदवारको वरण
चितवनले विसं २०७० मा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई प्रतिनिधिसभा/संविधानसभा सदस्य जिताएर प्रधानमन्त्री बन्ने ढोका खोलिदिएको हो ।
बाँकेमा काँग्रेसका जिल्लास्तरीय नेता कार्यकर्ताले पटक पटक हराउने घुर्की देखाइरहेका बेला चितवनले कोइरालालाई सजिलै अपनाएको हो । यसको पछाडि पनि चितवनको आतिथ्य आयामले भूमिका निर्वाह गरेको छ ।
नयाँ शक्तिको हेडक्वार्टर
चितवन व्यक्ति, समूह वा राष्ट्रिय शक्तिकै हेडक्वार्टर निर्माणमा पनि उत्तिकै सहयोगी देखिएको छ । पत्रकारिताबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विभिन्न विवादकाबीच पनि कीर्तिमानी नतिजा दिलाइदिने ठाउँ हो चितवन ।
न्यायिक फैसलाबाट बदर भएको पदमा दोहोर्याएर चुनाव लड्दा पनि देशकै सर्वाधिक मत र मतान्तर सहित कीर्तिमानी उम्मेदवार बनाउन चितवनवासी मतदाताले उदारता देखाएका हुन् । यसको पछाडि पनि चितवनको आतिथ्य मनोविज्ञान नै मुख्य कारण हो ।
रवि लामिछानेको पुनः उम्मेदवारी अनिश्चय रहेका बेला दाङबाट पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेललाई स्वागत गर्ने विषयमा पनि विभिन्न चरणमा छलफल भएको थियो । तर पछि थप जोखिम हुने सम्भावना देखिएको भन्दै नेता पोखरेल हच्किएको एमाले वृत्तमा चर्चा हुने गरेको छ ।
सहकारीको रकम हिनामिनामा रविको राजनीतिक भविष्य के हुने हो भन्ने संशय रहिरहेको वर्तमान अवस्थामा पनि शंकर पोखरेलजस्ता राष्ट्रिय व्यक्तित्वलाई अवसर दिनुपर्छ भन्ने भनाइ अझै हराइसकेको छैन । कथम् रविको सांसद पद जाने अवस्था आएमा यस खालका सम्भावनाका ढोका खुल्लै राख्नुपर्छ भन्ने आवाज अझै पनि चितवनमा सुनिने गरेको छ ।
चितवनले वरिष्ठ उद्यमी उमेश श्रेष्ठलाई पनि अपनाउन हिचकिचाएको थिएन । उनको उम्मेदवारी रवि लामिछानेबाहेक अरू कोहीसँग परेको भए उनलाई पनि चितवनका मतदाताले अस्वीकार गर्ने अवस्था नरहेको चर्चा हुने गरेको छ । शिक्षा, वित्तीय क्षेत्र, कृषि पर्यटनजस्ता क्षेत्रमा श्रेष्ठले बढाउँदै गरेको लगानीको लाभ चितवनवासीलाई दिलाउनु पर्छ भन्ने मनोविज्ञानले उनको माहोल राम्रै बनेको हो ।
काँग्रेस नेतृ सुजाता कोइरालाले विराटनगर क्षेत्रका मतदाताको विश्वास जित्न नसकेपछि चितवनको आतिथ्य ग्रहण गर्ने चर्चा पनि उति बेला चलेको थियो ।
आबादीका हिसाबले चितवन नयाँ भूमि भएकाले नवप्रवेशीहरुलाई पनि सजिलै नेतृत्वमा जान सहज हुने गरेको छ । बाहिरी जिल्लाबाट आई अध्ययन वा अन्य कुनै व्यवसायमा रहेर पनि प्रमुख दलकै नेतृत्व दिलाउन यहाँका जनता उदार देखिएका धेरै उदाहरण छन् । नयाँ परिवेशमा नयाँ नयाँ सम्भावनाका चर्चाहरू पनि बारम्बार सुनिँदै आएका छन् ।
के होला त ८४ मा ?
सबै उम्मेदवारप्रति उदार देखिने चितवनका मतदाताको पछिल्लो निर्वाचन मनोविज्ञान हेर्दा राजनीतिक नयाँपनको खोजी बढ्दै गएको देखिएको छ । नयाँ प्रयोगसँगै जिल्लाको समृद्धिका लागि अधिकतम लाभ भित्र्याउन यहाँका मतदाता अझै केही वर्ष लाग्न सक्ने धेरैको अनुमान छ । तर यसबीचमा जिल्लालाई राजनीतिक प्रयोगको थलो बनाउन हुँदैन भन्ने आवाज पनि मुखरित हुन थालेको छ ।
जिल्लाभित्रबाटै सम्भावनायुक्त पात्र र परिवेशको नयाँ ढंगले खोजी गर्नुपर्ने धारणा बलियो हुनसक्ने पनि देखिएको छ । ८४ आउन करिव तीन वर्ष बाँकी छ । यही नै हुन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन । त्यतिञ्जेलसम्म नारायणी, राप्ती र रिउ खोलामा धेरै पानी बगिसकेको हुनेछ ।
र अन्त्यमा,
ऐतिहासिक उपरदाङ गढी, स्थापित गन्तव्य सौराहा, जगतपुर, पटिहानी, मेघौलीजस्ता उदाउँदा गन्तव्य, विश्व साहित्यकै आदिकवि बाल्मिकीको आश्रमजस्ता वैभवले सबै किसिमका अतिथिहरूलाई तानिरहेका छन् । प्रकृति र संस्कृतिसँग जोडिएका दर्जनौं गन्तव्य चितवन भित्रै छन् । पर्साको ठोरी र नवलपुरको मौलाकालिका धुरी, तनहुँको देवघाट र गोरखाको मनकामना क्षेत्र सबैले चितवनसँग आतिथ्यता साझेदारी गर्ने वातावरण बन्दै गएको छ ।
देवघाट, नारायणघाट, रामघाट, शिवघाट, काप्रेघाट, घोसरघाट र गोलाघाटसम्मको पवित्र जलसँगै प्रवाहित कालीगण्डकी सभ्यतामा रमाउन र यसैमा विसर्जित हुन चितवनले हरेकलाई सघाइ रहेको छ । यो पनि भौतिक वा आध्यात्मिक रूपमा चितवनले देखाएको आतिथ्यता नै हो ।
अतिथि देवो भवः
(लेखक नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक एवं चितवन पत्रकार समाज, काठमाडौंका अध्यक्ष हुन्)