‘पूर्णबहादुरको सारङ्गी’ ले बजाएका धुनहरू
भुईंसम्मै टेकेँ मैले तिमी टेक्नु धुरी
सकेजति छेकिदिउँला घाम, आँधि हुरी
पाखुरीमा ताकत रहेसम्म बोकिहिँड्छु
हालेर काँधेकुरी…
अहिले टिकटकमा निकै भाइरल भइरहेको यस गीतले चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को सिंगो कथासार बोकेको छ । सारंगी रेटेर पेट पाल्ने एक गन्धर्व गायकले आफ्नो छोरालाई ‘ठूलो मान्छे’ बनाउन गरेको संघर्ष र त्यागको कथा चलचित्रले पेश गर्छ ।
पञ्चायतकालीन नेपालको सामाजिक परिवेश (थोरै राजनीतिक अन्तरघुलनसहित) लाई चित्रण गर्दै चलचित्रले बाबु–छोराको सम्वन्धलाई मार्मिकरुपमा वर्णन गरेको छ । नेपाली मौलिकताको सुगन्ध बोकेको सतप्रतिशत ‘अर्गानिक’ चलचित्र हो यो । सुरुदेखि अन्त्यसम्म दर्शकलाई भावनात्मकरुपमा बाँधेर राख्ने र हेरिसकेपश्चात पनि मनमस्तिष्कमा प्रभाव पारिराख्ने क्षमता चलचित्रमा छ ।
यस्तो छ कथासारः
रातोदिन सारंगी रेटेर जीवन गुजारा गरिरहेको पूर्णबहादुर गन्धर्व (विजय बराल) यस चलचित्रको केन्द्रीय पात्र हो । उसले आफ्ना पिताबाट विरासतमा पाएको सारंगीलाई जिउने आधार बनाएको छ । रोगी र वयोवृद्ध बुवा छोराको सहारामा बाँचिरहेका छन् ।
पूर्णबहादुरलाई गाउँका कथित ठूलाबडाहरुले गर्ने तिरस्कार र सामाजिक विभेदले कुनै फरक पर्दैन । आफ्नो कर्ममा नै मागेर खान लेखेकोमा उ विश्वस्त छ । सन्तान दरसन्तानले पनि यही पेशा अंगाल्नुपर्छ भन्नेमा ढुक्क छ । तर, पूर्णबहादुरले विवाह गरेपछि कथाले नयाँ मोड लिन्छ ।
पूर्णबहादुरले रोदी जितेर आफूले मनपराएकी केटी बाटुलीलाई भगाउँछ । पूर्णबहादुरको कलासँग लोभिएर आएकी बाटुली विहेपछि फरक मनोदशामा पुग्छिन् । श्रीमानलाई गाउँसमाजमा गरिएको अपमानजनक व्यवहारले उनलाई बिझाउँछ ।
श्रीमानले मागेर खाएको देख्दा श्रममा विश्वास गर्ने बाटुलीको आत्मसम्मानमा ठेस लाग्छ । अनि सुरु हुन्छ श्रीमान–श्रीमतीबीच अन्तरविरोध । सन्तानप्राप्तिपश्चात अन्तरविरोध अझै सघन बन्न थाल्छ । बाटुलीले कुनै पनि हालतमा छोरालाई ‘गाइने’ नबनाउने प्रण गर्छिन् ।
दमले च्यापेर पूर्णबहादुरको पिताले मृत्यूवरण गर्छन् । त्यही दिन बाटुली बालक छोरो लिएर गाउँको एक युवकसित शहर हिँड्छिन् । तर, छोराले बाटोमै आमालाई छोडेर भाग्छ, र घर फर्किन्छ । आफूलाई शहर पुर्याएर काममा लगाउने आश्वासन दिएका युवकको नियत पनि ठिक नभएको पाएपछि बाटुली यता न उताको हुन्छिन् ।
बुवाको किरिया बसेको पूर्णबहादुर श्रीमती ‘पोइल हिँडेको’ खबरले भड्किन्छ । तर, छोरो फिर्ता आएपछि उसले आफूलाई सम्हाल्छ । र, आफ्नो बाँकी जीवन छोराकै लागि समर्पित गर्छ ।
पूर्णबहादुरले कहिल्यै अर्को विवाहको बारेमा सोच्दा पनि सोच्दैन । बीचमा केही घटनाक्रमहरुले गर्दा उसको जीवनको अभिष्ट पनि फेरिन्छ । उ छोरालाई अब आफूजस्तो ‘गाइने’ होइन सेतो कोट लगाउने डाक्टर बनाउने महासंकल्प लिएर संघर्षको नयाँ आयाममा प्रवेश गर्छ ।
कलाकारहरुको अभिनय
‘पूर्णबहादुरको सारंगी’ भूमिकाको हिसाबले पूर्णरुपमा विजय बरालको चलचित्र हो । सिंगै चलचित्र उनको वरिपरि घुमेको छ । अरु सबै सहायक पात्रहरु हुन् ।
बरालका लागि यो चलचित्र विशेष महत्वपूर्ण हुनेछ । यसअघि अधिकांस चलचित्रमा मुख्य पात्रको मतियार वा चम्चाको रुपमा देखिने गरेका उनले पहिलोपटक लिड रोल पाएका छन् । त्यसैले पूर्णबहादुर उनको लागि एउटा छलाङ नै हो । यो चलचित्र व्यवसायीकरूपमा सफल भयो भने सबैभन्दा बढी फाइदा उनलाई नै पुग्ने निश्चित छ ।
जस्तो भूमिकामा पनि ज्यान भर्न सक्ने क्षमताका बरालले ‘पूर्णबहादुर’ चरित्रलाई पनि पूर्ण न्याय दिएका छन् । अन्य चलचित्रमा उनको पात्रमा देखिने रोचकता भने पूर्णबहादुरमा छैन । कबड्डीबाट उनको फ्यान बनेकाहरुलाई पूर्णबहादुरको भावुक अवतारमा अलि खल्लो लाग्न सक्छ ।
पूर्णबहादुरको छोराको भूमिकामा प्रकाश सपुतको छनोटमाथि भने प्रश्न उठाउन सकिन्छ । कथाले उनीभन्दा निकै कम उमेरको कलाकार माग गरेको छ । भर्खर एसएसली पास भएको टिनएजरको भूमिका सपुतलाई सुहाएको छैन । अभिनय पनि ‘वाउ’ भन्ने खालको छैन ।
पूर्णबहादुरकी पत्नी बाटुली बनेकी अञ्जना बराइलीको अभिनय शशक्त छ । भूमिका लामो नभए पनि उनले आफ्नो छाप छोडेकी छन् । उनको अनुहारको एक्सप्रेसनले नै धेरै कुरा बोल्छ ।
चलचित्रमा प्रभावकारी उपस्थिति जनाएका अर्का कलाकार हुन् मुकुन भुषाल । उनको भूमिका र अभिनय दुवै बलियो छ । मर्दा र पर्दा सँधै साथ दिने नजिकका दाजुभाइहरु पनि तपाईंको प्रगतिमा भने खुशी हुन सक्दैनन् भन्ने उनको चरित्रमार्पmत अभिव्यक्त गरिएको छ ।
बुद्धी तामाङको भूमिका र अभिनय दुवै विशेष छैन । उनको ठाउँमा जो कलाकार भए पनि हुन्थ्यो । बुद्धीबाट दर्शककले थोरबहुत हास्यरसको अपेक्षा गर्छन्, जुन चलचित्रमा पूरा हुँदैन ।
चलचित्रमा बालकलाकार स्वयम् केसीको भूमिका पनि अहम् छ । उनले पनि चित्तबुझ्दो अभिनय गरेका छन् । आफूलाई चलचित्रको कमजोर कडी बन्न दिएका छैनन् ।
शंकर आचार्य, माओत्से गुरुङ र भोलाराज सापकोटा आआफ्नो भूमिकामा जमेका छन् । अन्य कलाकारहरुको अभिनयमा पनि खोट लगाइहाल्ने ठाउँ छैन ।
सबल पक्ष
निर्देशक सरोज पौडेलको यो पहिलो चलचित्र हो, तर उनको काम कुनै अनुभवि निर्देशकको भन्दा कम छैन । निर्देशकीय हिसाबले ठूलो गल्ति गरेका छैनन् । सकेसम्म हरेक कुराहरु जिवन्त र यथार्थपरक देखाउने प्रयत्न गरेका छन् । ५० वर्ष पुरानो जनजीवन पर्दा उतार्न चुनौतिपूर्ण नै थियो । यसमा निर्देशकको यथेष्ट मिहिनत परेको छ ।
चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको मौलिक विषयवस्तु नै हो । पुरातन नेपाली समाजभित्रको एउटा सीमान्तकृत पात्रको कथालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ । कथामा कोही पनि नायक–नायिका, खलनायक, हास्यकलाकार आदि छैनन् । केवल कलाकार छन् । कलाकारको चरित्रचित्रणमा पर्याप्त ध्यान पुर्याइएको छ ।
चलचित्रका थुप्रै सन्दर्भहरु सम्झनायोग्य छन् । धेरै दृष्यले दर्शकको मन निचोर्छन्, आँखा भरिदिन्छन् । अरुले फालेको स्कुलको ड्रेस लगाएर हिँड्दा कमललाई स्कुलको मास्टरले ‘गाइनेहरुले यस्तो लुगा लगाउनुहुन्न’ भन्दै जबरजस्ती फुकाल्न लगाउँछन् । त्यसपछिको दृश्यमा एउटा खेतबारीमा त्यस्तै स्कुलको लुगा लगाएर ठडिएको बुख्याँचा देखिन्छ । त्यो देखेर पूर्णबहादुरको बाबुछोराले केही बोल्दैनन्, तर दर्शकले बुझ्छन् ।
छोराले स्कुलको नाटकमा डाक्टर बनेपछि नमस्कार खाँदा पूर्णबहादुरले अनुभव गरेको आत्मसम्मान, शहरबाट छोराले पठाएको चिठी पढ्न लाउँदाखेरि उनको अनुहारमा देखिएको जिज्ञासा र उत्साहलाई जिवन्तरुपमा उतारिएको छ ।
चलचित्रमा तत्कालीन राजनीतिक परिवेशलाई खासै जोड दिइएको छैन । यद्यपि, राजनीतिलाई छोइएको छ । प्रजातन्त्रका लागि लडेका कम्युनिष्ट विचारधारा बोक्नेहरुप्रति आलोचनात्मक दृष्टिकोा राख्दै चलचित्रले उनीहरुको द्वैध चरित्र उजागर गर्न खोजेको छ । बोलीमा क्रान्ति र समानताको कुरा गर्नेहरु नै व्यवहारमा सामन्तवादी थिए भन्छ चलचित्रले ।
प्राविधिक पक्षहरुमा पनि चलचित्र सवल नै छ । सिनेमाटोग्राफीदेखि ब्याकग्राउन्ड स्कोर प्रभावकारी छन् । सन्दर्भअनुसार पात्रको अनुहारमा कलर खेलाइएको छ ।
चलचित्रको अर्को सवल पक्ष संगीत पनि हो । सबै गीतहरु कर्णप्रिय हुनुको साथै कथाको माग अनुसार पनि छन् । गीतले कथामा रोकावट पैदा गरेको महसुस हुँदैन ।
कमजोर पक्ष
चलचित्रको सबैभन्दा ठूलो कमजोरी चाहिँ आवश्यकताभन्दा बढी पीडादायी बनाउने प्रयास हो । चलचित्रमा दर्शकले सन्तोषको सास फेर्न पाउने ठाउँहरु थोरै छन् । मनोरञ्जन खोज्न हलसम्म जाने दर्शकलाई चलचित्र अलि बोझिलो लाग्न सक्छ । केही भावुक दृष्यहरुले दर्शकलाई कनेक्ट नगर्न पनि सक्छन् ।
थुप्रै नेपाली फिल्म मेकर्सहरुमा फिल्म हिट हुन दर्शक रुवाउनुपर्छ भन्ने खालको सोच पाइन्छ । दर्शक रुँदै हलबाट निस्किए भने त्यसलाई उनीहरुले ठूलो सफलताको रुपमा लिन्छन् । तर, भुल्नु के हुँदैन भने दर्शक टिकट काटेर हलसम्म जाने भनेको मुलतः मनोरञ्जनका लागि हो । दुई–अढाइ घन्टा खुशी हुनलाई हो । रुनलाई मान्छेसँग आफ्नै दुख काफी छन् । दु:खैदु:खमा चलचित्र सिध्याउनु दर्शकप्रति अन्याय हो ।
पूर्णबहादुरको सारंगीभित्र हल्काफुल्का दृष्यहरुको कमि महसुस हुन्छ । बीचबीचमा हास्यरस मिसाएको भए सुनमा सुगन्ध हुन्थ्यो । विजय बराल र अञ्जना बराइलीबीच अलिकति प्रेम–रोमान्स वा नोकझोकहरु थप्न सकिन्थ्यो । यी कुराहरु नहुँदा सुरुदेखि अन्त्यसम्मै चलचित्र ‘भावुक’ बन्न पुगेको छ ।
चलचित्रको कथा बलियो भए पनि पटकथामा त्रुटिहरु छन् । प्रकाश सपुतको क्यारेक्टरलाई सुरुमै एक्सपोज गर्नु आवश्यक थिएन । यसले क्लाइमेक्सको कौतुहल समाप्त गरिदिएको छ । अन्त्यमा के हुन्छ भनेर दर्शकले सहजै अनुमान गर्न सक्छन् ।
पिताको मृत्यू हुनासाथ शहरमा रहेका छोराले किन खबर पाएनन्, जबकि उनीसँग सहजै फोन सम्पर्क हुन सक्थ्यो भन्ने प्रश्न अनुत्तरित छ । सबैभन्दा कमजोरी चाहीँ पूर्णबहादुरले स्वर गुमाएको घटनामा गरिएको छ । गीत गाएर पेट पाल्ने व्यक्तिले आवाज गुमाउनु एकदमै हृदयविदारक हो । तर, यसलाई निकै हचुवा तरिकाले प्रस्तुत गरिएको छ, जसले दर्शकमा खासै ठूलो संवेदना सिर्जना गर्न सक्दैन ।
साथै, यो घटनालाई हिन्दू धर्मसँग जोड्न खोज्नु पनि विल्कुलै आवश्यक थिएन । भजनकिर्तन भइरहेको ठाउँमा गीत गाउन खोज्दा कुटपिट गरिएको लखेटिएको दृष्यले हिन्दू धर्मलाई नै आक्षेपित गरेको प्रतित हुन्छ । नेपालमा हिन्दू धर्माबलम्बिहरु यति अमानवीय अवश्य छैनन् ।
चलचित्रमा बाटुलीको कथालाई अधुरै छोडिएको छ । उत्तराद्र्धतिर उनलाई कथामा फर्काएर वा आमाछोराको मिलन गराएर एउटा रोचक ट्स्विट ल्याउन सकिन्थ्यो । सायद लेखकले क्लाइमेक्सलाई ‘फिल्मी’ बनाउन चाहेनन् ।
निष्कर्ष
कमीकमजोरीका बाबजुद ‘पूर्णबहादुरको सारंगी’ एउटा सशक्त चलचित्र हो, जसमा बाबु–छोराबीचको आत्मीय सम्वन्धको धुन भेटिन्छ । छोराका लागि संघर्ष गरेका हरेक बाबु र बाबुको संघर्ष बुझेका हरेक छोराले यो चलचित्र हेरिरहँदा आफूलाई ‘रिलेट’ गर्न सक्नेछन् ।
नेपाली चलचित्रको बदलिएको धारलाई प्रतिनिधित्व गर्ने चलचित्र पनि हो पूर्णबहादुरको सारंगी । कुनै पनि चलचित्रमा राम्रो अनुहार र जिउडाल भएका दुई थान हिरो–हिरोइन हुनैपर्ने बम्बइया थ्यौरी नेपाली चलचित्रको मुलधारले खारेज गरिसकेको छ । चलचित्रमा मुख्य भूमिका पाउन अनुहार र जिउडाल होइन, अभिनय क्षमता हेरिन्छ । दयाहाङ राईदेखि विपिन कार्की हुँदै जितु नेपालसम्मलाई दर्शकले लिड क्यारेक्टरमा स्वीकारिहेका छन् । यही श्रृंखलाको पछिल्लो कडी बनेका छन् विजय बराल ।
‘नेपाली चलचित्रलाई माया गरौं’ भनेर दर्शक डाक्नुपर्ने चलचित्र होइन पूर्णबहादुरको सारंगी । चलचित्रमा नयाँ–नयाँ स्वाद खोज्ने दर्शकहरुले यो चलचित्रको टिकट काट्दा पैसा खेर जाँदैन ।