प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेरमात्रै विकास निर्माण अघि बढाऔं: पूर्वराष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेरमात्रै विकास निर्माण अघि बढाऔं: पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताएकी छन् ।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के-केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्नेमा उनले जोड दिइन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले यसअघि कस्तो खालको परिस्थिति थियो भन्ने कुराको मूल्यांकन गरी १०० वर्षपछिका लागि हुने गरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताइन् ।

 

‘दिगो विकास गर्ने भइसकेपछि वन गल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्छ’, उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माण अघि बढाउनुपर्ने बताइन् ।

शहरीकरण कस्तो ठाउँमा गर्ने भन्ने कुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उनले उल्लेख गरिन् ।

‘नेपाल खास गरी प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्छ । समय–समयमा आइरहने भूकम्पको कारणले बस्तीहरु, बाटोघाटोहरु विभिन्न प्रकोपहरु पनि बढ्ने हुन्छ । त्यसले प्रत्यक्ष हानि नोक्सानी भनेको जनतालाई नै गर्छ’, उनले भनिन्, ‘विश्व तापक्रम अत्यधिक बढेको र विश्व तापक्रम बढेको कारणले गर्दा विश्वलाई नै संकटतर्फ धकेलिरहेको छ । जुन जलवायु अनुकूलन खालको वातावरण हुनुपर्ने हो, प्रकृति र मानव जगतको लागि त्यो नभएर अप्रत्याशित ढंगले चिसो हुने र अप्रत्याशित ढंगले गर्मी हुने, अप्रत्याशित पानी पर्ने, त्यो खालको स्थिति छ । यस वर्षको अग्रिम जलवायुको सूचना हेर्दा पनि यो हिउँद महिना पनि हाम्रो लागि त्यति सहज छैन भन्ने छ । हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरु छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनै पनि निर्माण गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माणबाट हामीलाई संकट पनि नआओस्, त्यो निर्माण सुरक्षित होस् र मानव जीवन भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न हामीले काम गर्नुपर्छ ।’

दिगो विकासको त अहिले प्रसिद्ध थेगो नै बनेको उनको टिप्पणी थियो ।

‘राज्यको तर्फबाट पनि दिगो विकासका लक्ष्यहरु भनिएको छ । दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छ । १०० वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले १०० वर्ष पछिसम्म थेग्नेगरी निर्माण गर्नुपर्छ’, उनले भनिन्, ‘तर अहिले तदर्थवादमा नै बढी चलिरहेको छ । दिगो विकास गर्ने भइसकेपछि हामीले हरेक कुरा जस्तैः वनजंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ । नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ, यस्तो कुराको पहिला नै हिसाबकिताब हुनुपर्छ । त्यो योजना जनतालाई पहिला नै दिनुपर्छ । जनताले त्यो थाहा पाउनुपर्छ । त्यसो भएमात्रै मानव जीवनलाई सुरक्षा प्रदान गर्नसक्छौं । मानिसको जीवनचक्रमा धेरै कुरा जोडिएर आएको हुन्छ । प्रकृति पनि, संस्कृति पनि, सम्पदा पनि । यो कुरालाई ध्यानमा राखेर नै हामीले विकास कार्यहरु अघि बढाउनुपर्छ ।’

तत्काल कुनै घटना भयो भने उद्धार, राहतको लागि तत्काल व्यवस्था गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीले दिगो व्यवस्थापनमा जान खासगरी मानव बस्ती शहरीकरण कस्तो ठाउँमा गर्ने भन्ने कुरामा जनताको पनि र राज्यको पनि ध्यानाकर्षण हुन आवश्यक रहेको बताइन् ।

नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट संकट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले निर्माण सुरक्षित बनाइ मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *