बाँकेको खजुरामा एकै परिवारका ६ जनामा झाडावान्ता, एकको मृत्यु
रुपन्देही । बाँकेको खजुरा गाउँपालिका- ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडावान्ता हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पुरी र तरकारी खाएका केशवराम अहिरका परिवार बिरामी परेका हुन् । झाडावान्ताले ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको छ ।
अहिरको स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशील थापाले जानकारी दिए ।
थापाका अनुसार ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जीना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव बिरामी परेका छन् । बिरामी सबैलाई नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको छ ।
अहिले उनीहरुको भेरी अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको छ । १४ वर्षीय जसमनको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनाबारे बुझ्न स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थल गएको छ ।