राज्य संयन्त्रको कमजोरीमा टेकेर आशिका तामाङको ‘जगजगी’ – Nepal Press
ब्लग

राज्य संयन्त्रको कमजोरीमा टेकेर आशिका तामाङको ‘जगजगी’

काठमाडौं । अहिले हाम्रो दैनिक आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको एउटा विशेषता यो हो कि यसले कोही पनि आममान्छेलाई रातारात चर्चित बनाइदिन सक्छ । चर्चाको आयु भने निश्चित हुँदैन ।

पछिल्ला दिनमा सामाजिक सञ्जालले ह्वात्तै चर्चामा ल्याएको एक नाम हो- आशिका तामाङ । केही वर्षअघि दशैंताका एउटा भिडिओमा बोलेका शब्दले ‘भाइरल’ भएकी उनी अहिले आफ्ना क्रियाकलापका कारण ‘ट्रेन्डिङ टपिक’ बनेकी हुन् । मानिसहरु उनको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । उनले विभिन्न ठाउँमा क्यामरासहित पुगेर हस्तक्षेप घटनाहरुमा ताली र गाली समानान्तर आइरहेका छन् ।

मेडिकल साइन्सले भन्छ, मान्छेको मस्तिष्कको औसत तौल १ हजार २०० देखि १ हजार ४०० ग्रामसम्म हुन्छ । यही मस्तिष्कको प्रयोग गरेर आइन्सटाइनले विज्ञानको कोर्स नै बदले । यही मस्तिष्कको प्रयोग गरेर चार्ल्स डार्बिनले क्रमिक विकासको अध्ययनमा उलटफेर ल्याए । यही मस्तिष्कको उच्चतम प्रयोग गरेर युवल नोह हरारी अहिले संसारभर चर्चामा छन् ।

यही सवा एक किलो मस्तिष्कको प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओली सुशासन र समृद्धिको गफ छाँटिरहेका छन् । यही मस्तिष्कको प्रयोग गर्दै कुत्सित मनसाय राखेर दलाल र विचौलियाहरुले निमुखा नागरिकहरुलाई ठगिरहेका छन् । यही सवा एक किलो मस्तिष्कको प्रयोग गरेर आशिका तामाङ सामाजिक सञ्जालमा छाइरहेकी छन् । मानिसहरुले पनि यही मस्तिष्क प्रयोग गरेर उनीमाथि टीकाटिप्पणीहरु गरिरहेका हुन् ।

आशिका तामाङ कति सही छन् र कति गलत भनेर तराजुमा तौलन हामी सक्दैनौं । उनको नियत सफा नै देखिन्छ । यद्यपि उनको क्रियाकलापहरुले गम्भीर सवालहरु पैदा गरेका छन् । सबैभन्दा ठूलो सवाल के हो भने यदि कुनै ठाउँमा गलत काम भइरहेको छ भने त्यसलाई एउटा आमनागरिकले हस्तक्षेप गर्ने सही तरिका यो हो कि होइन ?

यहाँ एक रुपैयाँ पर्ने डिकोल्डलाई साढे तीन रुपैयाँ तिर्नुपर्छ । यहाँ सामान्य उपचार गर्न ठूला अस्पतालमा गोजी रित्याउनुपर्छ । सुत्केरी हुन जाँदामात्रै लाखौंको बिल थमाइन्छ । बिरामीले सास फेर्न बन्द भइसकेपछि पनि ‘थप उपचारका लागि’ भन्दै एउटा परिवारको भावनासँग खेलवाड गरेर उनीहरुलाई सडकमा ल्याइन्छ ।

यहाँ राम्रा भनिएका निजी स्कुलहरुमा महिनाको बीसौं हजार रुपैयाँ फीमात्रै बुझाउनुपर्छ । यातायात कार्यालयमा लाइसेन्सका लागि सीसीटीभी र अन्य रेकर्डहरु छल्दै घुस माग्नेहरु छ्यापछ्याप्ती भेटिन्छन् । मालपोत कार्यालयको गेटबाटै दलालले पिछा छाड्दैन । दलालसँग डिल फाइनल नगरेसम्म कर्मचारीले काममा भाँजो हालिदिन्छ । यहाँ खुलेआम नदी, खोलामा डोजर कुदाएर राज्यको सम्पत्तिमाथि लुटपाट मच्चाइन्छ । खोला दोहनले निम्त्याएको पर्यावरणीय चुनौती त बहसको अर्कै विषय भयो ।

दशैंको वेला घर जान बसको टिकट पाउन पनि यहाँ घुस खुवाउनुपर्छ । रेस्टुरेन्टहरुमा राज्यको नियमन छैन, ग्राहकले मनपरी मूल्य तिर्नुपर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बदाम छोडाउँदै घाम तापेर बस्छ । ग्राहकले गुणस्तरहीन, सडेगलेका खानेकुरा खानुपर्छ । अनि जनताले प्रश्न गर्न सुरु गर्छ, राज्य खै ? संविधान छ, कानून छ, त्यसको कार्यान्वयन खै ?

यहाँ हरेक खुड्किला जनतालाई ठग्न बनाइएका छन् । हरेक सासमा जनता ठगिनु परेको छ । जनताले एकएक पैसा तिरेको करले चलेको यो देशमा जनताले पाउनुपर्ने आधारभूत सुविधा खै ? राज्यलाई गर्नुपर्ने प्रश्न यावत छन् । राज्यले सम्बोधन गर्नुपर्ने सामान्य मुद्दाहरु अनवरत छन् । जनता राज्यसँग पूरै असन्तुष्ट छन् । यही असन्तुष्टिले सिर्जना गरेकी एक ‘विद्रोही’ पात्र हुन् आशिका तामाङ, तर उनको ‘विद्रोह’ ले समाधान दिन्छ कि नयाँ समस्याहरु जन्माउँछ ? चिन्ताको विषय यो हो ।

सामाजिक अभियन्ता भन्दै क्यामरासहित सरकारी निकायदेखि निजी व्यवसायमा प्रवेश गरेर मानिसहरुलाई थर्काउने प्रवृत्ति पछिल्लो समय विकृतिकै रुपमा मौलाइरहेको छ । ज्ञानेन्द्र शाहीदेखि शर्मिला वाइबासम्मले अभ्यास गरेका यस्ता क्रियाकलापहरु सभ्य समाज र कानूनी राजका लागि चुनौती हुन् भन्न सायद धेरै अन्कनाइरहनु नपर्ला । कसैको शैली बढी अराजक त कसैको अलि शिष्ट वा नरम देखिएला, तर प्रवृत्ति उस्तै नै हो । एक थान बुम र क्यामरा साथमा भइसकेपछि यो प्रवृत्तिले ठान्छ ‘म नै प्रहरी हुँ, म नै वकिल हुँ, म नै न्यायाधीश हुँ, म नै अदालत हुँ, म नै राज्य हुँ ।’

कुनै पनि किसिमका अनियमितताका विरुद्धमा जो कसैले गर्ने गर्ने हस्तक्षेप आममानिसहरुलाई मन पर्ने नै भयो । त्यो हस्तक्षेपको शैली जति कडा भयो, जनताको एउटाको एउटा तप्काबाट त्यति नै वाहवाही मिल्छ । यो त्यही तप्का हो, जो राज्य प्रणाली र शासकहरुसँग चरम असन्तुष्ट छ । जो पाइला-पाइलामा ठगी र भ्रष्टाचारको शिकार बनिरहेको छ । आशिका तामाङहरुको ‘कारवाही’ ले उनीहरुलाई क्षणिकरुपमा भए पनि सन्तोष मिल्छ । यदि राज्यसंयन्त्र बलियो थियो भने, यसले सबैतिर आफ्नो उपस्थिति देखाउन सकेको भए अभियन्ताहरुले यसरी स्पेस पाउने नै थिएनन् ।

केही समयअघि आशिकाले साँगाको पुलमा काटिने टिकट जलाएको भिडियो भाइरल भयो । उक्त पुलमा मान्छेहरु टिकटकको भिडियो बनाउन र फोटो खिच्न जाने गरेका थिए । उनीहरुलाई नै लक्षित गरेर वडा कार्यालयले २० रुपैयाँ दस्तुर लिन्थ्यो । आशिकाले गएर टिकट जलाइदिइन् र त्यहाँ काम गर्नेहरुलाई थर्काएर हिँडिन् । त्यो टिकट कुनै अमूक व्यक्तिले नभएर राज्यले काटिरहेको थियो । यसरी टिकट काट्नु गलत लागेको भए यसको समाधान खोज्न उनी सम्वन्धित निकायमा पुग्नुपथ्र्यो । केही थान टिकट जलाएर यसको निरुपण हुनेवाला थिएन ।

अरु पनि थुप्रै भिडिओहरु आशिकाले हालिरहेकी हुन्छिन् । कतिपय भिडिओहरु हेर्दा थोरै पैसामा काम गर्ने मजदुर र साना व्यापारीहरु उनको निशानामा परेको देखिन्छ । त्यसो त कति वास्तविक ठगहरुलाई पनि उनले सातो लिएकी छन् । जस्तो कि राजमार्गका यात्रुहरुलाई न्यून गुणस्तरको खाना खुवाउने र महंगो रकम ठटाउने होटल साहुहरु उनीसँग त्राहिमाम छन् । काठमाडौंका सपिङ मलहरुभित्र पार्किङ शुल्कका नाममा भइरहेको चर्को असुलीको विषयलाई उनले बहसमा ल्याइन् । रेस्टुरेन्टभित्र १५ रुपैयाँको पानी ५५ रुपैयाँमा बेच्नेहरुले आशिका तामाङ पो आइपुग्छिन् कि भनेर डराउनुपर्ने स्थिति आएको छ । कति ठाउँमा त आशिका तामाङलाई बोलाइदिन्छु भनेर समेत ठग व्यवसायीहरुलाई तर्साउन थालिएको छ ।

उद्योगी व्यवसायीका पनि आफ्ना दु:ख छन् । आर्थिक मन्दीबाट गुज्रिरहेको छ देश । चालू आर्थिक वर्ष (२०८१/८२) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । ग्राहक महँगीको चपेटामा छन् । कतिपय व्यवसायीहरुलाई भाडा तिर्न नै हम्मेहम्मे परेको छ । पर्यटनको सम्भावनाबारे जति नै झ्याली पिटे पनि अर्बौं लगानी गरिएका स्टार होटलका कोठाहरु खाली छन् । तर, यसो भनेर आएका ग्राहकहरुमाथि लुट मच्चाउने हक कसैसँग छैन ।

यो सबै कुराको नियमन गर्नुपर्ने सरकारले हो । थुप्रै सरकारी निकायहरु यसमा जिम्मेवार छन् । स्थानीय तहमा पनि उपभोक्ता हित संरक्षण महाशाखा हुन्छ । यी कसैले पनि आफ्नो जिम्मेवारी बहन नगर्दा जनताले आशिका तामाङहरुको खोजी गर्नुपर्ने दिन आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर